*
भजन 37
दावीदको भजन।
दुष्‍ट काम गर्ने मानिसहरूलाई देखेर झर्को नमान,
वा दुष्‍ट काम गर्नेहरूप्रति डाही नहोऊ;
किनकि तिनीहरू त चाँडै घाँसजस्तै ओइलाउनेछन्,
हरिया बिरुवाहरूजस्तै तिनीहरू चाँडै नष्‍ट हुनेछन्।
 
याहवेहमा भरोसा राख, र भलाइ गर;
ताकि देशमा आनन्दसाथ बस्‍न सक।
याहवेहमा आनन्दित होऊ;
र उहाँले तिम्रो हृदयका इच्छाहरू पूरा गरिदिनुहुनेछ।
 
तिम्रो आफ्नो मार्ग याहवेहलाई सुम्प;
उहाँमा नै भरोसा राख; र उहाँले यो गर्नुहुनेछ:
उहाँले तिम्रो धार्मिकता प्रभातको ज्योतिसमान
र तिम्रो न्याय मध्यदिनको सूर्यसमान पार्नुहुनेछ।
 
याहवेहको सामु मौन भई बस,
र धैर्यतापूर्वक उहाँको प्रतीक्षा गर;
जब मानिसहरू आफ्ना कुमार्गहरूमा सफल हुन्छन्,
तब तिनीहरूका खराब योजनाहरू सफल हुँदा झर्को नमान।
 
रिसबाट टाढा होऊ, र क्रोधबाट फर्क;
झर्को नमान—यसले खराबीतिर मात्र डोर्‍याउँछ।
किनकि दुष्‍टहरू नष्‍ट पारिनेछन्;
तर याहवेहको प्रतीक्षा गर्नेहरूले देशमा अधिकार गर्नेछन्।
 
10 थोरै समय मात्र बाँकी छ, र दुष्‍टहरू रहनेछैनन्;
तिमीले तिनीहरूलाई खोजे तापनि तिनीहरू भेट्टाइनेछैनन्।
11 तर नम्रहरूले देश अधिकार गर्नेछन्,
र शान्ति र प्रशस्ततामा जिउनेछन्।
 
12 दुष्‍टहरूले धर्मी जनका विरुद्धमा षड्यन्त्र रच्दछन्,
र तिनीहरूले तिनीहरूमाथि दाह्रा किट्दछन्;
13 तर प्रभु दुष्‍टहरूमाथि हाँस्‍नुहुन्छ;
किनकि उहाँले तिनीहरूको दिन आइरहेको जान्‍नुहुन्छ।
 
14 दुःखी र खाँचोमा परेकाहरूलाई ढाल्न,
र सत्यको बाटोमा जिउनेहरूलाई मार्न,
दुष्‍टहरूले तरवार थुत्छन्,
र धनुमा ताँदो चढाउँछन्।
15 तर तिनीहरूका तरवारले तिनीहरूकै मुटु छेडिनेछ,
र तिनीहरूका धनुहरू भाँचिनेछन्।
 
16 दुष्‍टहरूका धेरै सम्पत्तिभन्दा
धर्मी जनहरूसँग भएको थोरै कुरा उत्तम हो;
17 किनकि दुष्‍टहरूको शक्ति तोडिनेछन्,
तर याहवेहले धर्मीहरूलाई थामिराख्नुहुन्छ।
 
18 निर्दोष मानिसहरूले याहवेहको सुरक्षामा आफ्ना दिन बिताउँछन्,
र तिनीहरूको अधिकार सदासर्वदा रहनेछ।
19 आपत्‌को दिनमा तिनीहरू शर्ममा पर्नेछैनन्;
अनिकालको दिनमा तिनीहरूसँग प्रशस्त खानेकुरा हुनेछ।
 
20 तर दुष्‍टहरूचाहिँ नष्‍ट हुनेछन्:
याहवेहका शत्रुहरूचाहिँ खेतका फूलहरूजस्तै भए तापनि
तिनीहरू भष्म हुनेछन्, तिनीहरू धुवाँजस्तै लोप हुनेछन्।
 
21 दुष्‍टहरूले ऋण लिन्छन् र फर्काउँदैनन्;
तर धर्मीहरूले उदारतापूर्वक दिन्छन्।
22 याहवेहबाट आशिष् पाउनेहरूले देश अधिकार गर्नेछन्;
तर उहाँबाट श्राप पाउनेहरूचाहिँ नष्‍ट हुनेछन्।
 
23 याहवेहमा आनन्दित हुने मानिसका
पाइलाहरूलाई उहाँले दह्रिलो पार्नुहुन्छ;
24 त्यसले ठेस खाए तापनि त्यो लड्नेछैन;
किनकि याहवेहले त्यसलाई आफ्नो हातले थाम्नुहुन्छ।
 
25 म जवान थिएँ र अहिले वृद्ध भएको छु;
तर धर्मी जनहरू त्यागिएका
वा तिनका सन्तानहरूले मागेर खानुपरेको मैले कहिल्यै देखेको छैन।
26 तिनीहरू सधैँ उदार चित्तका हुन्छन्, र खुल्‍ला मनले दिन्छन्;
तिनीहरूका सन्तान आशिषित हुनेछन्।
 
27 दुष्‍टताबाट फर्क र भलाइ गर;
अनि तिमी देशमा सदासर्वदा बास गर्नेछौ।
28 किनकि याहवेहले न्यायीलाई प्रेम गर्नुहुन्छ,
र आफ्ना विश्‍वासयोग्यहरूलाई त्याग्नुहुन्‍न।
 
तिनीहरू सधैँका लागि सुरक्षित पारिनेछन्;
तर दुष्‍टका सन्तानहरू नष्‍ट भएर जानेछन्।
29 धर्मी जनहरूले देशमा अधिकार गर्नेछन्,
र त्यसमा सदासर्वदा बास गर्नेछन्।
 
30 धर्मीका मुखबाट बुद्धिका कुरा गर्छन्,
र त्यसको जिब्रोले न्यायको कुरा बोल्छ।
31 त्यसको हृदयमा त्यसका परमेश्‍वरको व्यवस्था हुन्छ;
त्यसका खुट्टाहरू चिप्लँदैनन्।
 
32 दुष्‍टले धर्मीको बाटोमा पासो थापेर बस्छ,
र त्यसलाई मार्ने उद्देश्य राख्दछ;
33 तर याहवेहले धर्मी जनलाई दुष्‍टहरूको शक्तिमा छोड्नुहुनेछैन,
न त न्याय हुँदा धर्मीलाई दोषी ठहरिन अनुमति दिनुहुन्छ।
 
34 याहवेहमा आशा गर
र उहाँकै मार्गमा हिँड;
प्रतिज्ञाको देश अधिकार गर्न उहाँले तिमीलाई उचाल्नुहुनेछ।
दुष्‍टको विनाश तिम्रै आँखाले देख्नेछौ।
 
35 मैले एक जना दुष्‍ट र निर्दयी मानिसलाई
आफ्नै जमिनमा उम्रेर सप्रेको बोटजस्तै देखेको छु,
36 तर त्यो चाँडै मर्‍यो, र यसको ठाउँमा केही पनि रहेन;
यद्यपि मैले त्यसलाई खोजेँ, तर भेट्टाउन सकिनँ।
 
37 निर्दोष मानिसलाई विचार गर, र धर्मी मानिसलाई हेर;
किनभने शान्तिप्रिय मानिसहरूका निम्ति सन्तति हुनेछन्।
38 तर सबै पापीहरू नष्‍ट हुनेछन्;
दुष्‍टहरूका निम्ति कुनै सन्तति हुनेछैन।
 
39 धर्मी जनहरूको मुक्ति याहवेहबाट आउँछ;
सङ्कष्‍टको समयमा उहाँ नै तिनीहरूको किल्‍ला हुनुहुन्छ।
40 याहवेहले तिनीहरूलाई मदत गर्नुहुन्छ, र तिनीहरूको उद्धार गर्नुहुन्छ;
उहाँले तिनीहरूलाई दुष्‍टबाट उद्धार गर्नुहुन्छ र बचाउनुहुन्छ;
किनभने तिनीहरूले उहाँमा शरण लिन्छन्।
* भजन 37: यो भजनका पदहरू हिब्रू वर्णमालाका क्रमिक अक्षरहरूबाट सुरु हुन्छन्।