3
निनवेलाई धिक्कार 
 
1 रक्तपातले भरिएको सहरलाई धिक्कार!  
जो झूटले भरिएको छ,  
र लुटपाटका धनले भरिएको छ।  
जो पीडितबाट कहिल्यै मुक्त छैन!   
2 कोर्राहरूको आवाज,  
चक्काहरूको गडगडाहट,  
घोडाहरूको दौड  
र रथहरू थर्केका आवाज!   
3 युद्धका घोडचढीहरूको हमला,  
चम्किला तरवारहरू  
र टल्किने भालाहरू!  
मारिएका धेरै-धेरै छन्;  
लासहरूका रासमाथि रास,  
अनगन्ती मृत शरीरहरू,  
मानिसहरू लासहरूमा ठेस खाँदै हिँड्छन्—   
4 यी सबै त्यस वेश्याको कामुकताको कारणले गर्दा हो;  
त्यो टुनामुनाद्वारा लोभ्याउने मालिक्नी हो,  
जसले आफ्नो वेश्यावृत्तिद्वारा राष्ट्रहरूलाई  
र आफ्नो तन्त्रमन्त्रले जातिहरूलाई दास बनाउँथी।   
   
 
5 “म तेरो विरुद्धमा छु,” सेनाहरूका याहवेह भन्नुहुन्छ।  
“मुखैसम्म म तेरा फरिया उचाल्नेछु।  
म तेरो नाङ्गोपना राष्ट्रहरूलाई  
र तेरो लाज राज्यहरूलाई देखाउनेछु।   
6 म तँलाई घिनलाग्दो फोहोरले ढाक्नेछु,  
म तँलाई घृणित व्यवहार गर्नेछु,  
र तँलाई मानिसहरूका सामु तमाशा ठहराउनेछु।   
7 तँलाई देख्नेहरू सबै तँबाट तर्केर भाग्नेछन्, र भन्नेछन्,  
‘निनवे ध्वस्त भएको छ। त्यसका निम्ति कसले विलौना गर्ला?’  
तँलाई सान्त्वना दिने व्यक्ति मैले कहाँ भेट्टाउँला?”   
   
 
8 के तँ नील नदीका किनारामा अवस्थित  
चारैपट्टि पानीले घेरिएको  
इजिप्टको राजधानी थेबेसभन्दा असल छस्?  
त्यसको सुरक्षा नील नदी थियो;  
अनि पानी सहरको पर्खालजस्तै थियो।   
9 कूश र इजिप्ट त्यसको असीम शक्ति थिए;  
पूत र लिबिया त्यसका मित्र राष्ट्रहरू थिए।   
10 तापनि त्यसलाई कैदमा लगियो,  
र त्यो निर्वासनमा गयो।  
त्यसका स-साना बालबच्चाहरू  
सडकका कुना-कुनामा पछारी-पछारी मारिए।  
त्यसका अगुवाहरूमाथि चिट्ठा हालियो,  
र त्यसका सबै अगुवाहरूलाई साङ्लाहरूले बाँधिए।   
11 तँ निनवे पनि मात्तिनेछेस्;  
तँ लुकेर भाग्नेछस्,  
र शत्रुहरूबाट बच्न शरण खोजी गर्नेछस्।   
   
 
12 तेरा सबै बलिया किल्लाहरू नेभाराका रूखहरूजस्तै,  
पाकेका पहिलो फलले भरिएका छन्;  
जब ती बोटहरूलाई हल्लाइन्छ,  
तब ती नेभाराहरू खानेहरूका मुखैमा झर्दछन्।   
13 तेरा सेनाका दलहरूलाई हेर्,  
ती सबै बेसहारा स्त्रीहरूजस्ता मात्र छन्!  
तेरा देशका मूलढोकाहरू  
तेरा शत्रुहरूका निम्ति उदाङ्गै खोलिएका छन्;  
तिनका गजबारहरू आगोले भस्म पारेको छ।   
   
 
14 शत्रुको घेराबन्दीमा पर्नुअगि आफ्ना निम्ति पानी भरेर राख्;  
आफ्ना प्रतिरक्षालाई बलियो पार्!  
माटो मुछेर तयार गर्;  
हिलो माटोलाई कुल्चीमिल्ची पार्,  
र इँटाको साँचाहरू मर्मत गर्!   
15 त्यहाँ तँलाई आगोले जलाएर भस्म पार्नेछ;  
तरवारले तँलाई टुक्रा-टुक्रा पार्नेछ;  
तिनीहरूले तँलाई सलहले जस्तै स्वाहा पार्नेछन्।  
फट्याङ्ग्राले जस्तो आफ्नो संख्या बढा;  
सलहले जस्तै आफ्नो अनगन्ती संख्या बढा!   
16 तैँले आफ्ना व्यापारीहरूको संख्या  
आकाशका अनगन्ती ताराहरू जत्तिकै बढाएको छस्;  
तर सलहले झैँ तिनीहरूले देशलाई नाङ्गो पार्छन्,  
र त्यसपछि तिनीहरू उडेर जान्छन्।   
17 तेरा पहरेदारहरू सलहहरूजस्ता छन्,  
तेरा अधिकारीहरू सलहहरूका बथानजस्ता छन्,  
जो जाडोमा भित्ताहरूमा टाँसिएर बस्छन्;  
तर जब घाम उदाउँछ, तिनीहरू उडेर टाढा जान्छन्,  
र ती कहाँ जान्छन्, सो कसैले जान्दैन।   
   
 
18 हे अश्शूरको राजा, तेरा गोठालाहरू निदाउँछन्;  
तेरा भारदारहरू आराम गर्नलाई ढल्किन्छन्।  
तेरा मानिसहरू पर्वतहरूहुँदो छरपस्ट छन्।  
तिनीहरूलाई एकसाथ जम्मा गर्ने कोही पनि छैन।   
19 कुनै पनि कुराले तँलाई निको पार्न सक्दैन;  
तेरो चोट प्राणघातक छ।  
जसले तेरो बारेमा सुन्छन्,  
तेरो पतनमा आफ्नो हातले ताली बजाउँछन्;  
किनकि तेरो कहिल्यै अन्त्य नहुने  
क्रूरता कसले भोगेको छैन र?