भजन 27
दावीदको भजन। 
 
1 याहवेह मेरो ज्योति र मेरो मुक्ति हुनुहुन्छ;  
मैले कसको भय मान्नु?  
याहवेह नै मेरो जीवनको किल्ला हुनुहुन्छ;  
म कोसँग भयभीत हुनु?   
   
 
2 जब दुष्टहरू मलाई आक्रमण गर्न  
मेरो विरुद्धमा अगि बढ्छन्,  
जब मेरा शत्रुहरू र मेरा वैरीहरू ममाथि आइलाग्दछन्;  
तब तिनीहरू ठक्कर खाएर लड्नेछन्।   
3 सेनाले मेरो विरुद्धमा छाउनी बनाए तापनि  
मेरो हृदय डराउनेछैनँ;  
मेरो विरुद्धमा लडाइँ चले तापनि  
त्यस बेलामा पनि म पूरा निर्धक्क रहनेछु।   
   
 
4 याहवेहसँग म एउटै कुरा माग्दछु,  
म त्यसैको मात्र खोजी गर्दछु:  
कि म आजीवन याहवेहको भवनमा रहन पाऊँ,  
उहाँको सुन्दरता हेर्न पाऊँ,  
र याहवेहको भवनमा उहाँलाई खोजी गर्न पाऊँ।   
5 किनकि सङ्कष्टका दिनमा  
उहाँले मलाई उहाँको वासस्थानमा सुरक्षित राख्नुहुनेछ;  
उहाँले आफ्नो पवित्र वासस्थानको छहारीमा मलाई लुकाउनुहुनेछ;  
र एउटा चट्टानमाथि उच्च राख्नुहुनेछ।   
   
 
6 तब मेरो वरिपरिका शत्रुहरूमाथि  
मेरो शिर उच्च पारिनेछ;  
उहाँको पवित्र वासस्थानमा म आनन्दको सोर सुनाउँदै बलिदान चढाउनेछु;  
म भजन गाउनेछु, र याहवेहलाई प्रशंसा गर्नेछु।   
   
 
7 हे याहवेह, जब म पुकार गर्छु, मेरो सोर सुन्नुहोस्;  
ममाथि कृपालु हुनुहोस् र मलाई जवाफ दिनुहोस्।   
8 मेरो हृदयले तपाईंको विषयमा भन्दछ, “उहाँको मुहारको खोजी गर्।”  
हे याहवेह, म तपाईंको मुहारको खोजी गर्नेछु।   
9 मबाट तपाईंको मुहार नलुकाउनुहोस्;  
तपाईंको सेवकलाई क्रोधमा नहटाउनुहोस्;  
तपाईं मेरा सहायक हुनुभएको छ।  
हे परमेश्वर, मेरा मुक्तिदाता,  
मलाई नत्याग्नुहोस्; मलाई तिरस्कार नगर्नुहोस्।   
10 मेरा बुबाआमाले मलाई त्यागे तापनि  
याहवेहले मलाई सम्हाल्नुहुनेछ।   
11 हे याहवेह, मलाई तपाईंका मार्ग सिकाउनुहोस्;  
र मलाई अत्याचार गर्ने मानिसहरूको कारण,  
मलाई सोझो मार्गमा अगुवाइ गर्नुहोस्।   
12 मेरा वैरीहरूका इच्छामा मलाई नछोडिदिनुहोस्;  
किनकि मेरो विरुद्धमा झूटा साक्षीहरू खडा भएका छन्,  
तिनीहरू खराब आरोप लगाउँछन्।   
   
 
13 म यसमा अझ विश्वस्त छु:  
म जीवितहरूको देशमा  
याहवेहको भलाइ देख्नेछु।   
14 याहवेहको प्रतीक्षा गर;  
बलियो र हृदयमा साहसिलो होऊ;  
र याहवेहको प्रतीक्षा गर।