2
1 प्रभुले आफ्नो रिसको बादलले  
कसरी सियोनकी छोरीलाई ढाकिदिनुभएको छ!  
उहाँले इस्राएलको स्वर्गीय गौरवलाई  
तल पृथ्वीमा खसालिदिनुभएको छ;  
उहाँले आफ्नो रिसको दिनमा  
आफ्नो पाउदानलाई सम्झनुभएन।   
   
 
2 प्रभुले याकोबका सबै वासस्थानहरूलाई  
दया नदेखाई नष्ट पार्नुभयो;  
उहाँले आफ्नो रिसमा यहूदाका छोरीका  
बलिया किल्लाहरू ध्वस्त गर्नुभयो।  
उहाँले त्यसको राज्य र त्यसका राजकुमारलाई  
भुइँको धुलोसँग मिलाएर अपमानित तुल्याउनुभयो।   
   
 
3 उहाँको डरलाग्दो क्रोधमा इस्राएलको  
सबै शक्तिलाई उहाँले नष्ट पार्नुभयो।  
उहाँले इस्राएलीहरूको शत्रु नजिक आइपुग्दा,  
आफ्नो सहयोगी हात पछिल्तिर सार्नुभयो।  
उहाँ याकोबमाथि दन्केको आगोझैँ दन्कनुभयो,  
जसले वरिपरिका सबै कुरा भस्म पार्यो।   
   
 
4 उहाँले शत्रुले जस्तै आफ्नो धनुमा ताँदो चढाउनुभएको छ;  
निशाना लगाउन उहाँको दाहिने हात तयार छ।  
उहाँले आफ्ना नजरमा प्रिय ठानेकाहरूलाई  
शत्रुलाई झैँ संहार गर्नुभयो;  
उहाँले सियोनकी छोरीको पालमा  
आफ्नो रिस आगोजस्तै बर्साउनुभएको छ।   
   
 
5 प्रभु शत्रुजस्तै बन्नुभएको छ;  
उहाँले इस्राएललाई निल्नुभएको छ।  
उहाँले यरूशलेमका सबै महलहरू नष्ट गर्नुभएको छ;  
अनि त्यसका किल्लाहरू भत्काइदिनुभएको छ।  
यहूदाका छोरीको निम्ति उहाँले शोक  
र विलाप बढाइदिनुभएको छ।   
   
 
6 उहाँले आफ्नो यरूशलेमको बासस्थानलाई बगैँचाको छाप्रोलाई झैँ भत्काइदिनुभएको छ;  
अनि उहाँले आफ्नो सभाको स्थानलाई नष्ट पारिदिनुभएको छ।  
याहवेहले सियोनबाट तोकिएका  
चाडहरू र शब्बाथ दिनहरूको सम्झना मेटिदिनुभएको छ;  
उहाँले आफ्नो डरलाग्दो क्रोधमा राजा र पुजारी  
दुवैलाई तिरस्कार गर्नुभएको छ।   
   
 
7 प्रभुले आफ्नो वेदीलाई इन्कार गर्नुभएको छ,  
र आफ्नो पवित्रस्थानलाई त्याग्नुभएको छ।  
उहाँले त्यसका महलका पर्खालहरू  
शत्रुका हातमा दिनुभएको छ;  
तिनीहरूले तोकिएको चाडको दिनमा झैँ  
याहवेहको भवनमा उत्सवको उच्च आवाज उठाएका छन्।   
   
 
8 याहवेहले सियोनको छोरीका वरिपरिको  
पर्खाल भत्काउने अठोट गर्नुभयो।  
उहाँले एउटा नाप्ने फित्ताले नाप लिनुभयो  
र त्यसलाई नष्ट गर्न आफ्नो हातलाई रोक्नुभएन।  
उहाँले किल्लाहरू र पर्खालहरूलाई विलाप गर्न लगाउनुभयो;  
अनि ती पर्खालहरू एकैसाथ ढले।   
   
 
9 त्यसका मूलढोकाहरू जमिनमा भासिए;  
त्यसका गजबारहरू भत्काएर नष्ट पारिए।  
त्यसका राजा र राजकुमारहरू गैरयहूदीहरूका बीचमा निर्वासित भएका छन्।  
अब व्यवस्था रहँदैन,  
न त तिनीहरूका अगमवक्ताहरूले  
याहवेहबाट कुनै दर्शन नै पाउँछन्।   
   
 
10 सियोनका छोरीका धर्मगुरुहरू  
चुपचाप भुइँमा बसेका छन्;  
तिनीहरूले आफ्ना शिरमा धुलो छरेका छन्,  
र भाङ्ग्राका वस्त्र पहिरिएका छन्।  
यरूशलेमका कुमारीहरूले  
आफ्नो शिर भुइँतिर झुकाएका छन्।   
   
 
11 मेरा आँखा रुँदा-रुँदा टट्टाइसकेका छन्,  
मेरो प्राण मभित्र व्याकुल छ;  
मेरो हृदय छिया-छिया भएको छ;  
किनकि मेरा मानिसहरू नष्ट भएका छन्;  
अनि बालबालिकाहरू र दुधे बच्चाहरू  
सहरका गल्लीहरूमा बेहोश भएका छन्।   
   
 
12 जब तिनीहरू गल्लीहरूमा  
घाइते ढलेझैँ ढल्छन्,  
जब तिनीहरूको प्राण  
आफ्ना आमाका काखमा शिथिल हुन्छन्,  
तब आफ्ना आमाहरूलाई यसो भन्छन्,  
“खोइ, भोजन र दाखमद्य कहाँ छन्?”   
   
 
13 हे यरूशलेमकी छोरी,  
तँलाई म के भनूँ?  
म तँलाई केसँग तुलना गरूँ?  
हे सियोनकी कुमारी छोरी,  
म तँलाई केसँग तुलना गरूँ?  
ताकि म तँलाई सान्त्वना दिन सकूँ?  
तेरो विनाशको चोट सागरझैँ गहिरो छ।  
तँलाई कसले निको पार्न सक्ला?   
   
 
14 तिमीहरूका अगमवक्ताहरूका दर्शनहरू  
झूटा र व्यर्थका थिए;  
तँलाई कैदमा जानबाट जोगाउनलाई  
तिनीहरूले तेरो पाप प्रकट गरिदिएनन्।  
बरु तिनीहरूले तेरा लागि  
झूटो र भ्रामक ईश्वरवाणी गरे।   
   
 
15 तेरो बाटो छेउभएर जाने मानिसहरू  
सबैले तँलाई खिसी गर्दै ताली बजाउँछन्;  
यरूशलेमकी छोरीको विरुद्ध खिसी गर्दै  
टाउको हल्लाउँछन्:  
“के यो त्यही सहर हो,  
जसलाई अति सुन्दर  
र सारा पृथ्वीको आनन्द भनेर चिनिन्थ्यो?”   
   
 
16 तेरा सबै शत्रुहरू आफ्ना मुख  
खोलेर तेरो विरुद्धमा बोल्छन्;  
तिनीहरूले खिसी गर्छन्; आफ्ना दाह्रा किट्छन्,  
र भन्छन्, “हामीले त्यसलाई निलिसक्यौँ।  
हामीले प्रतीक्षा गरेको दिन यही हो;  
हामी यो दिन हेर्नलाई नै बाँचेका थियौँ।”   
   
 
17 याहवेहले जे योजना गर्नुभएको थियो;  
उहाँले त्यही आफ्नो वचन पूरा गर्नुभएको छ,  
जुन वचन उहाँले धेरै समयअगि घोषणा गर्नुभएको थियो।  
उहाँले तँलाई दयाविना ध्वस्त गर्नुभएको छ;  
उहाँले तेरा शत्रुहरूलाई तँमाथि रमाउन दिनुभएको छ,  
र उहाँले तेरा शत्रुहरूका सिङ उच्च पारिदिनुभएको छ।   
   
 
18 मानिसका हृदयले  
प्रभुलाई चर्को सोरले पुकार्दछन्।  
हे सियोनकी छोरीको पर्खाल,  
तेरो आँसु नदीझैँ  
दिनरात बगोस्;  
तैँले आफूलाई अलिकति पनि विश्राम नदे!  
अनि आफ्ना आँखाहरूलाई पनि आराम नदे।   
   
 
19 जब रातको पहिलो पहर सुरु हुन्छ,  
तब रातभरि उठेर करा;  
तेरो हृदय पानीझैँ  
प्रभुको उपस्थितिमा पोख्।  
तेरा बालबालिकाको जीवनको निम्ति  
आफ्ना हातहरू उहाँतिर उठा,  
ती बालकहरू, जो हरेक गल्लीका मोडमा  
भोकले मूर्च्छा परेका छन्।   
   
 
20 “हे याहवेह हेर्नुहोस् र विचार गर्नुहोस्:  
तपाईंले कोसँग यस्तो व्यवहार गर्नुभएको छ?  
के स्त्रीहरूले आफ्ना सन्तानहरूलाई,  
आफूले स्याहारेका आफ्नै गर्भका फलहरूलाई खाऊन्?  
के प्रभुका पवित्रस्थानका पुजारीहरू  
र अगमवक्ताहरू दुवै मारिऊन्?   
   
 
21 “बुढापाका र जवानहरू सडकको धुलोमा  
एकसाथ लडिरहेका छन्;  
मेरा जवान केटा र केटीहरू  
शत्रुका तरवारले मारिएका छन्।  
तपाईंको क्रोधको दिनमा तपाईंले तिनीहरूलाई मार्नुभएको छ;  
तपाईंले तिनीहरूलाई नटिठ्याई मार्नुभएको छ।   
   
 
22 “तपाईंले चाडको दिनमा मानिसहरूलाई बोलाएझैँ,  
तपाईंले चारैतिरबाट मेरो विरुद्धमा त्रास निम्त्याउनुभयो।  
याहवेहको क्रोधको दिनमा  
कोही पनि भाग्न वा बाँच्न सकेनन्;  
जसलाई मैले हुर्काएँ र स्याहारेँ;  
तिनीहरूलाई मेरा शत्रुहरूले सर्वनाश गरेका छन्।”