3
इयोबको संवाद 
 
1 त्यसपछि इयोबले आफ्नो मुख खोले, र आफू जन्मेको दिनलाई धिक्कार्न थाले।  
2 तिनले भने:   
3 “म जन्मेको त्यो दिनलाई धिक्कार होस्!  
र ‘एउटा छोराको गर्भधारण भयो’ भनेर भनिएको त्यो रात पनि मेटिओस्!   
4 त्यो दिन अन्धकारमा परिणत होस्;  
उच्चमा हुनुहुने परमेश्वरले त्यस दिनको वास्तै नगरून्;  
न त त्यो दिनमाथि कुनै ज्योति चम्कियोस्।   
5 त्यो दिनलाई अँध्यारो र निस्पट्ट अन्धकारले एक पटक फेरि कब्जा गरोस्;  
त्यो दिनमाथि बादल छाओस्;  
र घोर अन्धकारले भयभीत पारोस्।   
6 त्यो रात निस्पट्ट अँध्यारोले त्यसलाई छोपोस्;  
त्यो दिन, त्यस वर्षका दिनहरूका गन्तीमा नआओस्;  
न त त्यो दिन कुनै महिनामा आओस्।   
7 त्यो रात बाँझो होस्;  
त्यो रातमा कुनै आनन्दको सोर नसुनियोस्।   
8 दिनलाई सराप्नेहरूले, लिव्यातनलाई उठाउनेहरूले समेत  
त्यो दिनलाई धिक्कारून्।   
9 त्यसका बिहानीका ताराहरू अँध्यारो होऊन्;  
त्यसको ज्योति देख्ने पर्खाइ व्यर्थ होस्।  
र मिरमिरेको पहिलो किरण देख्न नपाओस्;   
10 किनभने त्यो रातले मेरी आमाको गर्भका ढोकाहरू मेरा निम्ति बन्द गरेन,  
न त त्यसले मेरा आँखाहरूबाट दुःख नै लुकायो।   
   
 
11 “किन म जन्मँदै मरिनँ,  
अनि किन म गर्भदेखि निस्कँदा-किस्किँदै मरिनँ?   
12 किन म जन्मँदा मलाई स्वागत गर्ने घुँडाहरू,  
र मलाई दूधपान गराउने स्तनहरू थिए?   
13 नत्रता म अहिले शान्तिमा ढल्किरहेको हुनेथिएँ;  
म सुतेको अवस्थामा विश्राम पाउँथेँ।   
14 पृथ्वीका राजाहरू र राजाका सल्लाहकारहरूसँग,  
जसले आफ्ना निम्ति महान् भवनहरू निर्माण गरे, जो अहिले भत्किएका अवस्थामा छन्;   
15 सुन भएका भारदारहरूसँग,  
जसले आफ्ना घरहरू चाँदीले भरेका छन्।   
16 अथवा नजन्मँदै मरेको बालकजस्तै म किन गाडिनँ,  
अथवा ज्योति देख्न नपाउँदै तुहिएका ती शिशुहरूजस्तै किन भइनँ?   
17 दुष्ट मानिसहरू पनि चिहानमा दुष्ट्याइँ गर्न छोड्छन्;  
र त्यहाँ थकितहरूले विश्राम पाउँछन्।   
18 त्यहाँ कैदीहरू पनि तिनीहरूको सुखमा रमाउँछन्;  
न त दासहरूले फेरि हाकिमहरूका सोर सुन्छन्।   
19 साना र ठूला मानिसहरू त्यहाँ हुन्छन्;  
अनि दासहरू पनि आफ्ना मालिकहरूबाट त्यहाँ मुक्त हुन्छन्।   
   
 
20 “किन कष्टमा भएकाहरूलाई ज्योति,  
र हृदयमा विरक्त भएकाहरूलाई जीवन दिइन्छ?   
21 जो मर्न चाहन्छन्, तर मृत्यु आउँदैन;  
जसले मृत्युलाई गाडधनभन्दा बढी खोजी गर्छन्,   
22 तिनीहरू मृत्यु आउँदा आनन्दले भरिन्छन्;  
अनि चिहानमा पुग्दा खूबै रमाउँछन्।   
23 मानिसलाई जीवन किन दिइन्छ?  
जसको मार्ग लुकिएको छ,  
जसलाई परमेश्वरले दुःखको घेरा भित्र राख्नुभएको छ।   
24 किनकि मेरा निम्ति प्रत्येक दिनको भोजन सुस्केरा भएको छ;  
मेरा चीत्कारहरू पानीजस्तै बग्दछन्।   
25 म जेसँग डराउँथे, त्यही कुरा ममाथि आइपरेको छ;  
अनि जुन कुरादेखि म भयभीत हुन्थेँ, त्यही नै भएको छ।   
26 न मलाई शान्ति छ, न त सुख नै छ;  
मेरा निम्ति आराम छैन, तर दुःख-कष्ट मात्र छ।”