5
मण्डलीका प्रधानहरू र परमेश्वरका जनहरूलाई केही अर्तीहरू 
 
1 तिमीहरूमध्येका मण्डलीका प्रधानहरूलाई, म एक सङ्गी प्रधानको नाताले, जो ख्रीष्टको दुःखको साक्षी र प्रकट हुन लागेको महिमामा सहभागीको हैसियतले, तिमीहरूलाई अनुरोध गर्दछु:  
2 तिमीहरूको हेरचाहमा भएको परमेश्वरको बगालहरूको रखवालाको रूपमा गोठालो बनिदेओ। तिमीहरूले गर्नैपर्छ भनेर होइन, तर परमेश्वरले चाहनुभएझैँ तिमीहरूको इच्छापूर्वक; पैसाको लोभले होइन, तर तिमीहरूको उत्कट इच्छाले सेवा गर।  
3 तिमीहरूको जिम्मामा रहेकाहरूमाथि प्रभुत्व जमाएर होइन, तर बगालको निम्ति नमुनाहरू भएर गर।  
4 अनि जब प्रधान गोठालो देखा पर्नुहुनेछ, तब तिमीहरूले कहिल्यै नओइलाउने महिमाको मुकुट पाउनेछौ।   
5 हे जवानहरू हो, यसरी नै मण्डलीका प्रधानहरूको अधीनमा बस। नम्रताको वस्त्र लगाएर एक-अर्काको सेवा गर; किनकि,  
“परमेश्वरले घमण्डीहरूको विरोध गर्नुहुन्छ,  
तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।”   
6 यसकारण परमेश्वरको शक्तिशाली हातमुनि आफूलाई नम्र बनाओ, ताकि उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ।  
7 तिमीहरूका सबै चिन्ता उहाँमाथि राख; किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ।   
8 संयमी र चनाखो होओ। तिमीहरूको शत्रु शैतान कसलाई भेट्टाऊँ र खाइहालूँ भनी गर्जने सिंहझैँ यताउति घुमिहिँड्छ।  
9 विश्वासमा स्थिर भएर त्यसको प्रतिरोध गर; किनकि तिमीहरू जान्दछौ संसारभरि नै तिमीहरूका दाजुभाइहरूले त्यस्तै किसिमको कष्ट भोगिरहेका छन्।   
10 सबै अनुग्रहका परमेश्वर, जसले तिमीहरूलाई ख्रीष्टमा आफ्नो अनन्त महिमामा बोलाउनुभएको छ; तिमीहरूले केही समयसम्म कष्ट भोगेपछि उहाँले नै तिमीहरूलाई पुनर्स्थापन गर्नुहुनेछ र तिमीहरूलाई बलिया, स्थिर र शक्तिशाली बनाउनुहुनेछ।  
11 उहाँलाई नै पराक्रम सदासर्वदा भइरहोस्! आमेन।   
   
 
अन्तिम अभिवादन 
 
12 सिलासको सहायताले, जसलाई म एक विश्वासयोग्य भाइ ठान्दछु, मैले तिमीहरूलाई उत्साह दिँदै र यही नै परमेश्वरको सत्य अनुग्रह भनी छोटकरीमा लेखेको छु। यसमा अटल रहो।   
   
 
13 तिमीहरूसँगै छानिएकी बेबिलोनमा तिमीहरूकी बहिनीले तिमीहरूलाई अभिवादन पठाएकी छिन्, साथै मेरा छोरा मर्कूसले पनि।   
14 एक-अर्कालाई ख्रीष्टिय प्रेमले अभिवादन गर।  
   
 
ख्रीष्टमा भएका तिमीहरू सबैलाई शान्ति!