18
कूश देशको विरुद्धमा भविष्यवाणी 
 
1 धिक्कार, कूशका नदीहरूका किनारमा भएको  
हुरुरु आवाज निकाल्नेहरूको देश,   
2 जसले पानीमाथि निगालोका डुङ्गाहरूमा  
समुद्री बाटोद्वारा दूतहरू पठाउँछ।  
   
 
फूर्तिला दूतहरू,  
अग्ला र चिल्ला छाला भएका मानिसहरूकहाँ जाओ;  
चारैतिर डर मानिएका जातिकहाँ,  
अनौठो बोली भएका आक्रमणकारी जातिकहाँ,  
जसको देशलाई नदीहरूले भाग-भाग गरेको छ।   
   
 
3 हे संसारका सबै मानिसहरू हो,  
जो यस पृथ्वीमा बस्दछौ,  
जब पर्वतहरूमा एउटा झण्डा उठाइन्छ,  
तिमीहरूले त्यसलाई देख्नेछौ;  
अनि तुरही बज्दा  
तिमीहरूले त्यो सुन्नेछौ।   
4 याहवेहले मलाई यसो भन्नुहुन्छ:  
“म चुपचाप रहनेछु र घाम चर्केको तापझैँ,  
र कटनीको समय गर्मीमा शीतको बादलझैँ  
आफ्नो वासस्थानबाट हेर्नेछु।”   
5 किनकि जब कटनीको अगि कोपिला फक्रिसकेको हुन्छ,  
र फूलबाट बढेर अङ्गुर पाकेको हुन्छ,  
तब उहाँले टुसालाई हँसियाले छिँवल्नुहुनेछ;  
अनि फैलिएका ती हाँगाहरूलाई काटेर लैजानुहुनेछ।   
6 तिनीहरू पर्वतका शिकारी पक्षीहरूकहाँ  
र वन-पशुहरूकहाँ छोडिनेछन्;  
तब पक्षीहरूले ग्रीष्मकालभरि  
र वन-पशुहरूले चाहिँ हिउँदभरि खानेछन्।   
7 त्यस समय सेनाहरूका याहवेहको अगि उपहार ल्याइनेछ।  
अग्ला र चिल्ला छाला भएका मानिसहरूबाट  
चारैतिर डर मानिएका जातिबाट,  
अनौठो बोली भएका आक्रमणकारी जातिबाट,  
जसको देशलाई नदीहरूले भाग गरेको छ।  
सेनाहरूका याहवेहको नाम भएको ठाउँमा सियोन पर्वतमा नै याहवेहकहाँ उपहार ल्याइनेछ।