6
1 परमेश्‍वरका सहकर्मीको नाताले हामी तिमीहरूलाई परमेश्‍वरको अनुग्रहलाई व्यर्थैमा नलेओ भनी आग्रह गर्छौँ। 2 किनकि उहाँ भन्‍नुहुन्छ,
“मेरो निगाहको समयमा मैले तेरो पुकार सुनेको छु;
अनि मुक्तिको दिनमा मैले तँलाई मदत गरेको छु।”*
म तिमीलाई भन्दछु, परमेश्‍वरको निगाहको समय यही हो, मुक्तिको दिन अहिले नै हो।
पावलका सङ्कष्‍टहरू
3 हाम्रो सेवामाथि दोष नलागोस् भनी हामी कसैको बाटोमा ठेस लाग्ने कुरा राख्दैनौँ। 4 बरु परमेश्‍वरका सेवकहरूको रूपमा हामी आफूलाई प्रत्येक कुरामा समर्पण गर्दछौँ: धेरै सहनशीलतामा, दुःखहरूमा, कठिन अवस्थाहरूमा, सङ्कष्‍टहरूमा, 5 पिटाइहरूमा, कैदमा, हुलदङ्गाहरूमा; कठोर परिश्रममा, अनिदा रातहरूमा, भोकमा, 6 शुद्धतामा, समझमा, धीरजमा, दयामा, पवित्र आत्मामा, निष्कपट प्रेममा, 7 सत्य वचनमा, परमेश्‍वरको शक्तिमा; धार्मिकताका हतियार दाहिने र देब्रे हातमा लिएर; 8 आदरमा र अनादरमा, बदनाममा र सुनाममा, छली ठानिएका जस्ता, तैपनि सत्य; 9 नचिनिएका जस्ता, तर पनि चिनिएका; मर्दै गरेका जस्ता, तर पनि बाँचेका; पिटिएका जस्ता, तर पनि नमारिएका, 10 दुःखले पूर्ण भएका जस्ता, र पनि सधैँ आनन्दित हुनेजस्ता, गरिबजस्ता, र पनि धेरैलाई धनी बनाउनेजस्ता, केही नभएका जस्ता, र पनि सबै थोक भएका जस्ता छौँ।
11 हे कोरिन्थवासी हो, हामीले तिमीहरूलाई प्रष्‍टै भनिदिएका छौँ, र तिमीहरूलाई हाम्रो हृदय पूर्ण रूपले खोलिदिएका छौँ। 12 हामीले आफ्नो स्‍नेह तिमीहरूदेखि रोकिराखेका छैनौँ, तर तिमीहरूले चाहिँ आफ्नो स्‍नेह हामीबाट रोकिराखेका छौ। 13 म तिमीहरूलाई आफ्नै बालकहरूलाई जस्तै गरी भन्दछु; तिमीहरू पनि हामीले तिमीहरूलाई हृदय खोलेझैँ हाम्रो निम्ति आफ्ना हृदय पूर्ण रूपमा खोलिदेओ।
विश्‍वास नगर्नेहरूसित एउटै जुवामा ननारिओ
14 ख्रीष्‍टमा विश्‍वास नगर्नेहरूसित एउटै जुवामा ननारिओ। किनकि धार्मिकता र दुष्‍टताको के समानता छ र? अथवा ज्योतिको अन्धकारसित के सङ्गति हुन्छ र? 15 ख्रीष्‍ट र शैतानको† के मेल हुन्छ र? विश्‍वास गर्ने र नगर्नेहरूसित के समानता हुन्छ र? 16 परमेश्‍वरको मन्दिर र मूर्तिबीच के सम्बन्ध हुन्छ र? किनकि हामी जीवित परमेश्‍वरका मन्दिर हौँ। जसरी परमेश्‍वरले भन्‍नुभएको छ:
“म तिनीहरूसँग बस्‍नेछु,
र तिनीहरूसित हिँड्‍डुल गर्नेछु;
अनि म तिनीहरूका परमेश्‍वर हुनेछु,
र तिनीहरू मेरा प्रजा हुनेछन्।”‡
17 यसकारण,
“तिनीहरूका बीचबाट निस्किआओ;
अनि अलग होओ,
प्रभु भन्‍नुहुन्छ।
अशुद्ध थोक नछोओ,
र म तिमीहरूलाई ग्रहण गर्नेछु।”§
18 र
“सर्वशक्तिमान् प्रभु भन्‍नुहुन्छ,
म तिमीहरूका पिता हुनेछु;
अनि तिमीहरू मेरा छोराछोरीहरू हुनेछौ।”*
* 6:2 यशै 49:8 † 6:15 मूल भाषामा बिलिआल ‡ 6:16 लेवी 26:12; यर्मिया 32:38; इज 37:27 § 6:17 यशै 52:11; इज 20:34, 41 * 6:18 2 शमू 7:14; 7:8