2
1 योनाले माछाको पेटभित्रबाट याहवेह आफ्ना परमेश्वरलाई प्रार्थना गरे।  
2 तिनले यसरी याहवेहसँग प्रार्थना गरेर भने:  
“मेरो सङ्कष्टको समयमा मैले याहवेहलाई पुकारेँ,  
र उहाँले मलाई जवाफ दिनुभयो।  
मृतकहरूको गहिरो पातालबाट मैले सहायताको निम्ति पुकारेँ;  
अनि तपाईंले मेरो क्रन्दन सुन्नुभयो।   
3 तपाईंले मलाई समुद्रको गहिराइमा फालिदिनुभयो,  
समुद्रको मुटुभित्र म डुबेँ;  
अनि पानीका छालहरूले मलाई घेरे;  
अनि तपाईंका पानीका छालहरू र लहरहरू  
ममाथि उर्लेर आए।   
4 मैले भनेँ, ‘म तपाईंको  
दृष्टिबाट निकालिएको छु;  
तापनि म फेरि पनि तपाईंको  
पवित्र मन्दिरतिर हेर्नेछु।’   
5 डुबाउने पानीले मलाई भयभीत तुल्याए,  
र समुद्रको गहिराइले मलाई चारैतिर घेरेका थिए;  
समुद्रका झारहरू मेरो टाउकोमा बेह्रिएका थिए।   
6 म डुबेर तल पर्वतहरूका फेदसम्मै पुगेँ;  
पृथ्वीले मलाई सदाको निम्ति थुनिदियो।  
तर पनि तपाईंले, हे याहवेह मेरा परमेश्वर,  
मेरो प्राणलाई खाल्डोबाट निकालेर ल्याउनुभयो।   
   
 
7 “जब मेरो प्राण जानै लागेको थियो,  
हे याहवेह, मैले तपाईंलाई सम्झेँ;  
अनि मेरो प्रार्थना तपाईंकहाँ,  
तपाईंको पवित्र मन्दिरसम्म पुग्यो।   
   
 
8 “जजसले व्यर्थका मूर्तिहरूमा भरोसा गर्छन्,  
तिनीहरू परमेश्वरको अचुक प्रेमबाट टाढा हुन्छन्।   
9 तर म धन्यवादको स्तुतिसहित  
तपाईंलाई बलिदान चढाउनेछु।  
मैले जे भाकल गरेको छु, त्यो म पूरा गर्नेछु।  
म भन्नेछु, ‘उद्धार याहवेहबाट नै आउँछ।’ ”   
10 अनि याहवेहले माछालाई आज्ञा दिनुभयो र त्यसले योनालाई सुक्खा जमिनमा उकेलिदियो।