भजन 132
आरोहणको गीत। 
 
1 हे याहवेह, दावीद  
र तिनले भोगेका सबै दुःखलाई सम्झनुहोस्।   
   
 
2 तिनले याहवेहसँग शपथ खाए,  
तिनले याकोबका सर्वशक्तिमान्सँग भाकल गरे:   
3 “म, तबसम्म आफ्नो घरमा पस्नेछैनँ,  
वा आफ्नो ओछ्यानमा सुत्नेछैनँ,   
4 म मेरा आँखाहरूमा निद्रा आउन दिनेछैनँ,  
र आँखाहरूका पलकहरूलाई उँघ्न पनि दिनेछैनँ;   
5 जबसम्म याहवेहका निम्ति एउटा ठाउँ  
र याकोबका सर्वशक्तिमान्को निम्ति म एउटा वासस्थान भेट्टाउँदिनँ।”   
   
 
6 हामीले एप्रातामा त्यसको विषयमा सुन्यौँ;  
हामीले याआरको मैदानमा त्यसलाई भेट्टायौँ:   
7 “हामी उहाँका वासस्थानमा जाऔँ;  
यसो भन्दै उहाँका पाउदानमा दण्डवत् गरौँ,   
8 ‘हे याहवेह, उठ्नुहोस्, तपाईं र तपाईंको शक्तिको चिन्ह सन्दुकसमेत,  
तपाईंको विश्रामस्थलभित्र आउनुहोस्।   
9 तपाईंका पुजारीहरूले तपाईंको धार्मिकताको वस्त्र पहिरिऊन्;  
र तपाईंका विश्वासयोग्य जनहरू आनन्दले जयजयकार गरून्!’ ”   
   
 
10 आफ्ना सेवक दावीदको निम्ति,  
तपाईंका अभिषिक्त जनलाई अस्वीकार नगर्नुहोस्!   
   
 
11 याहवेहले दावीदसँग शपथ खानुभयो;  
एउटा पक्का शपथ, जुन उहाँले फिर्ता लिनुहुनेछैन:  
“म तेरो सिंहासनमा  
तेरा सन्तानहरूमध्ये एक जनालाई बसाल्नेछु।   
12 यदि तेरा छोराहरूले मेरो करार  
र मैले सिकाएका मेरा विधिहरू पालन गरे भने,  
तिनीहरूका छोराहरू पनि  
सदासर्वदाको निम्ति तेरो सिंहासनमा बस्नेछन्।”   
   
 
13 किनकि याहवेहले सियोनलाई चुन्नुभएको छ;  
उहाँले त्यसलाई आफ्नो वासस्थान बनाउने इच्छा गर्नुभएको छ;   
14 “यो सदासर्वदाको निम्ति मेरो विश्रामको स्थान हो;  
म यहीँ सिंहासनमा बस्नेछु; किनकि मैले यस्तै इच्छा गरेको छु।   
15 प्रशस्त खानपानका थोकले म त्यसलाई आशिष् दिनेछु;  
र त्यसका गरिबहरूलाई म रोटीले तृप्त पार्नेछु।   
16 त्यसका पुजारीहरूलाई पनि म मुक्तिको वस्त्र पहिराउनेछु;  
र त्यसका विश्वासयोग्य जनहरू आनन्दले सधैँ जयजयकार गर्नेछन्।   
   
 
17 “यहाँ दावीदको निम्ति म एउटा सिङको टुसा उमार्नेछु;  
र मेरा अभिषिक्त जनको निम्ति बत्ती तयार गर्नेछु।   
18 म त्यसका शत्रुहरूलाई शर्मको वस्त्र पहिराउनेछु;  
तर त्यसको शिर भने प्रकाशमय मुकुटले शोभायमान हुनेछ।”