भजन 40
सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन। 
 
1 मैले धीरजसाथ याहवेहको प्रतीक्षा गरेँ;  
उहाँ मतिर फर्कनुभयो र मेरो पुकार सुन्नुभयो।   
2 उहाँले मलाई खाडलबाट,  
दलदले हिलोबाट तानेर निकाल्नुभयो;  
उहाँले मेरा खुट्टाहरू चट्टानमाथि बसाल्नुभयो;  
र मलाई उभिन स्थिर स्थान दिनुभयो।   
3 उहाँले मेरो मुखमा एउटा नयाँ गीत हालिदिनुभयो;  
हाम्रा परमेश्वरका प्रशंसाको एउटा गीत।  
धेरै जनाले यो देख्नेछन्, र याहवेहको भय मान्नेछन्,  
र उहाँमाथि भरोसा राख्नेछन्।   
   
 
4 धन्य हो त्यो मानिस,  
जसले याहवेहमा आफ्नो भरोसा राख्दछ,  
जसले घमण्डीहरूमा भरोसा राख्दैनन्,  
जो झूटो देवहरूपट्टि लाग्दैनन्।   
5 हे याहवेह, मेरा परमेश्वर,  
तपाईंले गर्नुभएका अद्भुत कार्यहरू धेरै छन्;  
तपाईंले हाम्रो निम्ति गर्नुभएका योजनाहरू धेरै छन्।  
तपाईंको तुलना कसैसँग गर्न सकिँदैन;  
मैले तपाईंका कामहरूका बारेमा वर्णन गर्नुपर्यो भने,  
ती घोषणा गर्न असंख्य हुनेछन्।   
   
 
6 तपाईंले बलिदान र भेटी चाहनुभएन,  
तर मेरा कानहरू तपाईंले खोलिदिनुभएको छ,  
तपाईंले होमबलि र पाप शुद्धीकरण बलि चाहनुभएन।   
7 तब मैले भनेँ, “हेर्नुहोस्, म आएको छु,  
धर्मशास्त्रमा मेरो विषयमा यस्तै लेखिएको छ।   
8 म तपाईंको इच्छा पूरा गर्न चाहन्छु, हे मेरा परमेश्वर;  
तपाईंको व्यवस्था मेरो हृदयभित्र छ।”   
   
 
9 म ठूलो महासभामा तपाईंको धार्मिकताको घोषणा गर्छु;  
म मेरा ओठहरू बन्द गर्नेछैनँ;  
हे याहवेह, तपाईंले यो जान्नुहुन्छ।   
10 तपाईंको धार्मिकता म मेरो हृदयमा लुकाउँदिनँ;  
तपाईंको विश्वासयोग्यता र तपाईंको मुक्तिको विषयमा म बोल्छु।  
तपाईंको अचुक प्रेम र तपाईंको सत्यता  
म ठूलो महासभामा लुकाउँदिनँ।   
   
 
11 हे याहवेह, तपाईंको कृपा मदेखि नरोक्नुहोस्;  
तपाईंको अचुक प्रेम र तपाईंको विश्वासयोग्यताले मलाई निरन्तर रक्षा गरून्।   
12 किनकि असंख्य कष्टहरूले मलाई चारैतिर घेरेका छन्;  
मेरा अपराधहरू यतिसम्म थुप्रिएका छन्, कि म देख्न पनि सक्दिनँ।  
ती मेरा शिरका केशभन्दा बढी छन्;  
यसैले मेरो हृदय हताश भएको छ।   
13 हे याहवेह, मलाई बचाउन प्रसन्न हुनुहोस्;  
हे याहवेह, मलाई मदत गर्न चाँडै आउनुहोस्!   
   
 
14 मेरो प्राण लिन खोज्नेहरू  
सबै जना शर्ममा र अन्योलमा परून्;  
मेरो विनाश चाहनेहरू सबै  
पिठिउँ फर्काएर भागून् र अपमानित होऊन्!   
15 मलाई “खुच्चिङ! खुच्चिङ!” भन्नेहरू  
सबै लाजले गर्दा व्याकुल होऊन्।   
16 तर तपाईंलाई खोज्नेहरू सबै,  
तपाईंमा रमाऊन् र आनन्दित होऊन्;  
तपाईंको मुक्तिको चाहना गर्नेहरू सबैले सधैँ यसो भनून्,  
“याहवेह महान् हुनुहुन्छ!”   
   
 
17 तर म त गरिबी र अभावमा छु;  
प्रभुले मेरो बारेमा विचार गरिदिनुहोस्।  
तपाईं मेरा सहायक र मलाई छुटाउने हुनुहुन्छ;  
हे मेरा परमेश्वर, ढिलो नगर्नुहोस्।