सोलोमनका हितोपदेश  
10
1 सोलोमनका हितोपदेश:  
बुद्धिमान् छोराछोरीले आफ्ना बुबालाई खुशी तुल्याउँछन्,  
तर मूर्ख छोराछोरीले आफ्नी आमालाई पिरोल्छन्।   
   
 
2 अन्यायसँग कमाएको धन केही मूल्यको हुँदैन,  
तर धार्मिकताले मृत्युबाट छुटाउँछ।   
   
 
3 याहवेहले धर्मीहरूलाई भोकै राख्नुहुन्न;  
तर उहाँले दुष्टको लालसालाई विफल पार्नुहुन्छ।   
   
 
4 अल्छी हातहरूले मानिसलाई गरिब बनाउँछन्,  
तर परिश्रमी हातहरूले सम्पत्ति आर्जन गर्छन्।   
   
 
5 ग्रीष्म ऋतुमा अन्नको प्रबन्ध गर्ने छोराछोरी बुद्धिमान् हुन्;  
तर कटनीको समयमा सुत्ने छोराछोरी शर्म लाग्दा हुन्।   
   
 
6 धर्मीको शिरमाथि आशिष्हरूका मुकुट रहन्छन्,  
तर दुष्ट मानिसको मुखमा हिंसा लुकेको हुन्छ।   
   
 
7 धर्मीको नाम आशिष्मा प्रयोग गरिन्छ,  
तर दुष्टको नामचाहिँ कुहिएर जानेछ।   
   
 
8 हृदयमा बुद्धिमान् हुनेहरूले आज्ञाहरू ग्रहण गर्छन्,  
तर बकबके मूर्खको विनाश हुन्छ।   
   
 
9 इमानदार मानिस निर्धक्क भई जिउँछ;  
तर टेढो मार्गमा हिँड्ने पक्राउ पर्नेछ।   
   
 
10 कपटपूर्ण आँखा झिम्काउनेले शोक ल्याउँछ;  
अनि बकबक गर्ने मूर्ख सर्वनाशमा पुग्छ।   
   
 
11 धर्मीको मुख जीवनको फोहोरा हो,  
तर दुष्टको मुखमा हिंसा लुकेको हुन्छ।   
   
 
12 घृणाले फाटो उब्जाउँछ;  
तर प्रेमले सबै अपराधहरू ढाक्दछ।   
   
 
13 समझदार व्यक्तिका ओठमा बुद्धिका कुरा पाइन्छ;  
तर विवेकहीनहरूका पिठिउँमा त छडी पर्छ।   
   
 
14 बुद्धिमान् मानिसहरूले ज्ञान सञ्चय गर्छन्;  
तर मूर्खको मुखले विनाश निम्त्याउँछ।   
   
 
15 धनीको धन नै तिनीहरूका किल्ला भएको सहर हो,  
तर दरिद्रता गरिबहरूको विनाश हो।   
   
 
16 धर्मीको ज्याला तिनीहरूको जीवन हो,  
तर दुष्टको कमाइ पाप र मृत्यु हो।   
   
 
17 अनुशासन पालन गर्ने जीवनको बाटोमा जान्छ,  
तर जसले सुधारलाई बेवास्ता गर्छ, त्यसले अरूलाई पथभ्रष्ट पार्छ।   
   
 
18 जसले आफूमा घृणा लुकाएर राख्छ, उसको जिब्रो छली हुन्छ  
र जसले निन्दा फैलाउँछ, त्यो मूर्ख हो।   
   
 
19 जब बढ्ता बोलिन्छ, पापले बढी स्थान पाउँछ;  
तर बुद्धिमान्ले आफ्नो जिब्रोमा लगाम लगाउँछ।   
   
 
20 धर्मीको जिब्रो निखुर चाँदी हो;  
तर दुष्टको हृदय भने केही मूल्यको हुँदैन।   
   
 
21 धर्मीको ओठले धेरैलाई उत्साह दिन्छ,  
तर मूर्खहरू विवेकको अभावले मर्छन्।   
   
 
22 याहवेहको आशिष्ले धनसम्पत्ति ल्याउँछ;  
अनि उहाँले यसमा दुःख थप्नुहुन्न।   
   
 
23 मूर्खहरू दुष्ट चालमा आनन्दित हुन्छन्,  
तर समझशक्ति भएको मानिस बुद्धिमा प्रसन्न हुन्छ।   
   
 
24 तिनीहरूलाई त्रसित बनाउने कुरा नै दुष्टमाथि आइपर्नेछ;  
धर्मीले जे इच्छा गर्छ, त्यो पूरा गरिनेछ।   
   
 
25 आँधीबेहरी आएपछि दुष्टहरू सोहोरिएर गइहाल्छन्;  
तर धर्मीचाहिँ अन्त्यसम्मै स्थिर रहन्छन्।   
   
 
26 दाँतलाई सिर्का र आँखालाई धुवाँजस्तै,  
अल्छे पनि त्यसलाई पठाउनेको निम्ति त्यस्तै हुन्।   
   
 
27 याहवेहप्रति गरिएको श्रद्धाले जीवनको आयु लामो पार्छ;  
तर दुष्टका आयुचाहिँ घटाइन्छ,   
28 धर्मीका आशा आनन्दमय हुन्छ;  
तर दुष्टहरूको आशा पूरा हुनेछैन।   
   
 
29 याहवेहको मार्ग धर्मीहरूको निम्ति शरणस्थान हो;  
तर दुष्ट काम गर्नेहरूको निम्ति त्यो विनाश हो।   
   
 
30 धर्मी कहिल्यै उखेलिनेछैन;  
तर दुष्ट पृथ्वीमा स्थिर रहनेछैन।   
   
 
31 धर्मीको मुखबाट बुद्धिका कुरा निस्किन्छ,  
तर भड्काउने जिब्रो काटिनेछ।   
   
 
32 धर्मीका ओठले उचित कुरा जान्दछन्;  
तर दुष्टको मुखले टेढामेढा कुराहरू मात्र जान्दछ।