भजन 64
सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन। 
 
1 हे मेरा परमेश्वर, मैले गुनासो गर्दा मेरो सोर सुन्नुहोस्;  
शत्रुको धम्कीबाट मेरो प्राणलाई बचाउनुहोस्!   
   
 
2 दुष्टहरूको गुप्त पासोहरूबाट  
कुकर्मीहरूको षड्यन्त्रहरूबाट मलाई लुकाउनुहोस्!   
3 तिनीहरूले आफ्नो जिब्रोलाई तरवारझैँ धारिलो पार्छन्,  
र तिनीहरूका निर्दयी शब्दहरूले प्राणघातक काँडझैँ ताकेका छन्।   
4 तिनीहरूले निर्दोषहरूलाई ढुकि पासोमा पारेर काँड हान्छन्;  
तिनीहरूले डरैविना अचानक काँड हान्छन्।   
   
 
5 तिनीहरूले एक-अर्कालाई आफ्ना दुष्ट षड्यन्त्रहरूबाट प्रोत्साहन दिन्छन्;  
तिनीहरूले लुकाएर पासो थाप्ने कुरा गर्छन्;  
तिनीहरूले भन्छन्, “यसलाई कसले देख्छ र?”   
6 तिनीहरू अन्याय रच्छन् र भन्छन्,  
“हामीले सिद्ध योजना बनाएका छौँ!”  
मानिसको मन र हृदय साँच्चै धूर्त छ।   
   
 
7 तर परमेश्वरले उहाँका काँडहरूले तिनीहरूलाई हान्नुहुनेछ;  
तिनीहरू अचानक घाइते हुनेछन्।   
8 उहाँले तिनीहरूका जिब्रोलाई तिनीहरूकै विरुद्धमा बोल्न लगाउनुहुनेछ,  
र तिनीहरूलाई नष्ट पार्नुहुनेछ;  
तिनीहरूलाई देख्ने सबैले गिल्ला गर्दै टाउको हल्लाउनेछन्।   
9 सबै मानिसहरू परमेश्वरसँग डराउनेछन्;  
तिनीहरूले परमेश्वरको कामको घोषणा गर्नेछन्;  
र उहाँले गर्नुभएका कामहरू विचार गर्नेछन्।   
   
 
10 धर्मी जनहरू याहवेहमा आनन्दित हुनेछन्,  
र उहाँमा शरण लिनेछन्;  
साँचो हृदय भएकाहरू सबैले उहाँको महिमा गर्नेछन्!