18
बिल्ददको संवाद
तब बिल्दद शुहीले यस्तो जवाफ दिए:
“तपाईंले यी भाषणहरू कहिले समाप्‍त गर्नुहुन्छ?
संवेदनशील हुनुहोस् र मात्र हामी कुरा गर्न सक्छौ।
हामीलाई किन पशुझैँ व्यवहार गर्नुहुन्छ,
र तपाईंको दृष्‍टिमा हामीलाई मूर्ख सोच्नुहुन्छ?
तपाईं जसले आफ्नो रिसमा स्वयम्‌लाई टुक्रा-टुक्रा पार्नुभएको छ;
के तपाईंको खातिर पृथ्वीलाई त्यागिदिनुहुन्छ?
अथवा के चट्टानहरूलाई तिनीहरूका ठाउँबाट हटाइदिनुहुन्छ?
 
“दुष्‍ट मानिसको बत्ती निभाइन्छ;
त्यसको आगोको ज्वाला बल्न छोड्छ।
त्यसको पालमा भएको उज्यालो अँध्यारो हुन्छ;
त्यसको छेउमा भएको बत्ती निभेर जान्छ।
त्यसको बलियो पाइला कमजोर हुन्छ;
त्यसका आफ्नै युक्तिहरूले त्यसलाई लडाइदिन्छन्।
त्यसका खुट्टाले त्यसलाई पासोमा पार्छ;
त्यो त्यसको फन्दामा भौँतारिन्छ।
धरापले त्यसको कुर्कुच्‍चामा पक्रन्छ;
पासोले त्यसलाई जोडसित समातेर राख्छ।
10 त्यसका निम्ति एउटा पासो जमिनमा लुकाइएको छ;
त्यसका बाटोमा एउटा धराप थापिएको छ।
11 त्यसलाई त्रासले चारैतिरबाट तर्साउँछ,
र त्यसको हरेक पाइलालाई खेद्‌दछ।
12 विपत्ति त्यसको निम्ति भोकाएको छ;
जब त्यो लड्छ, तब प्रकोपले त्यसलाई पर्खिरहेको हुन्छ।
13 रोगले त्यसका छालाको भागहरू खाइदिन्छ;
मृत्युको पहिलो सन्तानले त्यसका अङ्गहरू निल्दछ।
14 त्यसको पालको सुरक्षाबाट त्यसलाई टाढा लैजान्छ;
र आतङ्कहरूको राजाकहाँ लगिन्छ।
15 त्यसको पालमा आगोले बास गर्छ,*
त्यसका वासस्थानमा बल्दैगरेको गन्धक छरिएको छ।
16 तल फेदमा त्यसका जराहरू सुकेर जान्छन्,
र माथि त्यसका हाँगाहरू बोटमै ओइलिएर जान्छन्।
17 त्यसको सम्झना पृथ्वीबाटै मेटिएर जानेछ;
देशमा त्यसको नामनिशानै रहनेछैन।
18 त्यसलाई उज्यालोबाट अन्धकारमा धपाइनेछ
र त्यसलाई संसारबाटै निकालिनेछ।
19 त्यसका मानिसहरूको बीचमा त्यसका कुनै सन्तानहरू अथवा वंशहरू छैनन्;
एक समय जहाँ त्यो बसेको थियो, त्यहाँ बाँचेकाहरू कोही पनि छैनन्।
20 त्यसको दशामा पश्‍चिमका मानिसहरू चकित हुनेछन्;
र पूर्वका मानिसहरू त्रसित हुनेछन्।
21 साँच्‍चै दुष्‍ट मानिसको घरको दशा यस्तै हुनेछ;
परमेश्‍वरलाई नचिन्‍नेहरूको घरको दशा पनि यस्तै हुनेछ।”
* 18:15 अथवा उसँग केही पनि बाँकी रहनेछैन।