भजन 5
सङ्गीत निर्देशकको निम्ति बाँसुरीसहित गाइने, दावीदको भजन। 
 
1 हे याहवेह, मेरा शब्दहरूमा कान लगाइदिनुहोस्;  
मेरो सुस्केरामा ध्यान दिनुहोस्।   
2 हे मेरा राजा, मेरा परमेश्वर,  
सहायताको निम्ति मेरो पुकार सुनिदिनुहोस्;  
किनकि तपाईंलाई म प्रार्थना गर्दछु।   
   
 
3 हे याहवेह, बिहानै तपाईंले मेरो सोर सुन्नुहुन्छ;  
सबेरै तपाईंको अगि मेरो बिन्ती राख्दछु,  
र आशामा प्रतीक्षा गर्दछु।   
4 तपाईं दुष्टतासँग प्रसन्न हुनुहुने परमेश्वर हुनुहुन्न;  
दुष्ट मानिसहरू तपाईंसँग बास गर्न सक्दैनन्।   
5 घमण्डी मानिसहरू तपाईंको सामु खडा हुन सक्दैनन्।  
दुष्ट काम गर्नेहरू सबैलाई  
तपाईं घृणा गर्नुहुन्छ।   
6 झूटो बोल्नेहरूलाई तपाईंले नष्ट पार्नुहुन्छ;  
रक्तपात गर्ने र छलीहरूलाई  
तपाईं याहवेहले घृणा गर्नुहुन्छ।   
7 तर मचाहिँ तपाईंको अचुक प्रेमद्वारा  
तपाईंको भवनभित्र आउनेछु;  
तपाईंको पवित्र मन्दिरतिर  
म श्रद्धासाथ दण्डवत् गर्नेछु।   
   
 
8 हे याहवेह, तपाईंको धार्मिकतामा मलाई डोर्याउनुहोस्;  
मेरा शत्रुहरूका कारण,  
तपाईंको मार्ग मेरो सामु सोझो पारिदिनुहोस्।   
9 तिनीहरूका मुखका एउटै शब्दमा पनि सत्यता छैन;  
तिनीहरूका हृदय विनाशले भरिएको छ।  
तिनीहरूका घोक्रो खुल्ला चिहानजस्तै छ;  
तिनीहरूका जिब्राले छलका कुरा बोल्छन्।   
10 हे परमेश्वर, तिनीहरूलाई दोषी ठहराउनुहोस्;  
तिनीहरूका आफ्नै जाल पतनको कारण होस्।  
तिनीहरूका अनेक अपराधको कारण तिनीहरूलाई त्यागिदिनुहोस्;  
किनकि तिनीहरूले तपाईंका विरुद्धमा विद्रोह गरेका छन्।   
11 तर तपाईंमा शरण लिनेहरूचाहिँ खुशी होऊन्;  
र तिनीहरू आनन्दले गीत गाऊन्।  
तपाईंले नै तिनीहरूको रक्षा गर्नुहोस्;  
र तपाईंको नामलाई प्रेम गर्नेहरू तपाईंमा आनन्दित होऊन्।   
   
 
12 निश्चय नै, हे याहवेह, तपाईंले धर्मीहरूलाई आशिष् दिनुहुन्छ;  
तपाईंले ढाललेझैँ, तपाईंको कृपादृष्टिले तिनीहरूलाई घेरिराख्नुहुन्छ।