दोस्रो खण्ड  
 42
भजनसंग्रह 42–72   
सङ्गीत निर्देशकको निम्ति, कोरहका छोराहरूका मस्किल। 
 
1 जसरी हरिणले खोलाको पानीको तिर्सना गर्दछ,  
त्यसरी नै हे मेरा परमेश्वर, म तपाईंको तिर्सना गर्दछु।   
2 मेरो प्राण परमेश्वरको निम्ति, जीवित परमेश्वरको निम्ति तिर्खाउँछ।  
म कहिले जाऊँ र परमेश्वरलाई भेटूँ?   
3 मेरो आँसु दिनरात  
मेरो भोजन बनेको छ,  
मानिसहरू निरन्तर मलाई भनिरहन्छन्,  
“खोइ त तेरो परमेश्वर?”   
4 मेरो हृदयका कुराहरू पोखाउँदा,  
यी कुराहरू म सम्झन्छु:  
कसरी ती उत्सव मनाउने जन समूहहरूसँग  
जयजयकार र धन्यवादसाथ,  
महान् परमेश्वरको सुरक्षामा म अगुवा भएर  
तिनीहरूलाई परमेश्वरको भवनतर्फ लाने गर्थेँ।   
   
 
5 हे मेरो प्राण, तँ किन उदास हुन्छस्?  
मेरो अन्तस्करण तँ किन यति व्याकुल हुन्छस्?  
परमेश्वरमा आशा राख्,  
हे मेरा मुक्तिदाता, हे मेरा परमेश्वर,  
म अझै पनि तपाईंको प्रशंसा गर्नेछु।   
   
 
6 मेरो प्राण मभित्र उदास भएको छ;  
यसकारण म यर्दनको देशबाट  
हेर्मोन पर्वत—मिसारको डाँडाबाट  
तपाईंलाई सम्झनेछु।   
7 तपाईंको छाँगाहरूका गर्जनमा,  
सागरले सागरलाई पुकार्दछ;  
तपाईंका सम्पूर्ण छालहरू र तरङ्गहरूले  
मलाई छोपेका छन्।   
   
 
8 याहवेहले दिनमा उहाँको अचुक प्रेम पठाउनुहुन्छ,  
राति उहाँले मलाई एउटा गीत दिनुहुन्छ,  
जुनचाहिँ मेरो जीवनको परमेश्वरलाई प्रार्थना हो।   
   
 
9 परमेश्वर मेरा चट्टानलाई म भन्छु,  
“तपाईंले मलाई किन बिर्सनुभएको?  
शत्रुको थिचोमिचोले गर्दा  
म किन शोक गरेर हिँडिरहनुपर्ने?”   
10 मेरा हाडहरूमा गहिरो चोट पर्छ,  
जब मेरा वैरीहरूले  
मलाई गिल्ला गर्दै दिनभरि भन्छन्,  
“खोइ त तेरो परमेश्वर?”   
   
 
11 हे मेरो प्राण, तँ किन उदास हुन्छस्?  
हे मेरो अन्तस्करण, तँ किन यति धेरै व्याकुल हुन्छस्?  
परमेश्वरमा आशा राख्,  
हे मेरा मुक्तिदाता, हे मेरा परमेश्वर,  
म अझै पनि तपाईंको प्रशंसा गर्नेछु।