5
1 “यदि तपाईं चाहनुहुन्छ भने एक चोटि पुकारेर हेर्नुहोस्, तर तपाईंलाई कसले जवाफ देला र?  
तपाईं कुनचाहिँ पवित्र जनकहाँ फर्कनुहुन्छ?   
2 रिसले मूर्खलाई मार्छ,  
र डाहले सोझा मानिसलाई मार्छ।   
3 म आफैँले मूर्खले जरा गाडेको देखेको छु,  
तर अचानक त्यसको घर श्रापित भयो।   
4 त्यसका छोराछोरीहरू असुरक्षित छन्;  
अदालतमा तिनीहरूलाई छुटाउनेवाला कोही नभएर पेलिएका छन्।   
5 त्यसको अन्नबारी भोकाएका मानिसहरूले खाइदिन्छन्,  
काँडाहरूका बीचबाट पनि निकालेर लगिदिन्छन्;  
र लोभीले त्यसको धन हडप्ने लालसा गर्छ।   
6 किनकि कठिनाइ माटोबाट उम्रँदैन,  
न त विपत्ति भुइँबाट पलाउँछ।   
7 तरै पनि आगोको झिल्का माथि उडेझैँ  
मानिस विपत्तिकै निम्ति जन्मन्छ।   
   
 
8 “तर यदि म तपाईंको ठाउँमा भएको भए, परमेश्वरलाई बिन्ती चढाउनेथिएँ;  
मेरो मामिला उहाँको सामु पेश गर्नेथिएँ।   
9 परमेश्वरले हामीले बुझ्नै नसकिने अद्भुत कार्यहरू,  
गन्नै नसकिने अचम्मका कामहरू गर्नुहुन्छ,   
10 उहाँले पृथ्वीको लागि वर्षा पठाउनुहुन्छ;  
उहाँले खेतबारीमा पानी पठाउनुहुन्छ।   
11 उहाँले नम्रहरूलाई उच्च पार्नुहुन्छ,  
र विलाप गर्नेहरूलाई सुरक्षामा उठाउनुहुन्छ।   
12 उहाँले धूर्तहरूका युक्तिलाई विफल पार्नुहुन्छ,  
ताकि तिनीहरूका हातले सफलता नपाऊन्।   
13 उहाँले बुद्धिमान्लाई त्यसकै धूर्ततामा पक्रनुहुन्छ;  
र बठ्याइँ गर्नेहरूका योजनाहरूको चाँडै अन्त्य हुन्छ।   
14 तिनीहरूमाथि दिउँसै अन्धकार आइलाग्नेछ;  
मध्यदिनमै तिनीहरू रातमा झैँ छामछाम-छुमछुम गरी हिँड्छन्।   
15 उहाँले खाँचोमा परेकाहरूलाई तिनीहरूका मुखमा भएको तरवारबाट बचाउनुहुन्छ;  
उहाँले तिनीहरूलाई शक्तिशालीहरूका पञ्जाबाट बचाउनुहुन्छ।   
16 त्यसकारण गरिबको निम्ति आशा छ;  
र अन्यायले आफ्नो मुख बन्द गर्छ।   
   
 
17 “धन्यको हो त्यो मानिस, जसलाई परमेश्वरले सुधार गर्नुहुन्छ;  
यसकारण सर्वशक्तिमान् परमेश्वरको अनुशासनलाई तिरस्कार नगर्नुहोस्।   
18 किनकि उहाँले घाउ पार्नुहुन्छ, तर उहाँले नै मलमपट्टी बाँध्नु पनि हुन्छ;  
उहाँले चोट पार्नुहुन्छ, तर उहाँको हातले निको पनि पार्नुहुन्छ।   
19 उहाँले तपाईंलाई छ वटा विपत्तिहरूबाट छुटाउनुहुनेछ;  
सातौँ विपत्तिले समेत तपाईंलाई छुनेछैन।   
20 उहाँले तपाईंलाई अनिकालमा मृत्युबाट,  
र युद्धमा तरवारको प्रहारबाट बचाउनुहुनेछ।   
21 तपाईं जिब्रोको प्रहारबाट जोगाइनुहुनेछ,  
र विनाश आउँदा पनि डराउनुपर्नेछैन।   
22 तपाईं विनाश र अनिकालमा हास्नुहुनेछैन;  
र जङ्गली जनावरहरूसँग पनि डराउनुपर्नेछैन।   
23 किनकि खेतका ढुङ्गाहरूसँग पनि तपाईंको करार बाँधिनेछ;  
र जङ्गली जनावरहरू तपाईंसँग मेलमिलापमा रहनेछन्।   
24 तपाईंको पाल सुरक्षित छ भनी तपाईंले जान्नुहुनेछ;  
तपाईंले आफ्नो सम्पत्तिको हिसाब लिनुहुनेछैन,  
र त्यस सम्पत्तिबाट केही पनि चीज हराएको भेट्टाउनुहुनेछैन।   
25 तपाईंका छोराछोरी धेरै हुनेछन्,  
र तपाईंका सन्तानहरू पृथ्वीका घाँसजस्तै हुनेछन् भनी तपाईंले थाहा पाउनुहुनेछ।   
26 ठिक ऋतुमा बाली बटुलेझैँ,  
तपाईं चिहानमा जाँदा पूरा बुढेसकालमा लगिनुहुनेछ।   
   
 
27 “हामीले यी कुरा जाँचेका छौँ, र यो सत्य हो।  
यसैले यो कुरा सुन्नुहोस् र आफैँमा यो लागू गर्नुहोस्।”