पाँचौँ खण्ड  
 107
भजनसंग्रह 107–150  
1 याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ;  
उहाँको अचुक प्रेम सधैँभरि रहिरहन्छ।   
   
 
2 याहवेहले छुटकारा दिनुभएकाहरूले  
वैरीहरूका हातबाट छुटाइएकाहरूले,   
3 विभिन्न देशहरूबाट,  
पूर्व र पश्चिमबाट, उत्तर र दक्षिणबाट एकत्रित भएकाहरूले यसो भनून्:   
   
 
4 कसै-कसैले बसोबास गर्नलाई कुनै सहर भेट्टाएनन्,  
र मरुभूमिका उजाडस्थानतिर भौँतारिँदै हिँडे।   
5 तिनीहरू भोक र प्यासले दुर्बल भई  
प्राण जालाजस्तै भइसकेका थिए।   
6 तब आफ्ना कष्टहरूमा तिनीहरूले याहवेहलाई पुकारे,  
र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्टहरूबाट छुटाउनुभयो।   
7 उहाँले तिनीहरूलाई सीधा मार्गबाट डोर्याउनु भएर,  
तिनीहरूलाई बास बस्न सक्ने सहरमा पुर्याउनुभयो।   
8 उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्भुत कार्यहरूका निम्ति,  
तिनीहरूले याहवेहलाई धन्यवाद देऊन्!   
9 किनकि उहाँले तिर्सना गर्नेहरूको प्यास मेट्नुहुन्छ,  
र भोकाहरूलाई असल आहाराले सन्तुष्ट पार्नुहुन्छ।   
   
 
10 कोही-कोही अन्धकार, र घोर अन्धकारमा जिइरहेका थिए,  
कैदीहरू फलामका साङ्लाले बाँधिएर कष्ट भोगिरहेका थिए,   
11 किनकि तिनीहरूले परमेश्वरका वचनको विरुद्धमा विद्रोह गरेका थिए  
र सर्वोच्च परमेश्वरको योजनालाई तिरस्कार गरेका थिए।   
12 यसकारण उहाँले तिनीहरूलाई कठोर परिश्रम गर्न लगाउनुभयो;  
तिनीहरूले ठक्कर खाए, तर मदत गर्नलाई कोही थिएन।   
13 तब आफ्ना कष्टहरूमा तिनीहरूले याहवेहलाई पुकारे,  
र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्टहरूबाट बचाउनुभयो।   
14 उहाँले तिनीहरूलाई अन्धकार, र घोर अन्धकारहरूबाट निकाल्नुभयो;  
र तिनीहरू बाँधिएका साङ्लाहरू चुँडाइदिनुभयो।   
15 उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्भुत कार्यहरूका निम्ति  
तिनीहरूले याहवेहलाई धन्यवाद देऊन्;   
16 किनकि उहाँले काँसोका मूलढोकाहरू भत्काइदिनुहुन्छ,  
र फलामका आग्लोहरू काटेर टुक्रा-टुक्रा पारिदिनुहुन्छ।   
   
 
17 कोही-कोही आफ्ना विद्रोही चालहरूले गर्दा मूर्ख बने,  
र आफ्नै अधर्मका कारण कष्ट भोगे।   
18 तिनीहरू सबै प्रकारका खानेकुराहरूदेखि वाक्कै भए,  
र मृत्युका ढोका नजिक पुगे।   
19 तब आफ्ना कष्टहरूमा तिनीहरूले याहवेहलाई पुकारे,  
र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्टहरूबाट बचाउनुभयो।   
20 उहाँले आफ्नो वचन पठाउनुभयो, र तिनीहरूलाई निको पार्नुभयो,  
तिनीहरूलाई चिहानबाट छुटाउनुभयो।   
21 उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्भुत कार्यहरूका निम्ति  
तिनीहरूले याहवेहलाई धन्यवाद देऊन्!   
22 तिनीहरूले धन्यवादका बलि चढाऊन्  
र हर्षका गीत गाएर उहाँका कार्यको वर्णन गरून्!   
   
 
23 कोही-कोही जहाजहरूमा चढी सामुद्रिक यात्रामा गए;  
तिनीहरू महासागरका व्यापारीहरू थिए।   
24 तिनीहरूले याहवेहका कामहरू देखे,  
गहिरो सागरमा तिनीहरूले उहाँका अद्भुत कार्यहरू देखे।   
25 किनकि उहाँले आज्ञा गर्नुभयो, र प्रचण्ड आँधी चल्यो,  
जसले गर्दा समुद्रका छालहरू माथिसम्म उठे।   
26 छालहरू आकाशसम्म नै उठे, र फेरि सागरको गहिराइहरूमा झरे;  
यस्तो जोखिममा तिनीहरूको साहस हराएर गयो।   
27 तिनीहरू मदिराले मातेको मानिसझैँ धरमरिँन्थे;  
तिनीहरूका सबै सिपहरू बेकार साबित भए।   
28 तब आफ्ना कष्टहरूमा तिनीहरूले याहवेहलाई पुकारे,  
र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्टहरूबाट छुटाउनुभयो।   
29 उहाँले आँधीलाई शान्त पार्नुभयो;  
समुद्रका छालहरू साम्य भए।   
30 आँधी शान्त हुँदा तिनीहरू खुशी भए;  
र उहाँले तिनीहरूलाई तिनीहरूले इच्छा गरेको बन्दरगाहमा पुर्याउनुभयो।   
31 उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्भुत कार्यहरूका निम्ति  
तिनीहरूले याहवेहलाई धन्यवाद देऊन्!   
32 तिनीहरूले मानिसहरूको समुदायमा उहाँलाई उच्च पारून्,  
र प्रधानहरूका सभामा उहाँको प्रशंसा गरून्!   
   
 
33 उहाँले नदीहरूलाई मरुभूमिमा,  
र पानीका मूलहरूलाई सुक्खा भूमिमा परिवर्तन गर्नुभयो।   
34 त्यहाँका बासिन्दाहरूका दुष्टताको कारणले गर्दा,  
मलिला जमिनलाई नुनिलो मरुस्थलमा परिवर्तन गरिदिनुभयो।   
35 उहाँले मरुभूमिलाई तालमा  
र सुक्खा जमिनलाई पानीका मूलमा परिवर्तन गर्नुभयो;   
36 उहाँले त्यहाँ भोकाहरूलाई बासको निम्ति ल्याउनुभयो,  
र तिनीहरूले बसोबास गर्न सक्ने एउटा सहर निर्माण गरे।   
37 तिनीहरूले खेतबारीमा बिउ छरे, र दाखबारी लगाए,  
अनि प्रशस्त उब्जनी कटनी गरे;   
38 उहाँले तिनीहरूलाई आशिष् दिनुभयो, र तिनीहरूको जनसंख्या बढाउनुभयो;  
अनि तिनीहरूका गाईबस्तुका बथान घट्न दिनुभएन।   
   
 
39 त्यसपछि अत्याचार, विपत्ति र शोकले गर्दा,  
तिनीहरूको जनसंख्या घट्यो र तिनीहरू होच्याइए;   
40 उहाँले शासकहरूमाथि अपमान खन्याउनुहुन्छ,  
र तिनीहरूलाई पथविहीन उजाड ठाउँहरूमा भौँतारिँदै हिँड्ने बनाउनुभयो।   
41 तर गरिबहरूलाई उहाँले तिनीहरूका दुःखबाट उठाउनुभयो,  
र तिनीहरूका परिवारहरूलाई भेडाका बगालझैँ बढाउनुभयो।   
42 धर्मी मानिसहरू यो देखेर हर्षित हुन्छन्,  
तर सबै दुष्टहरूचाहिँ आफ्नो मुख बन्द गर्छन्।   
   
 
43 जो बुद्धिमान् छ, त्यसले यी कुराहरूमा ध्यान देओस्,  
र याहवेहको महान् प्रेममाथि चिन्तन गरोस्।