25
अब्राहामको मृत्यु 
 
1 अब्राहामले अर्की पत्नी पनि ल्याए, जसको नाम कतूरा थियो।  
2 तिनले अब्राहामका निम्ति जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूहलाई जन्म दिइन्।  
3 योक्षान शेबा र ददानका पिता थिए; ददानका वशंहरू अश्शूरीम, लतूशी र लऊम्मीहरू थिए।  
4 मिद्यानका छोराहरू: एपा, एपेर, हनोक, अबीदा र एल्दा थिए। यी सबै कतूराका सन्तानहरू थिए।   
5 अब्राहामले कमाएका सबै थोक इसहाकलाई छोडिदिए।  
6 तर अब्राहामले आफू जीवित छँदै आफ्नी उपपत्नीका छोराहरूलाई उपहारहरू दिएर तिनीहरूलाई आफ्ना पुत्र इसहाकदेखि टाढा पूर्वको देशमा पठाइदिए।   
7 अब्राहाम एक सय पचहत्तर वर्षसम्म बाँचे।  
8 तब अब्राहाम आफ्नो पूरा बुढेसकालमा, एक वृद्ध मानिस भएर र पूरा आयुमा तिनको मरे; अनि आफ्ना मानिसहरूसित मिल्न गए।  
9 तिनका छोराहरू इसहाक र इश्माएलले तिनलाई हित्ती सोहोरको छोरा एप्रोनको खेतमा, मम्रेको छेउमा भएको मक्पेलाको ओडारमा गाडे;  
10 त्यो खेत अब्राहामले हित्तीहरूबाट किनेका थिए। त्यहाँ अब्राहाम आफ्नी पत्नी सारासँगै गाडिए।  
11 अब्राहामको मृत्युपछि परमेश्वरले तिनका छोरा इसहाकलाई आशिष् दिनुभयो; अनि तिनी बेअर-लहै-रोइको नजिक बसे।   
इश्माएलका छोराहरू 
 
12 अब्राहामका छोरा इश्माएलको विवरण यही हो, जसलाई साराकी सेविका इजिप्टियन हागारले अब्राहामका निम्ति जन्माएकी थिइन्।   
   
 
13 जन्म क्रमअनुसार इश्माएलका छोराहरूका नाम यिनै हुन्:  
   
 
इश्माएलको जेठो छोरा नबायोत,  
केदार, अदबील, मिब्साम,   
14 मिश्मा, दुमा, मस्सा,   
15 हदद, तेमा, यतूर,  
नापीश र केदमा।   
   
 
16 इश्माएलका छोराहरू यिनै हुन्, र बस्ती र छाउनीहरूअनुसार बाह्र कुलका शासकहरूका नाम यिनै हुन्।   
   
 
17 इश्माएल जम्मा एक सय सैँतीस वर्षसम्म बाँचे; त्यसपछि तिनको मृत्यु भयो, र आफ्ना मानिसहरूसँगै माटोमा मिल्न गए।  
18 तिनका सन्ततिहरू अश्शूरतिरको इजिप्टको पूर्वी सिमाना छेउको हवीलादेखि शूरसम्मका ठाउँहरूमा बसोबास गरे। अनि तिनीहरू आफ्ना सबै दाजुभाइहरूसित दुश्मनी लिएर बसे।   
याकोब र एसाव 
 
19 अब्राहामका छोरा इसहाकको विवरण यही हो।  
   
 
अब्राहाम इसहाकका पिता भए;  
20 अनि पद्दन-अरामका अरामी बतूएलकी छोरी र अरामी लाबानकी बहिनी रिबेकासित विवाह हुँदा इसहाक चालीस वर्षका थिए।   
21 आफ्नी पत्नी बाँझी भएकाले उनको पक्षमा इसहाकले याहवेहसित प्रार्थना गरे। याहवेहले तिनको प्रार्थनाको जवाफ दिनुभयो, र तिनकी पत्नी रिबेका गर्भवती भइन्।  
22 तिनको गर्भमा बालकहरूले एक-अर्कालाई ठेल्न थाले। “मलाई किन यस्तो भइरहेको छ?” भनी तिनले याहवेहलाई सोध्न गइन्।   
23 तब याहवेहले तिनलाई भन्नुभयो,  
“तेरो गर्भमा दुई राष्ट्रहरू छन्,  
अनि तेरो पेटबाट दुई जातिहरू छुट्टिनेछन्;  
एउटा जाति अर्कोभन्दा बलियो हुनेछ;  
अनि जेठोले कान्छोको सेवा गर्नेछ।”   
24 जब तिनको जन्माउने समय आयो; तिनको गर्भमा जुम्ल्याह बालकहरू थिए।  
25 पहिले निस्कने रातो वर्णको थियो; अनि त्यसको सम्पूर्ण शरीर रौँको वस्त्रझैँ थियो; र तिनीहरूले त्यसको नाम एसाव राखे।  
26 त्यसपछि उनको भाइ जन्मियो; जसले एसावको कुर्कुच्चा समातेको थियो; यसकारण त्यसको नाम याकोब राखियो। रिबेकाले तिनीहरूलाई जन्माउँदा इसहाक साठी वर्ष पुगेका थिए।   
27 ती बालकहरू बढ्दै गए; अनि एसाव एउटा सिपालु शिकारी, खुला मैदानको मानिस भए; याकोबचाहिँ शान्त स्वभावका थिए, र तिनी पालमै बसिरहन्थे।  
28 इसहाक शिकारको मासु खान रुचाउने हुनाले एसावलाई माया गर्थे; तर रिबेकाले चाहिँ याकोबलाई माया गर्थिन्।   
29 एकपल्ट याकोबले सुरुवा पकाइरहेका बेलामा एसाव खुला मैदानबाट साह्रै भोकाएर आए।  
30 एसावले याकोबलाई भने, “झट्टै मलाई त्यो रातो सुरुवा देऊ! म भोकले मर्नै लागेँ!” (त्यसैकारण तिनलाई एदोम पनि भनिन्थ्यो।)   
31 याकोबले जवाफ दिए, “पहिले आफ्नो ज्येष्ठ अधिकार मलाई बेच।”   
32 एसावले भने, “हेर, म त मर्नै लागेको छु। अब मेरो निम्ति ज्येष्ठ अधिकारको के काम?”   
33 तर याकोबले भने, “पहिले शपथ खाएर मलाई भन।” यसकारण तिनले शपथ खाए, र आफ्नो ज्येष्ठ अधिकार याकोबलाई बेचे।   
34 तब याकोबले एसावलाई केही रोटी र दालको सुरुवा दिए। तिनले त्यो खाए, पिए, र उठेर गइहाले।  
यसरी एसावले आफ्नो ज्येष्ठ अधिकारलाई लत्याए।