27
आफ्ना साथीहरूलाई इयोबको अन्तिम भाषण 
 
1 तब इयोबले आफ्नो बहस जारी राखे:   
2 “सर्वशक्तिमान् परमेश्वर जीवित हुनुभएझैँ,  
जसले मेरो न्याय गर्नलाई इन्कार गर्नुभएको छ,  
र मेरो जीवन तितो बनाइदिनुभएको छ,   
3 जबसम्म मभित्र जीवन रहन्छ,  
र परमेश्वरको सास मेरा नाकमा रहन्छ,   
4 मेरा ओठले कहिल्यै पनि खराबी बोल्नेछैन,  
मेरो जिब्रोले झूटो कुरा उच्चारण गर्नेछैन।   
5 तपाईंहरू ठिक हुनुहुन्छ भनी म कहिल्यै मान्नेछैनँ;  
म नमरुन्जेल मेरो निष्ठालाई म इन्कार गर्नेछैनँ।   
6 म मेरो धार्मिकतालाई कायम राख्नेछु र त्यसलाई कहिल्यै छोड्नेछैनँ;  
म बाँचुन्जेल मेरो विवेकले मलाई धिक्कार्नेछैनँ।   
   
 
7 “मेरो शत्रु दुष्टजस्तै,  
र मेरो विरोधीचाहिँ अधर्मीजस्तै होऊन्!   
8 किनकि जब ईश्वरहीन मानिस नाश हुन्छ, तब त्यसको के आशा हुन्छ र?  
जब परमेश्वरले त्यसको जीवनलाई लिनुहुन्छ,   
9 तब त्यसमाथि कष्ट आइलाग्दा,  
के परमेश्वरले त्यसको विलाप सुन्नुहुनेछ र?   
10 के त्यसले सर्वशक्तिमान्बाट आनन्द पाउनेछ र?  
के त्यसले सधैँ परमेश्वरको नाम पुकार्नेछ र?   
   
 
11 “म तपाईंहरूलाई परमेश्वरको शक्तिको विषयमा सिकाउनेछु;  
सर्वशक्तिमान्का मार्गहरू म लुकाउनेछैनँ।   
12 तपाईंहरू आफैँले यो कुरा देख्नुभएको छ।  
तर पनि तपाईंहरू यस्ता व्यर्थका कुराहरू गर्नुहुन्छ।   
   
 
13 “परमेश्वरले दुष्ट मानिसहरूको यस्तो दशा तोक्नुहुन्छ,  
निर्दयी मानिसले सर्वशक्तिमान्बाट प्राप्त गर्ने उत्तराधिकार यही हो:   
14 त्यसका छोराछोरीहरू जति धेरै भए तापनि त्यसको अन्त्य तरवारद्वारा हुनेछ;  
त्यसका सन्तानहरूसँग कहिल्यै पनि प्रशस्त भोजन हुनेछैन।   
15 अनि बाँचेकाहरूलाई रूढीले चिहानमा लानेछ,  
र त्यसका विधवाहरूले त्यसका निम्ति शोक गर्नेछैनन्।   
16 त्यसले धुलोसरी चाँदी थुपारे तापनि  
माटोको थुप्रो जतिकै लुगाफाटा थुपारे तापनि   
17 त्यसले थुपारेका कुराहरू धर्मीहरूले पहिरनेछन्,  
र निर्दोषहरूले त्यसको चाँदी बाँडचुँड गर्नेछन्।   
18 त्यसले बनाएको घर माकुराको जालजस्तै कमजोर हुन्छ,  
पहरेदारले बनाएको झुपडीजस्तै हुन्छ।   
19 दुष्ट धनी भएर सुत्छ, तर अब उसो त्यसले गर्न सक्नेछैन;  
त्यसले आफ्नो आँखा खोल्दा सबै गइसकेका हुनेछन्।   
20 भलबाढीले जस्तै त्यसलाई त्रासले हताश पार्नेछ;  
आँधीले रातमा त्यसलाई खोसेर टाढा लैजानेछ।   
21 पूर्वीय बतासले त्यसलाई उडाएर लैजान्छ, र त्यो रहँदैन;  
बतासले त्यसलाई उसको ठाउँबाट सोहोरेर लैजानेछ।   
22 बतासको शक्तिबाट त्यो टाढा भागे तापनि  
बतास त्यसको विरुद्धमा दया नदेखाई जाइलाग्नेछ।   
23 बतासले त्यसलाई उपहासको थपडी मार्नेछ,  
र सुसेल्दै त्यसको ठाउँबाट त्यसलाई हटाउनेछ।”