10
1 “म यो जीवनदेखि विरक्तिएको छु;  
यसकारण म धीत नमरुन्जेल गुनासो पोख्नेछु;  
र म मेरो मनको तितोपना व्यक्त गर्नेछु।   
2 म परमेश्वरलाई भन्दछु: मलाई दोषी नठहराउनुहोस्  
तर मेरो विरुद्ध तपाईंका कस्ता आरोपहरू छन्, मलाई भन्नुहोस्।   
3 मलाई सताएर,  
आफ्नै हातको कामलाई घृणा गरेर के तपाईंलाई खुशी मिल्छ र?  
जबकि तपाईं दुष्टको युक्तिमा चाहिँ मुस्कुराउनुहुन्छ?   
4 के तपाईंका आँखाहरू मानिसका जस्ता छन्?  
के तपाईं मरणशील मानिसले हेरेँझैँ हेर्नुहुन्छ र?   
5 के तपाईंका दिनहरू मरणशील मानिसका जस्तै छन् र?  
अथवा तपाईंका वर्षहरू एक बलियो मानिसका जस्तै छन् र?   
6 तब तपाईंले मेरा दोषहरू सोधखोज गर्नुहुन्छ,  
र मेरा पापहरू खोतल्नुहुन्छ?   
7 यद्यपि म दोषी छैनँ भनेर तपाईं जान्नुहुन्छ,  
र मलाई तपाईंको हातबाट कसैले छुटाउन सक्दैन।   
   
 
8 “तपाईंका आफ्नै हातले मलाई आकार दिनुभयो, र मलाई बनाउनुभयो।  
के अब तपाईं आफैँले मलाई नाश गर्नुहुन्छ त?   
9 सम्झना गर्नुहोस्, तपाईंले नै मलाई माटोबाट रच्नुभयो;  
के अब तपाईंले मलाई फेरि धुलोमै पठाउनुहुन्छ?   
10 के तपाईंले मलाई दूधजस्तै खन्याउनुभएको,  
अनि मलाई पनिरझैँ जमाउनुभएको छैन र?   
11 तपाईंले मलाई छाला र मासु पहिराउनुभई,  
अनि मलाई हड्डी र नसाहरूले एकसाथ गाँस्नुभएको होइन र?   
12 तपाईंले मलाई जीवन दिनुभयो र मलाई दया देखाउनुभएको छ;  
र तपाईंको हेरचाहले मेरो आत्मा सुरक्षित भएको छ।   
   
 
13 “तर यी कुराहरू तपाईंले आफ्नो हृदयमा लुकाएर राख्नुभएको थियो;  
र यी कुराहरू तपाईंको मनमा थियो भनी म जान्दछु:   
14 यदि मैले पाप गरेको भए, तपाईंले मलाई हेरिरहनुहुनेथियो;  
र मेरा अपराधको दण्ड नदिई छोड्नुहुने थिएन।   
15 यदि म दोषी छु भने मलाई धिक्कार होस्!  
म निर्दोष भए तापनि म आफ्नो शिर उठाउन सक्दिनँ;  
किनकि म शर्ममा परेको छु,  
अनि आफ्नो दुःखमा डुबेको छु।   
16 यदि मैले शिर उठाउन कोसिस गरेँ भने पनि, सिंहले झैँ तपाईंले मलाई खेद्नुहुन्छ;  
र फेरि मेरो विरुद्धमा तपाईंले आफ्नो डरलाग्दो शक्ति देखाउनुहुन्छ।   
17 तपाईंले फेरि मेरो विरुद्धमा नयाँ साक्षीहरू भेला पार्नुहुन्छ,  
र मेरो विरुद्ध आफ्नो क्रोध बढाउनुहुन्छ;  
तपाईंका सेनाहरू मेरो विरुद्धमा छालहरू जस्तै आइलाग्छन्।   
   
 
18 “मलाई त्यस्तै गर्ने तपाईंको आसय थियो  
भने किन तपाईंले मलाई गर्भबाट बाहिर निस्कन दिनुभयो?  
कसैको आँखाले मलाई देख्नुअगि नै बरु म मरेको भए हुनेथियो।   
19 यदि म अस्तित्वमै नआएको भए हुनेथियो,  
अथवा गर्भबाट सीधै चिहानमा लगिएको भए हुनेथियो!   
20 के अब मेरा थोरै दिनहरू सकिनै लागेका छैनन् र?  
मबाट टाढा रहनुहोस्, ताकि केही क्षणको निम्ति म आनन्द पाउन सकूँ।   
21 मबाट टाढा रहनुहोस्, म फेरि नफर्किने देशमा जानुअगि;  
जहाँ अन्धकार र घोर अन्धकार छ।   
22 घोर अन्धकारको त्यो देशमा जान दिनुहोस्,  
जहाँ अन्धकार र अस्तव्यस्त छ,  
जहाँ उज्यालो पनि अँध्यारोझैँ छ।”