भजन 138
सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन। 
 
1 हे याहवेह, सम्पूर्ण हृदयले म तपाईंको प्रशंसा गर्नेछु;  
“देवताहरूका” सामु म तपाईंको प्रशंसाको गीत गाउनेछु।   
2 म तपाईंको पवित्र मन्दिरतिर फर्केर दण्डवत् गर्नेछु;  
अनि तपाईंको अचुक प्रेम र विश्वसनीयताको निम्ति  
तपाईंको नामको प्रशंसा गर्नेछु;  
किनकि तपाईंले आफ्नो आदेश यति उच्च पार्नुभयो कि,  
यसले तपाईंको प्रसिद्धिलाई पनि पार गर्दछ।   
3 जब मैले पुकारेँ, तपाईंले मलाई जवाफ दिनुभयो;  
तपाईंले मलाई बल दिएर ज्यादै साहसी बनाउनुभयो।   
   
 
4 हे याहवेह, तपाईंका आदेशहरू सुनेर,  
यस पृथ्वीका सम्पूर्ण राजाहरूले तपाईंको प्रशंसा गरून्।   
5 तिनीहरूले याहवेहका मार्गहरूको जयजयकार गरून्;  
किनकि याहवेहको महिमा महान् छ।   
   
 
6 याहवेह उच्चमा हुनुभए तापनि उहाँले नम्रहरूमाथि दयाले हेर्नुहुन्छ;  
तर अहङ्कारीहरूलाई भने उहाँले टाढैबाट चिन्नुहुन्छ।   
7 म सङ्कष्टको बीच भएर हिँड्नुपरे तापनि  
तपाईंले मेरो जीवनको रक्षा गर्नुहुन्छ;  
मेरा वैरीहरूका क्रोधको विरुद्धमा तपाईंले हात बढाउनुहुन्छ;  
र तपाईंको दाहिने हातले मलाई बचाउनुहुन्छ।   
8 याहवेहले मलाई निर्दोष प्रमाणित गर्नुहुनेछ;  
हे याहवेह, तपाईंको अचुक प्रेम, सदासर्वदा रहिरहन्छ;  
तपाईंका हातका कामहरूलाई नत्याग्नुहोस्।