14
1 बुद्धिमान् स्त्रीले आफ्नो घर निर्माण गर्छे;  
तर मूर्ख स्त्रीले आफ्नै हातले आफ्नो घर भत्काउँछे।   
   
 
2 याहवेहको डर मान्नेहरू सत्यतामा जिउँछन्,  
तर उहाँलाई तुच्छ ठान्नेहरू कुमार्गमा हिँड्छन्।   
   
 
3 मूर्खको बोलीले आफ्नै पिठिउँमा छडी निम्त्याउँछ;  
तर बुद्धिमान्को ओठले तिनीहरूलाई बचाउँछ।   
   
 
4 जहाँ गोरुहरू छैनन्, त्यहाँ गोठ खाली रहन्छ;  
तर गोरुको बलबाट प्रशस्त फसल कटनी हुन्छ।   
   
 
5 साँचो साक्षीले धोका दिँदैन;  
तर झूटो साक्षीले असत्य कुराहरू पोख्छ।   
   
 
6 गिल्ला गर्नेले बुद्धिको खोजी गर्छ, तर पाउँदैन;  
तर विवेकशील व्यक्तिले सजिलैसित ज्ञान प्राप्त गर्छ।   
   
 
7 मूर्ख मानिसबाट टाढै बस,  
किनकि उसको ओठमा ज्ञानको कुरा पाइँदैन।   
   
 
8 विवेकशील मानिसको बुद्धिले त्यसलाई सही मार्ग दिन्छ,  
तर मूर्खहरूको मूर्खताचाहिँ धोका हो।   
   
 
9 दोष मूर्खहरूका निम्ति ठट्ठाको विषय हो;  
तर धर्मीहरूमा भने सद्भावना पाइन्छ।   
   
 
10 प्रत्येक मनको तितोपनाले नै जान्दछ;  
र कोही त्यसको आनन्दको सहभागी हुन सक्दैन।   
   
 
11 दुष्टको घर भत्काइनेछ;  
तर धर्मीको पालमा फलिफाप हुनेछ।   
   
 
12 कुनै बाटो मानिसलाई ठिक लाग्ला,  
तर अन्त्यमा त्यसले मृत्युमा पुर्याउँछ।   
   
 
13 मुखमा हाँसो भए तापनि हृदयमा वेदना हुन सक्छ;  
र हर्षको अन्तचाहिँ शोकमा हुन सक्छ।   
   
 
14 विश्वासहीनहरूलाई तिनीहरूको चाल अनुसारको प्रतिफल दिइनेछ;  
र असल मानिसले आफ्नो कामको प्रतिफल पाउनेछ।   
   
 
15 सोझो मानिसले हरेक कुरामा विश्वास गर्छ;  
तर विवेकशील मानिसले आफ्ना पाइलाहरूबारे विचार गर्छ।   
   
 
16 बुद्धिमान् मानिसले याहवेहको डर मान्छ, र दुष्टतादेखि परै बस्छ;  
तर मूर्खचाहिँ अहङ्कारी हुन्छ, विस्वस्त हुन्छ।   
   
 
17 झट्टै रिसाउने मानिसले मूर्ख काम गर्छ;  
र दुष्ट योजनाहरू रच्नेलाई घृणा गरिन्छ।   
   
 
18 रिसाहाले मूर्खता कमाउँछन्,  
तर विवेकशीलहरूले ज्ञानको मुकुट लगाउँछन्।   
   
 
19 खराब मानिसहरू असल मानिसहरूका सामु,  
र दुष्टहरू धर्मीहरूका मूलढोकाको सामु झुक्नेछन्।   
   
 
20 गरिबहरू आफ्नै छिमेकीद्वारा त्यागिन्छन्;  
तर धनीको धेरै मित्रहरू हुन्छन्।   
   
 
21 आफ्नो छिमेकीलाई तुच्छ ठान्नेले पाप गर्छ;  
तर त्यो मानिस धन्य हो, जसले अभावमा परेकाहरूमाथि दया देखाउँछ।   
   
 
22 के दुष्ट योजना रच्नेहरू बरालिँदैनन् र?  
तर असल योजना बनाउनेहरूले प्रेम र विश्वासयोग्यता प्राप्त गर्छन्।   
   
 
23 सबै कठोर परिश्रमले लाभ ल्याउँछ;  
तर कुरा मात्र गर्ने मानिसचाहिँ गरिबीमा पुग्छ।   
   
 
24 बुद्धिमान्को धन तिनीहरूको मुकुट हो;  
तर मूर्खहरूको मूर्खपनाले मूर्खता मात्र उत्पन्न गराउँछ।   
   
 
25 साँचो साक्षीले जीवन बचाउँछ;  
तर झूटो साक्षी छलपूर्ण हुन्छ।   
   
 
26 याहवेहको डर मान्नेको किल्ला सुरक्षित रहन्छ;  
र त्यसका छोराछोरीको लागि त्यो एक शरणस्थान हुनेछ।   
   
 
27 याहवेहप्रतिको श्रद्धा जीवनको मूल हो,  
जसले मानिसलाई मृत्युको पासोबाट फर्काउँछ।   
   
 
28 ठूलो जनसंख्या राजाको महिमा हो;  
तर प्रजाविनाको शासक नष्ट हुन्छ।   
   
 
29 धैर्यवान् मानिसको समझशक्ति अपार हुन्छ,  
तर झट्टै रिसाउनेले आफ्नो मूर्खतालाई प्रदर्शन गर्छ।   
   
 
30 शान्त हृदयले शरीरलाई जीवन दिन्छ;  
तर ईष्र्याचाहिँ हड्डीहरूका निम्ति क्यान्सरजस्तै हुन्छ।   
   
 
31 गरिबलाई थिचोमिचो गर्नेले आफ्ना सृष्टिकर्ताप्रति अपमान दर्शाउँछ;  
तर खाँचोमा परेकाहरूप्रति दयालु हुनेले परमेश्वरलाई सम्मान दिन्छ।   
   
 
32 जब विपत्ति आउँछ, दुष्टहरूको पतन हुन्छ;  
तर धर्मीले चाहिँ मृत्युमा पनि परमेश्वरको आश्रय पाउँछ।   
   
 
33 बुद्धिमान्को हृदयमा बुद्धिले बास गर्छ,  
र मूर्खहरूको बीचमा पनि त्यसले आफूलाई प्रकट गराउँछ।   
   
 
34 धार्मिकताले राष्ट्रलाई उच्च तुल्याउँछ;  
तर पाप गर्नुचाहिँ कुनै पनि जातिको निम्ति कलङ्क हुन्छ।   
   
 
35 बुद्धिमान् सेवकसँग राजा प्रसन्न रहन्छन्;  
तर शर्मलाग्दो सेवकले तिनको रिस जगाउँछ।