नहूमको भविष्यवाणी   
1
1 निनवे सहरको विषयमा अगमवाणी। एल्कोशवासी नहूमले देखेका दर्शनको पुस्तक।   
   
 
निनवेको विरुद्धमा याहवेहको क्रोध 
 
2 याहवेह डाही र बदला लिने परमेश्वर हुनुहुन्छ;  
याहवेहले बदला लिनुहुन्छ र क्रोधले भरिनुहुन्छ।  
याहवेहले आफ्ना शत्रुहरूलाई बदला लिनुहुन्छ,  
र उहाँले आफ्ना शत्रुहरू विरुद्ध क्रोध साँचेर राख्नुहुन्छ।   
3 याहवेह रिस गर्नमा धीरजी, तर पराक्रममा महान् हुनुहुन्छ।  
याहवेहले दोषीलाई दण्ड नदिई छोड्नुहुन्न।  
उहाँको मार्ग भुमरी र आँधीमा छ;  
अनि बादलहरू उहाँका पाउको धुलो हुन्।   
4 उहाँले समुद्रलाई हप्काउनुहुन्छ र त्यसलाई सुकाइदिनुहुन्छ;  
उहाँले सबै नदीहरूलाई सुक्खा पारिदिनुहुन्छ।  
बाशान र कर्मेलका खर्कहरू उजाड हुन्छन्,  
र लेबनानका फूलहरू ओइलिन्छन्।   
5 उहाँको सामु पर्वतहरू काँप्छन्  
र पहाडहरू पग्लिएर जान्छन्।  
उहाँको उपस्थितिमा पृथ्वी,  
संसार र त्यसमा भएका सबै कुरा डरले थरथर काँप्छन्।   
6 उहाँको बल्दो रिसको सामु को उभिन सक्छ र?  
उहाँको भयङ्कर क्रोध कसले सहन सक्छ?  
उहाँको क्रोध आगोझैँ खन्याइन्छ;  
उहाँको सामु चट्टानहरू फुटेर चकनाचुर हुन्छन्।   
   
 
7 याहवेह भलो हुनुहुन्छ,  
दुःखको समयमा एक शरणस्थान।  
उहाँमाथि भरोसा गर्नेहरूलाई उहाँले वास्ता गर्नुहुन्छ,   
8 तर उहाँले उर्लंदो बाढीले  
निनवे सहरको अन्त्य गरिदिनुहुनेछ;  
उहाँले आफ्ना शत्रुहरूलाई अन्धकारमा खेद्नुहुनेछ।   
   
 
9 तिनीहरूले याहवेहका विरुद्धमा जस्तोसुकै षड्यन्त्र रचे तापनि  
उहाँले त्यसको अन्त्य गरिदिनुहुनेछ;  
सङ्कष्ट दोस्रोपल्ट फेरि आउनेछैन।   
10 तिनीहरू काँडाघारीभित्र अल्झिनेछन्,  
र तिनीहरूका दाखमद्यले मात्तिनेछन्;  
तिनीहरू सुकेका ठोसाझैँ भस्म हुनेछन्।   
11 हे निनवे, तँबाट याहवेहका विरुद्धमा दुष्ट युक्ति रच्ने,  
र खराब सल्लाह दिने  
एक जना निस्केर आएको छ।   
12 याहवेह यसो भन्नुहुन्छ:  
“तिनीहरू अनगन्ती र धेरै मित्रराष्ट्रहरूका साथ भए तापनि  
तिनीहरू नष्ट हुनेछन् र मरेर जानेछन्।  
हे यहूदा, मैले तँलाई कष्ट दिए तापनि  
अब उसो म तँलाई फेरि कष्ट दिनेछैनँ।   
13 अब म तिनीहरूको जुवा तेरो काँधबाट भाँचिदिनेछु,  
र तेरा साङ्लाका बन्धनहरू चुँडाइदिनेछु।”   
   
 
14 हे निनवे, याहवेहले तेरो बारेमा एउटा आज्ञा दिनुभएको छ;  
“तेरो वंश थाम्नलाई तेरो कोही सन्तान हुनेछैन।  
म तेरा देवताहरूका मन्दिरमा भएका  
तेरा प्रतिमा र मूर्तिहरूलाई नष्ट पार्नेछु।  
म तेरो चिहान तयार पार्नेछु,  
किनकि तँ दुष्ट छस्।”   
   
 
15 हेर, पर्वतहरूमाथि सुसमाचार ल्याउने  
एउटा मानिसका पाउहरू,  
जसले शान्तिको प्रचार गर्दछ!  
हे यहूदा, तेरा चाडहरू मना,  
र आफ्ना भाकलहरू पूरा गर्।  
दुष्टहरूले तँलाई फेरि कहिल्यै आक्रमण गर्नेछैनन्;  
तिनीहरू पूर्ण रूपमा सर्वनाश हुनेछन्।