11
धेरै उद्यममा लगानी गर्नु 
 
1 आफ्नो अन्न समुद्रपारि पठाऊ;  
धेरै दिनपछि तिमीले त्यसको नाफा पाउनेछौ।   
2 सात, आठ भागमा लगानी गर;  
किनकि पृथ्वीमाथि के कस्ता विपत्ति आइपर्ला, त्यो तिमी जान्दैनौ।   
   
 
3 यदि बादलहरू पानीले भरिएका छन् भने मात्र  
तिनीहरूले पृथ्वीमा पानी बर्साउँछन्।  
रूख चाहे दक्षिणपट्टि वा उत्तरपट्टि ढलोस्,  
त्यो ढलेकै ठाउँमा लडिरहन्छ।   
4 जसले बतासको गतिलाई विचार गरिबस्छ, त्यसले कहिल्यै बिउ छर्नेछैन;  
अनि जसले बादलहरू हेरिबस्छ, त्यस मानिसले कटनी गर्नेछैन।   
   
 
5 जसरी बतासको बाटो तिमी जान्दैनौ,  
अथवा आमाको गर्भमा बच्चा कसरी बन्दछ बुझ्दैनौ;  
त्यसरी नै तिमीले सबै थोक बनाउनुहुने  
परमेश्वरका कामहरू बुझ्न सक्दैनौ।   
   
 
6 बिहानै तिमीले आफ्नो बिउ छर,  
साँझमा आफ्ना हातहरूलाई अल्छे हुन नदेऊ;  
किनकि कुनचाहिँ सप्रन्छ,  
यो कि त्यो;  
वा दुवै नै राम्ररी सप्रन्छन्, सो तिमी जान्दैनौ।   
युवाअवस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना 
 
7 ज्योति मनमोहक हुन्छ,  
सूर्यलाई देख्दा आँखाहरू प्रसन्न हुन्छन्।   
8 मानिस जतिसुकै वर्ष बाँचोस्,  
त्यो ती सबैमा आनन्दित होस्।  
तर अन्धकारका समयहरू पनि  
धेरै हुन्छन् भनी स्मरण गरोस्।  
जे कुरा हुन आउँछ, सबै अर्थहीन छ।   
   
 
9 हे जवान मानिस, आफ्नो युवावस्थामा छँदै खुशी होऊ;  
जवान रहुन्जेल तिम्रो हृदयले तिमीलाई आनन्द देओस्।  
आफ्ना हृदयले चाहेको  
र आँखाहरूले देखेका बाटोलाई पछ्याऊ!  
तर याद राख: यी सबै कुराहरूका लागि  
परमेश्वरले तिमीलाई लेखा लिनुहुनेछ।   
10 यसकारण अब आफ्ना हृदयबाट चिन्ता-फिक्रीलाई पर राख,  
र शरीरका कष्टहरूलाई पनि फ्याँकिदेऊ;  
किनकि युवावस्था र जोश पनि अर्थहीन हुन्।