29
इयोबको अन्तिम बहस 
 
1 इयोबले आफ्नो बहस जारी राखेर भने:   
2 “अहो, म मेरा बितेका महिनाहरूको कत्ति धेरै चाहना गर्दछु,  
किनकि ती दिनहरूमा परमेश्वरले मेरो हेरचाह गर्नुहुन्थ्यो;   
3 जब उहाँको बत्ती मेरो शिरमाथि चम्कन्थ्यो,  
र उहाँको ज्योतिद्वारा म अन्धकारमा हिँड्डुल गर्थेँ;   
4 अहो, सुखका ती मेरा दिनहरू,  
जब परमेश्वरसँगको घनिष्ठ मित्रताले मेरो घरमा आशिष् ल्याउँथ्यो;   
5 जब सर्वशक्तिमान् मसँगै हुनुहुन्थ्यो,  
र मेरा छोराछोरीहरू मेरा चारैतिर हुन्थे;   
6 जब मेरा पाइलाहरू नौनीले भिजेका हुन्थे,  
र चट्टानले मेरो निम्ति जैतुनको तेलका खोलाहरू बहाउँथ्यो।   
   
 
7 “जब म सहरको मूलढोकामा जान्थेँ,  
र सार्वजनिक चोकमा आफ्नो आसन ग्रहण गर्थेँ।   
8 जवान मानिसहरू मलाई देखेर बाटो छोड्थे,  
र वृद्ध मानिसहरू आदरसाथ बसेको ठाउँबाट उठ्थे;   
9 सहरका प्रमुख मानिसहरू बोल्न छोड्थे,  
र तिनीहरूले आफ्ना मुख हातले छोप्थे;   
10 शासकहरूका आवाज मन्द हुन्थ्यो,  
र तिनीहरूको जिब्रो तिनीहरूको तालुमा टाँसिन्थ्यो।   
11 मलाई सुन्नेहरूले मेरो विषयमा राम्रो कुरा गर्थे,  
र मलाई देख्नेहरूले मेरो गुणगान गर्थे;   
12 किनकि सहायताको लागि गरिबहरूले पुकार्दा म तिनीहरूलाई सहायता गर्न तत्पर रहन्थेँ,  
मैले असहाय अनाथहरूलाई छुटाउथेँ।   
13 मर्न आँटेको मानिसले मलाई आशिष् दिन्थ्यो;  
मैले विधवाको हृदयलाई आनन्दले गाउन सक्ने तुल्याउँथेँ।   
14 मैले धार्मिकतालाई मेरो लुगाझैँ पहिरने गर्दथेँ;  
न्याय मेरो लवेदा र मेरो फेटा थियो।   
15 म अन्धाका निम्ति आँखा,  
र लङ्गडाका निम्ति खुट्टा थिएँ।   
16 खाँचोमा परेकाहरूका निम्ति म बुबा थिएँ;  
म परदेशीहरूको पक्षमा मुद्दा लिन्थेँ।   
17 मैले दुष्ट मनिसहरूका बङ्गारा तोडिदिएँ,  
र तिनीहरूका दाँतहरूबाट पीडितहरूलाई खोसेँ।   
   
 
18 “मैले सोच्ने गर्थेँ, ‘म मेरो आफ्नै घरमा मर्नेछु,  
मेरा दिनहरू बालुवाका कणहरूझैँ धेरै छन्।   
19 मेरा जराहरू पानीसम्म पुग्नेछन्;  
र मेरा हाँगाहरूमा रातभरि नै शीत रहनेछ।   
20 मेरो गौरव कहिल्यै घट्नेछैन;  
मेरो धनु सदाकाल मेरो हातमा नयाँ भइरहनेछ।’   
   
 
21 “मानिसहरू आशावादी भएर मेरो कुरा सुन्थे,  
चुपचाप लागेर मेरो सल्लाह पर्खिरहन्थे।   
22 मैले बोलिसकेपछि तिनीहरूले भन्ने कुरा रहँदैनथ्यो;  
मेरा शब्दहरू तिनीहरूका कानमा बिस्तारै पर्दथ्यो।   
23 तिनीहरूले झरीलाई झैँ मलाई पर्खन्थे;  
र मेरा वचनहरूलाई बसन्तको झरीझैँ पिउँथे।   
24 मैले तिनीहरूसँग मुस्कुराउँदा तिनीहरूलाई पत्यार लाग्दैनथ्यो;  
मेरो अनुहारको उज्यालो तिनीहरूका निम्ति विशेष थियो।   
25 तिनीहरूका निम्ति म मार्ग छनौट गरिदिन्थेँ, र तिनीहरूका प्रमुखझैँ भएर बस्थेँ;  
राजा आफ्ना सेनाहरूसँग बसेझैँ म बस्थेँ;  
शोक गर्नेहरूलाई सान्त्वना दिने मानिसजस्तै म थिएँ।