20
सोपरको संवाद 
 
1 तब सोपर नमातीले जवाफ दिए:   
2 “मेरा पीडित विचारहरूले मलाई जवाफ दिन उक्साउँछ;  
किनकि म धेरै विचलित भएको छु।   
3 जब म मेरो अपमान हुने गालीहरू सुन्छु,  
मेरो समझशक्तिले मलाई जवाफ दिन उत्प्रेरित गर्छ।   
   
 
4 “निश्चय नै तपाईंले जान्नुहुन्छ, कि यो उहिलेदेखि नै हुँदैआएको छ,  
मानव-जातिलाई यो पृथ्वीमा राखिएको समयदेखि नै यो हुँदैआएको छ,   
5 कि दुष्ट मानिसहरूको खुशी एकछिनको लागि,  
र ईश्वरहीनहरूको आनन्द क्षणभरको लागि मात्र रहन्छ।   
6 यद्यपि ईश्वरहीन मानिसको घमण्ड आकाशसम्मै पुग्ला  
र त्यसको टाउकोले बादलहरूलाई नै छुइएला,   
7 तर त्यो आफ्नो मलजस्तै, सदाको निम्ति नाश भएर जानेछ;  
त्यसलाई देखेकाहरूले भन्नेछन्, ‘खोइ, त्यो कहाँ छ?’   
8 कहिल्यै पाउन नसकिने सपनाजस्तै त्यो उडेर जान्छ,  
रातको दर्शनजस्तै लोप भएर जान्छ।   
9 त्यसलाई देखेका आँखाहरूले त्यसलाई फेरि देख्नेछैनन्;  
त्यसको ठाउँले त्यसलाई फेरि चिन्नेछैन।   
10 त्यसका छोराछोरीहरूले गरिबहरूसँग भीख माग्नैपर्छ;  
त्यसका आफ्नै हातहरूले आफ्नो धन फर्काइदिनैपर्छ।   
11 त्यसका हड्डीहरूमा भरिएका यौवन  
त्यसको मृत्युसँग धुलोमा सुतिजानेछ।   
   
 
12 “दुष्टता त्यसको मुखमा मिठो भए तापनि  
र यसलाई त्यसले आफ्नो जिब्रोमुनि लुकाउँछ,   
13 तथापि त्यसले त्यो छोड्न सक्दैन,  
त्यसको मुखमै रहिरहे तापनि   
14 त्यसको भोजन त्यसको पेटमा अमिलो बन्नेछ;  
र त्यो सर्पको विषजस्तै त्यसभित्र परिवर्तन हुनेछ।   
15 त्यसले निलेको धनसम्पत्ति त्यसले फेरि ओकलेर बाहिर निकाल्नेछ;  
परमेश्वरले त्यसको पेटलाई त्यो सबै ओकल्न लगाउनुहुनेछ।   
16 त्यसले सर्पको विष चुस्नेछ;  
विषालु सर्पको लामो दाँतले त्यसलाई मार्नेछ।   
17 त्यसले खोलाहरू अर्थात् मह र नौनी बहने  
नदीहरूमा आनन्द लिन पाउनेछैन।   
18 त्यसले परिश्रम गरेका कुराहरूको उपभोग नगरी फिर्ता दिनुपर्छ;  
त्यसले आफ्नो व्यापारका नाफाहरूमा आनन्द मनाउन पाउनेछैन।   
19 किनकि त्यसले गरिबलाई अत्याचार गरेको छ, र तिनीहरूलाई त्यागेको छ;  
र त्यसले आफूले नबनाएको घर कब्जा गरेको छ।   
   
 
20 “निश्चय नै त्यसले आफ्नो लालसाबाट विश्राम पाउनेछैन;  
त्यसले आफ्नो धनसम्पत्तिद्वारा आफूलाई बचाउन सक्दैन।   
21 त्यसको निम्ति खानलाई केही पनि बाँकी रहेको छैन;  
त्यसको समृद्धि धेरै दिनसम्म रहँदैन।   
22 त्यसको प्रशस्तताको समयमा, त्यसमाथि विपत्ति आइपर्नेछ;  
जोडले कष्टको बोझ त्यसमाथि आइपर्नेछ।   
23 त्यसले आफ्नो पेट भरेको बेला,  
परमेश्वरले आफ्नो बल्दो रिस त्यसको विरुद्ध खन्याउनुहुनेछ,  
र त्यसमाथि आफ्नो मुक्का बर्साउनुहुनेछ।   
24 त्यो फलामको हतियारबाट बाँचे तापनि  
काँसोको टुप्पो भएको काँडले त्यसलाई छेड्नेछ।   
25 त्यसले त्यो आफ्नो पिठिउँबाट थुतेर निकाल्छ,  
र चम्किरहेको काँडको टुप्पोले त्यसको कलेजो छेड्नेछ।  
अनि त्रास त्यसमाथि आइपर्नेछ।   
26 त्यसको धनसम्पत्तिलाई घोर अन्धकारले ढुकेर बस्छ;  
नफुकेको आगोले त्यसलाई भस्म पार्नेछ;  
र त्यसको घरमा बाँकी भएका कुराहरूलाई स्वाहा पार्नेछ।   
27 आकाशले त्यसको दोष उदाङ्गो पारिदिनेछ;  
पृथ्वी त्यसको विरुद्धमा उठ्नेछ।   
28 त्यसको घरलाई बाढीले,  
र परमेश्वरको क्रोधको दिनको उर्लंदो भलले बगाएर लैजानेछ।   
29 परमेश्वरले दुष्ट मानिसको दशा यसरी नै तोकिदिनुभएको छ,  
परमेश्वरले तिनीहरूको निम्ति यस्तै प्रतिफल तोकिदिनुभएको छ।”