14
आशिष् ल्याउनका लागि पश्चात्ताप 
 
1 हे इस्राएल, याहवेह आफ्ना परमेश्वरकहाँ फर्की।  
तेरा पापहरू नै तेरा पतनका कारण हुन्!   
2 आफूसँग वचनहरू लिएर  
याहवेहतिर फर्क।  
उहाँलाई भन:  
“हाम्रा सबै पापहरू क्षमा गर्नुहोस्,  
र हामीलाई अनुग्रहसाथ स्वीकार गर्नुहोस्,  
ताकि हामी हाम्रा ओठका भेटीहरू चढाउन सकौँ।   
3 अश्शूर देशले हामीलाई बचाउन सक्दैन;  
हामी युद्धका घोडाहरूमाथि सवार हुनेछैनौँ।  
हामी फेरि कहिल्यै पनि आफ्ना हातले बनाएका कुराहरूलाई  
‘हाम्रा देवताहरू’ भन्ने छैनौँ;  
किनकि तपाईंबाट नै टुहुरा-टुहुरीले दया पाउँछन्।”   
   
 
4 “म तिनीहरूको पथभ्रष्टतालाई निको पार्नेछु,  
र तिनीहरूलाई स्वेच्छाले प्रेम गर्नेछु;  
किनकि मेरो रिस तिनीहरूबाट हटिसकेको छ।   
5 म इस्राएलको निम्ति शीतजस्तो बन्नेछु;  
त्यो लिली फूलझैँ फुल्नेछ।  
लेबनानको देवदारुझैँ  
त्यसले आफ्ना जराहरू गहिराइसम्म फैलाउनेछ;   
6 त्यसका कलिला मुनाहरू बढ्नेछन्।  
त्यसको शोभा जैतुनको रूखझैँ हुनेछ,  
र त्यसको बास्ना लेबनानको देवदारुझैँ हुनेछ।   
7 मानिसहरू फेरि त्यसको छहारीमा बस्नेछन्;  
तिनीहरू अन्नझैँ लहलहाउने छन्;  
तिनीहरू दाखको बोटझैँ फक्रनेछन्;  
इस्राएलको प्रसिद्धि लेबनानको दाखमद्यजस्तै हुनेछ।   
8 हे एफ्राइम, मूर्तिहरूसँग मेरो के काम?  
म त्यसलाई जवाफ दिनेछु र त्यसको हेरचाह गर्नेछु।  
म हरियो धूपी सल्लाको रूखझैँ छु;  
तेरो फल मबाट नै आउँछ।”   
   
 
9 बुद्धिमान् को छ? तिनीहरूले यी कुराहरू थाहा गरून्।  
समझदार को छ? तिनीहरूले यी कुराहरू बुझ्न सकून्।  
याहवेहका मार्गहरू ठिक छन्;  
धर्मी जनहरू त्यसैमा हिँड्छन्,  
तर विद्रोहीहरूले भने त्यसैमा ठक्कर खान्छन्।