भजन 135
1 याहवेहको प्रशंसा गर!  
   
 
याहवेहको नामको प्रशंसा गर;  
हे याहवेहका सेवकहरू हो, उहाँको प्रशंसा गर।   
2 तिमीहरू, जो याहवेहको भवनमा,  
हाम्रा परमेश्वरको भवनका चोकहरूमा सेवा गर्दछौ।   
   
 
3 याहवेहको प्रशंसा गर! किनकि याहवेह भलो हुनुहुन्छ;  
उहाँको नामको गीत गाओ; किनकि त्यो आनन्दमय हुन्छ।   
4 किनकि याहवेहले याकोबलाई आफ्नो बनाउन,  
अनि इस्राएललाई आफ्नो बहुमूल्य सम्पत्ति हुनलाई चुन्नुभएको छ।   
   
 
5 म जान्दछु, याहवेह महान् हुनुहुन्छ,  
र हाम्रा प्रभु सबै देवहरूभन्दा महान् हुनुहुन्छ।   
6 आकाशमा र पृथ्वीमा,  
समुद्रहरू अनि तिनका गहिराइमा,  
याहवेह आफ्नो इच्छाअनुसार गर्नुहुन्छ।   
7 उहाँले पृथ्वीको छेउबाट बादल उठाउनुहुन्छ;  
उहाँले वर्षासित बिजुली पठाउनुहुन्छ;  
र उहाँले आफ्ना भण्डारहरूबाट बतास निकाल्नुहुन्छ।   
   
 
8 उहाँले इजिप्टका मानिस र पशु,  
दुवैका पहिले जन्मेकाहरूलाई मार्नुभयो।   
9 हे इजिप्ट, उहाँले तेरो बीचमा, आफ्ना अलौकिक चिन्हहरू र अद्भुत कार्यहरू,  
फारो र उनका सारा भारदारहरूका विरुद्धमा पठाउनुभयो।   
10 उहाँले धेरै राष्ट्रहरूलाई नाश गर्नुभयो;  
र धेरै शक्तिशाली राजाहरूलाई मार्नुभयो—   
11 एमोरीहरूका राजा सीहोन,  
बाशानका राजा ओग,  
र कनानका सबै राजाहरूलाई नष्ट गर्नुभयो—   
12 अनि तिनीहरूका भूमि पैतृक सम्पत्तिको रूपमा,  
आफ्ना प्रजा इस्राएललाई उत्तराधिकारको रूपमा दिनुभयो।   
   
 
13 हे याहवेह, तपाईंको नाम सदासर्वदा रहिरहन्छ;  
हे याहवेह, तपाईंको ख्याति पुस्तौँ-पुस्तासम्म रहिरहन्छ।   
14 किनकि याहवेहले आफ्ना मानिसहरूलाई निर्दोष प्रमाणित गर्नुहुनेछ,  
र आफ्ना सेवकहरूमाथि करुणा देखाउनुहुनेछ।   
   
 
15 जाति-जातिहरूका मूर्तिहरू सुन र चाँदी हुन्,  
ती सबै मानिसहरूका हस्तकला मात्र हुन्।   
16 तिनीहरूका मुख त छन्, तर बोल्न सक्दैनन्;  
आँखा त छन्, तर देख्न सक्दैनन्।   
17 तिनीहरूका कान छन्, तर सुन्न सक्दैनन्;  
न तिनीहरूको मुखमा सास नै छ।   
18 मूर्तिहरूलाई बनाउनेहरू पनि तिनीहरूजस्तै हुनेछन्;  
तिनीहरूमाथि भरोसा गर्नेहरू सबै पनि त्यस्तै हुनेछन्।   
   
 
19 हे सबै इस्राएलका घराना हो, याहवेहलाई प्रशंसा गर;  
हे हारूनका घराना हो, याहवेहलाई प्रशंसा गर;   
20 हे लेवीका घराना हो, याहवेहलाई प्रशंसा गर;  
हे उहाँको डर मान्नेहरू हो, याहवेहलाई प्रशंसा गर।   
21 सियोनबाट याहवेहलाई प्रशंसा होस्!  
यरूशलेममा बास गर्नुहुनेको प्रशंसा होस्!  
   
 
याहवेहको प्रशंसा गर!