भजन 101
दावीदको भजन। 
 
1 म तपाईंको अचुक प्रेम र न्यायको गीत गाउनेछु;  
हे याहवेह, म तपाईंको प्रशंसा गाउनेछु।   
2 म निर्दोष जीवन बिताउनलाई होसियार रहनेछु,  
तपाईं मकहाँ कहिले आउनुहुनेछ?  
   
 
म निर्दोष हृदय लिएर  
आफ्नो घरको कामकाज गर्नेछु।   
3 म आफ्नो आँखाहरू अगि  
कुनै पनि अनुचित कुराहरू राख्नेछैनँ।  
   
 
पथभ्रष्ट भएकाहरूका कामलाई म घृणा गर्छु;  
यसमा मेरो कुनै सरोकार हुनेछैन।   
4 कुटिल हृदय भएकाहरू मबाट टाढा रहनेछन्;  
दुष्टसँग मेरो कुनै सरोकार रहनेछैन।   
   
 
5 जसले गुप्तमा आफ्ना छिमेकीको निन्दा गर्दछ,  
म त्यसलाई नाश गर्नेछु;  
अहङ्कारी दृष्टि भएका र घमण्डी हृदय भएकालाई,  
म सहनेछैनँ।   
   
 
6 देशका विश्वासयोग्य जनहरूमाथि म मेरो नजर राख्नेछु;  
ताकि तिनीहरू मसित बास गरून्;  
त्यो, जसको चालचलन निर्दोष छ,  
उसले नै मेरो सेवा गर्नेछ।   
   
 
7 छली काम गर्ने कसैले पनि  
मेरो घरमा बास पाउनेछैन;  
झूटो बोल्ने कोही पनि  
मेरो उपस्थितिमा खडा हुनेछैन।   
   
 
8 हरेक बिहान म  
देशका दुष्ट काम गर्नेहरू सबैलाई नाश पार्नेछु;  
याहवेहको सहरबाट  
म हरेक दुष्कर्मीलाई नष्ट पार्नेछु।