2
याहवेहको पर्वत 
 
1 यहूदा र यरूशलेमको विषयमा आमोजका छोरा यशैयाले देखेका दर्शन यही हो:   
   
 
2 अन्तिम दिनहरूमा  
याहवेहको मन्दिरको पर्वत  
अरू पर्वतहरूमध्ये प्रमुख भएर स्थापित गरिनेछ,  
र पहाडहरूभन्दा माथि उठाइनेछ;  
अनि सबै जातिहरू त्यसमा ओइरिएर आउनेछन्।   
3 धेरै जातिहरू आएर भन्नेछन्,  
“आओ, हामीहरू याहवेहको पर्वतमा,  
याकोबका परमेश्वरको मन्दिरमा जाऔँ।  
उहाँले हामीलाई उहाँका मार्गहरू सिकाउनुहुनेछ,  
ताकि हामी उहाँका मार्गहरूमा हिँड्न सकौँ।”  
व्यवस्था सियोनबाट  
र याहवेहको वचन यरूशलेमबाट निस्कनेछन्।   
4 उहाँले राष्ट्रहरूका बीचमा न्याय गर्नुहुनेछ;  
अनि धेरै जतिहरूका वाद-विवाद सुल्झाउनुहुनेछ।  
तिनीहरूले आफ्ना तरवारहरू पिटेर हलोका फालीहरू बनाउनेछन्,  
र भालाहरू पिटेर हँसियाहरू बनाउनेछन्।  
एउटा राष्ट्रले अर्को राष्ट्रको विरुद्धमा तरवार उठाउनेछैन,  
न त तिनीहरूले फेरि कहिल्यै युद्धका निम्ति तालिम दिनेछन्।   
   
 
5 हे याकोबका घराना, आओ,  
र हामी याहवेहको ज्योतिमा हिँडौँ।   
याहवेहको दिन 
 
6 हे याहवेह, तपाईंले आफ्नो प्रजा  
याकोबका घरानालाई त्याग्नुभएको छ।  
तिनीहरू पूर्वका अन्धविश्वासले भरिएका छन्;  
तिनीहरू पलिश्तीहरूले झैँ जोखना हेर्छन्  
र तिनीहरूका रीतिरिवाज अपनाउँछन्।   
7 तिनीहरूको देश चाँदी र सुनले भरिएको छ,  
तिनीहरूको धनसम्पत्ति अपार छ।  
तिनीहरूको देशमा घोडाहरू प्रशस्त छन्;  
तिनीहरूका रथहरूको गन्ती छैन।   
8 तिनीहरूको देशभरि मूर्तिहरू छन्;  
तिनीहरू आफ्ना हातका कामहरू,  
र आफ्ना औँलाले बनाएका कुराहरूका सामु निहुरिन्छन्।   
9 यसकारण मानिस होच्याइनेछ,  
र हरेकलाई नम्र तुल्याइनेछ—  
यसकारण तिनीहरूलाई क्षमा नगर्नुहोस्!   
   
 
10 याहवेहको डरबाट  
र उहाँको सर्वश्रेष्ठताको प्रतापबाट  
चट्टानभित्र पस्, माटोमुनि लुक्!   
11 घमण्डीका आँखालाई नम्र तुल्याइनेछ;  
अनि मानिसहरूको अहङ्कार तल झारिनेछ।  
त्यस दिन याहवेह मात्र उच्च पारिनुहुनेछ।   
   
 
12 सबै अभिमानी र वैभवशालीहरूका निम्ति,  
र उच्च पारिएकाहरू सबैका निम्ति,  
सेनाहरूका याहवेहले एउटा दिन साँचेर राख्नुभएको छ।  
त्यस दिन तिनीहरू विनम्र तुल्याइनेछन्।   
13 लेबनानका सबै अग्ला र ठूला देवदारु,  
र बाशानका सबै फलाँटका रूखहरूका निम्ति,   
14 धरहराझैँ उठेका सबै पर्वत,  
र सबै अग्ला डाँडाहरूका निम्ति,   
15 प्रत्येक ठूला धरहरा,  
र प्रत्येक सुरक्षित पर्खालका निम्ति,   
16 तर्शीशको प्रत्येक व्यापारी जहाज,  
र प्रत्येक राजकीय जहाजको निम्ति।   
17 मानिसको अभिमान चूर्ण पारिनेछ,  
र मानिसहरूको घमण्ड नम्र बनाइनेछ;  
त्यस दिन याहवेह मात्र उच्च पारिनुहुनेछ;   
18 अनि मूर्तिहरू सम्पूर्ण रूपले लोप हुनेछन्।   
   
 
19 जब पृथ्वी हल्लाउनलाई  
याहवेह उठ्नुहुन्छ,  
तब उहाँको डर र उहाँको वैभवको प्रतापबाट  
मानिसहरू चट्टानका गुफाहरूतिर  
र पृथ्वीका प्वालहरूभित्र पस्नेछन्।   
20 त्यस दिन मानिसहरूले  
आफ्ना लागि पुज्न भनी बनाएका  
चाँदीका मूर्तिहरू र सुनका मूर्तिहरू  
छुचुन्द्रा र चमेराहरूको अगि फालिदिनेछन्।   
21 याहवेहले पृथ्वीलाई हल्लाउनलाई उठ्नुहुँदा  
उहाँको डर र उहाँको वैभवको प्रतापबाट  
तिनीहरू चट्टानका कन्दराहरूतिर  
र चट्टानका धाँदाहरूभित्र भागेर जानेछन्।   
   
 
22 नाकको प्वालमा सास भएको मानिसमा  
भरोसा राख्न छोडिदेओ,  
त्यसको के मूल्य छ र?