भजन 145
दावीदको प्रशंसाको भजन। 
 
1 हे मेरा परमेश्वर, मेरा राजा, म तपाईंलाई उच्च पार्नेछु;  
म सदासर्वदा तपाईंको नामको प्रशंसा गर्नेछु।   
2 हरेक दिन म तपाईंको प्रशंसा गर्नेछु,  
र सदासर्वदा तपाईंको नामको स्तुति गर्नेछु।   
   
 
3 याहवेह महान् र प्रशंसाको अति योग्य हुनुहुन्छ;  
उहाँको महानता अपार छ।   
4 एक पुस्ताले अर्को पुस्तालाई तपाईंका महान् कामहरूको प्रशंसा गर्नेछन्;  
तिनीहरूले तपाईंका शक्तिशाली कामहरूको वर्णन गर्नेछन्।   
5 तिनीहरूले तपाईंका ऐश्वर्यको महिमामय वैभवको वर्णन गर्नेछन्—  
र म तपाईंका आश्चर्यपूर्ण कार्यहरूमा मनन गर्नेछु।   
6 मानिसहरूले तपाईंका अद्भुत कार्यहरूका शक्तिको विषयमा चर्चा गर्नेछन्—  
र म तपाईंका महान् कार्यहरूको घोषणा गर्नेछु।   
7 तिनीहरूले तपाईंको प्रशस्त भलाइको बारेमा उत्सव मनाउनेछन्,  
र तपाईंको धार्मिकताबारे आनन्दले जयजयकार गर्नेछन्।   
   
 
8 याहवेह अनुग्रही र कृपालु हुनुहुन्छ;  
रिसाउनमा ढिलो र अचुक प्रेममा महान् हुनुहुन्छ।   
   
 
9 याहवेह सबैमाथि भलो हुनुहुन्छ;  
र आफ्ना सारा सृष्टिमाथि उहाँले कृपा देखाउनुहुन्छ।   
10 हे याहवेह, तपाईंले सृष्टि गर्नुभएका सबै थोकले तपाईंको प्रशंसा गर्दछन्;  
तपाईंका विश्वासयोग्य जनहरूले तपाईंको स्तुति गर्नेछन्।   
11 तिनीहरूले तपाईंको राज्यको महिमाको वर्णन गर्नेछन्;  
र तपाईंको शक्तिको बखान गर्नेछन्,   
12 ताकि सबै मानिसहरूले तपाईंका शक्तिशाली कार्यहरू,  
र तपाईंका राज्यको महिमामय वैभव थाहा पाऊन्।   
13 तपाईंको राज्य अनन्तको राज्य हो,  
र तपाईंको प्रभुत्व पुस्तौँ-पुस्तासम्म रहिरहन्छ।  
   
 
आफ्ना सबै प्रतिज्ञामा याहवेह भरोसायोग्य हुनुहुन्छ,  
र उहाँले गर्नुहुने सबै थोकप्रति विश्वासयोग्य हुनुहुन्छ।   
14 लडेकाहरू सबैलाई याहवेहले सहारा दिनुहुन्छ;  
दबिएकाहरू सबैलाई उठाउनुहुन्छ।   
15 सबैका आँखाहरूले तपाईंकै बाटो हेर्दछन्;  
अनि तपाईंले तिनीहरूलाई उचित समयमा तिनीहरूको भोजन दिनुहुन्छ।   
16 तपाईंले आफ्नो मुट्ठी खोल्नुहुन्छ,  
र हरेक जीवित प्राणीका इच्छाहरूलाई तृप्त पार्नुहुन्छ।   
   
 
17 याहवेह उहाँका सबै मार्गहरूमा धर्मी हुनुहुन्छ,  
र उहाँले गर्नुहुने सबै थोकप्रति विश्वासयोग्य हुनुहुन्छ।   
18 याहवेहलाई पुकार्ने सबैको नजिक उहाँ हुनुहुन्छ,  
उहाँलाई सत्यतामा पुकार्ने सबैको नजिक उहाँ हुनुहुन्छ।   
19 उहाँको भय मान्नेहरूका इच्छालाई उहाँले पूरा गर्नुहुन्छ;  
उहाँले तिनीहरूको पुकार सुन्नुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ।   
20 उहाँलाई प्रेम गर्ने सबैलाई याहवेहले रक्षा गर्नुहुन्छ;  
तर सबै दुष्टहरूलाई उहाँले नाश पार्नुहुनेछ।   
   
 
21 मेरो मुखले याहवेहको प्रशंसा गर्नेछ;  
हरेक प्राणीले सदासर्वदा  
उहाँको पवित्र नामको प्रशंसा गरून्!