2
बुद्धिबाट प्राप्त हुने नैतिक लाभहरू 
 
1 हे मेरो छोरा, “यदि तिमीले मेरो वचन मान्यौ  
र मेरा आज्ञाहरू आफूभित्र सावधानीसाथ राख्यौ भने,   
2 आफ्नो कान बुद्धिका कुरामा फर्कायौ  
र तिम्रो हृदयलाई समझशक्तितिर लगायौ भने,   
3 साँच्चै, तिमीले अन्तर्दृष्टिको निम्ति आह्वान गर्यौ भने,  
र समझशक्तिको निम्ति जोडसित पुकार्यौ भने,   
4 र तिमीले त्यसलाई चाँदीझैँ चाहना गर्यौ भने,  
अनि लुकाइएको गाडधनजस्तै त्यसलाई खोज्यौ भने,   
5 तब तिमीले याहवेहप्रति भय मान्नुको अर्थ बुझ्नेछौ,  
र परमेश्वरको ज्ञान प्राप्त गर्नेछौ।”   
6 किनकि याहवेहले बुद्धि दिनुहुन्छ,  
अनि उहाँकै मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्कन्छन्।   
7 उहाँले धर्मीहरूका निम्ति सफलता साँचेर राख्नुहुन्छ;  
निर्दोष जीवन जिउनेहरूका निम्ति उहाँ ढाल हुनुहुन्छ,   
8 किनकि उहाँले न्यायका मार्गको रक्षा गर्नुहुन्छ,  
र उहाँले आफ्ना विश्वासयोग्य जनहरूका मार्ग सुरक्षित राख्नुहुन्छ।   
   
 
9 तब तिमीले धार्मिकता, न्याय र निष्पक्षता के हो,  
हो, असल मार्ग के हो, त्यो बुझ्नेछौ।   
10 किनकि बुद्धि तिम्रो हृदयमा पस्नेछ,  
र ज्ञानचाहिँ तिम्रो प्राणको निम्ति आनन्ददायक हुनेछ।   
11 विवेकले तिमीलाई हेरचाह गर्नेछ,  
र समझशक्तिले तिम्रो रक्षा गर्नेछ।   
   
 
12 बुद्धिले तिमीलाई दुष्ट मानिसको मार्ग,  
र भ्रष्ट कुरा गर्ने मानिसबाट जोगाउनेछ,   
13 जसले अन्धकारका मार्गहरूमा हिँड्नका लागि  
सीधा मार्गहरू त्यागेका छन्,   
14 जो खराबी गर्नमा रमाउँछन्,  
र दुष्टहरूका भ्रष्टतामा आनन्दित हुन्छन्,   
15 जसका चालहरू टेढा,  
र आफ्ना मार्गहरूमा कुटिल छन्।   
   
 
16 बुद्धिले तिमीलाई व्यभिचारिणी स्त्रीबाट  
र स्वेच्छाचारी स्त्रीका लोभ्याउने कुराहरूबाट जोगाउनेछ,   
17 जुन स्त्रीले आफ्नो युवा अवस्थाको जीवन साथीलाई त्यागेकी छे,  
र त्यसले परमेश्वरसित बाँधेको करारलाई इन्कार गरेकी छे।   
18 निश्चय नै त्यसको घरले मृत्युतिर  
र त्यसका मार्गहरूले मृतकहरूका आत्मातिर पुर्याउँछन्।   
19 त्यससित जाने पुरुष फर्किआउँदैन,  
न त जीवनको मार्ग नै प्राप्त गर्छ।   
   
 
20 यसरी तिमी असल मानिसहरूका कदम अनुसरण गर्नेछौ,  
र धर्मी मानिसको बाटोमा लागिरहनेछौ।   
21 किनकि धर्मीहरू देशमा बास गर्नेछन्,  
र निर्दोष मानिसहरू त्यहाँ रहिरहनेछन्,   
22 तर दुष्टहरूचाहिँ देशबाट हटाइनेछन्,  
र विश्वासघातीहरू त्यहाँबाट जरैसमेत उखालिनेछन्।