4
याहवेहको दयामा योनाको रिस
1 तर योनालाई यो कुरा एकदमै गलत लाग्यो र तिनी साह्रै रिसाए।
2 तिनले याहवेहलाई यसरी प्रार्थना गरे, “हे याहवेह, म घरमा हुँदा नै मैले यो कुरा भनेको थिइनँ र? त्यसैले म तर्शीशतिर भागेर जान हतारिएको थिएँ। मलाई थाहा थियो, कि तपाईं अनुग्रहकारी, दयालु, रिसाउनमा ढिलो र प्रेममा भरिपूर्ण परमेश्वर हुनुहुन्छ, जो विपत्ति पठाउनुहुँदा खुशी हुनुहुन्न।
3 अब, हे याहवेह, मेरो प्राण लिनुहोस्; किनकि मेरा निम्ति बाँच्नुभन्दा त बरु मर्नु नै असल हुनेछ।”
4 तर याहवेहले जवाफ दिनुभयो, “के तँलाई रिसाउने कुनै अधिकार छ?”
5 योना बाहिर निस्के, र सहरको पूर्वको एउटा ठाउँमा गएर बसे। त्यहाँ तिनले एउटा छाप्रो बनाए र त्यसको छायामा बसे; अनि सहरलाई के हुँदोरहेछ भनी हेर्नलाई पर्खिबसे।
6 त्यसपछि याहवेह परमेश्वरले एउटा पातैपातको बोटलाई उमार्नुभयो, ताकि योनाको शिरमाथि छाया होस् र आराम मिलोस्, र योना त्यो बोट देखेर अत्यन्तै खुशी भए।
7 तर अर्को दिन बिहानै परमेश्वरले एउटा किरा पठाउनुभयो, जसले त्यो बोटलाई खाइदियो र त्यो बोट ओइलाइहाल्यो।
8 जब घाम उदायो, तब परमेश्वरले पूर्वबाट तातो हावाको बेग चलाइदिनुभयो; अनि घामको चर्को ताप योनाको थाप्लोमा पर्यो र तिनी मूर्च्छा परे। तिनी मर्न चाहन्थे र तिनले भने, “मेरा निम्ति बाँच्नुभन्दा बरु मर्नु नै असल हुनेछ।”
9 तर परमेश्वरले योनालाई भन्नुभयो, “के तँलाई त्यो बोटको बारेमा रिसाउने अधिकार छ?”
तिनले भने, “मलाई अधिकार छ। मलाई यतिसम्म रिस उठेको छ, कि म मरेको भए पनि हुन्थ्यो।”
10 तर याहवेहले भन्नुभयो, “तैँले यस बोटको बारेमा चिन्ता गरिराखेको छस्, जसलाई न तैँले बढाउन हेरचाह गरिस्, न त तैँले यसलाई उमारेको होस्। यो बोट एकै रातमा उम्रेर बढ्यो र एकै रातमा नष्ट पनि भयो।
11 अनि के मलाई त्यो ठूलो सहर निनवेको चिन्ता हुँदैन? जहाँ एक लाख बीस हजारभन्दा बढी मानिसहरू छन्, जसले आफ्नो दाहिने र देब्रे हात छुट्ट्याउन सक्दैनन्, र त्यहाँ धेरै पशुहरू पनि छन्।”