21
1 राजाको हृदय याहवेहको हातमा हुन्छ;  
उहाँले खोलाको पानीलाई आफ्नो मनपर्दो दिशातिर डोर्याएजस्तै, त्यसलाई डोर्याउनुहुन्छ।   
   
 
2 मानिसलाई आफ्ना सबै चालहरू ठिक लाग्ला,  
तर हृदय जाँच्नुहुने याहवेह नै हुनुहुन्छ।   
   
 
3 ठिक र न्यायोचित काम गर्नुचाहिँ  
याहवेहको सामु बलिदानभन्दा बढी ग्रहणयोग्य हुन्छ।   
   
 
4 अहङ्कारी आँखा र अभिमानी हृदय  
तथा दुष्टका नजोतिएका जमिनले पाप उब्जाउँछ।   
   
 
5 परिश्रमीको योजनाले लाभ दिन्छ;  
हतारले अवश्य नै गरिबीमा पुर्याउँछ।   
   
 
6 झूटो जिब्रोद्वारा कमाएको धन  
उडिजाने वाफ र घातक पासो हो।   
   
 
7 दुष्टहरूका हिंसाले नै तिनीहरूलाई पखाल्छ;  
किनकि जे ठिक हो, त्यो गर्न तिनीहरूले अस्वीकार गर्दछन्।   
   
 
8 दोषीको चाल बाङ्गो हुन्छ;  
तर निर्दोषको चालचलन ठिक हुन्छ।   
   
 
9 कचकचे पत्नीसित एउटै घरमा बस्नुभन्दा,  
घरको कौसीको एउटा कुनामा बस्नु असल हो।   
   
 
10 दुष्ट मानिसले दुष्टताको चाहना गर्छ;  
त्यसको छिमेकीले त्यसबाट दया पाउँदैन।   
   
 
11 गिल्ला गर्नेले दण्ड पाउँदा सोझाले बुद्धि प्राप्त गर्छ;  
बुद्धिमान्लाई अर्ती दिँदा त्यसले ज्ञान प्राप्त गर्छ।   
   
 
12 धर्मी जनले दुष्टको घरलाई चिनिराख्छ;  
तर परमेश्वरले दुष्टहरूलाई पतन गराउनुहुन्छ।   
   
 
13 जसले गरिबको चीत्कार सुन्दैन,  
त्यसले पनि पुकार गर्दा जवाफ पाउनेछैन।   
   
 
14 गुप्तमा दिएको उपहारले क्रोधलाई शान्त गर्छ;  
लुकाएर दिएको घूसले ठूलो क्रोध शान्त गर्छ।   
   
 
15 उचित न्यायले धर्मी जनको हृदयमा आनन्द ल्याउँछ;  
तर कुकर्मीहरू भने त्रसित हुन्छन्।   
   
 
16 समझशक्तिदेखि कुमार्गतिर लाग्ने मानिस  
मृतकहरूको साथमा विश्राम गर्न पुग्छ।   
   
 
17 सुख-विलास मन पराउने गरिब हुनेछ;  
दाखमद्य र विलासिता मन पराउने कहिल्यै धनी हुनेछैन।   
   
 
18 दुष्टहरू धर्मीहरूको उद्धारको मोल,  
र विश्वासघाती निर्दोषहरूको उद्धारको मोल हुनेछन्।   
   
 
19 झगडालु र गनगने पत्नीसित बस्नुभन्दा त  
बरु मरुभूमिमा बस्नु असल हुन्छ।   
   
 
20 बुद्धिमान् मानिसको घरमा मनपर्दो धन र तेल हुन्छ;  
तर मूर्ख मानिसले आफूसँग भएको सबै उडाउँछ।   
   
 
21 धार्मिकता र प्रेमको पछि लाग्नेले  
जीवन, उन्नति र सम्मान पाउँछ।   
   
 
22 बुद्धिमान् मानिसले पराक्रमीको सहरमा आक्रमण गर्छ,  
र तिनीहरूले भरोसा गरेको किल्ला भत्काइदिन्छ।   
   
 
23 आफ्नो मुख र जिब्रो सम्हाल्नेले  
आफूलाई विपत्तिबाट जोगाउँछ।   
   
 
24 अहङ्कारी र अभिमानी मानिसको नाम, “गिल्ला गर्ने” हो,  
त्यसले अभिमानसाथ व्यवहार गर्दछ।   
   
 
25 अल्छेको इच्छा त्यसकै मृत्यु हुनेछ;  
किनकि त्यसका हातहरूले काम गर्न इन्कार गर्छन्।   
26 दिनभरि नै त्यसले अझ बढी चाहना गर्छ,  
तर धर्मीले नसाँचिकन उदारतापूर्वक दिन्छ।   
   
 
27 दुष्टको बलिदान घिनलाग्दो हुन्छ;  
त्यसले दुष्ट विचारले ल्याएको छ भने झन् कति बढी घृणित हुनेछ!   
   
 
28 झूटो गवाही दिने नष्ट हुनेछ;  
तर साँचो साक्षीलाई सधैँ सुनिनेछ।   
   
 
29 दुष्ट मानिसले आफ्नो अनुहारमा साहसीपना देखाउँछ;  
तर धर्मी जीवन जिउनेहरूले आफ्ना चालहरूमा विचार पुर्याउँछन्।   
   
 
30 कुनै पनि बुद्धि, अन्तर्दृष्टि र योजना,  
याहवेहको विरुद्ध सफल हुन सक्दैन।   
   
 
31 घोडा युद्धको निम्ति तयार राखिन्छ;  
तर विजयचाहिँ याहवेहकै हातमा हुन्छ।