भजन 72
सोलोमनको भजन। 
 
1 हे परमेश्वर, राजालाई तपाईंको न्याय,  
र राजाका छोरालाई तपाईंको धार्मिकता दिनुहोस्।   
2 राजाले तपाईंका मानिसहरूलाई धार्मिकतासाथ  
र तपाईंका पीडित जनहरूलाई धार्मिकतासाथ न्याय गरून्।   
   
 
3 पर्वतहरूले मानिसहरूका लागि समृद्धि ल्याऊन्;  
पहाडहरूले धार्मिकताका फल ल्याऊन्।   
4 उहाँले पीडितलाई मानिसहरूबीच रक्षा गरून्,  
र अभावमा हुनेहरूका सन्तानहरूलाई बचाऊन्;  
उहाँले अत्याचारीहरूलाई नाश गरून्।   
5 जबसम्म सूर्य रहन्छ, र जबसम्म चन्द्रमा रहन्छ,  
सबै पुस्ताका मानिसहरूले राजाको भय मानून्।   
6 तिनी काटिएको घाँसको चउरमाथि बर्सने पानीजस्तै,  
र जमिनलाई भिजाउन सिँचाइ गरिने झरीहरूझैँ होऊन्।   
7 राजाको शासनकालमा धर्मीहरूको उन्नति होस्,  
र चन्द्रमा रहुन्जेल देशमा प्रसस्तता होस्।   
   
 
8 राजाले एक समुद्रदेखि अर्को समुद्रसम्म, यूफ्रेटिस नदीदेखि  
पृथ्वीको अन्तिम छेउ-छाउसम्म शासन गरून्।   
9 राजाको सामु मरुभूमिमा बस्नेहरूले दण्डवत् गरून्,  
र उनका शत्रुहरूले धुलो चाटून्।   
10 तर्शीश र टाढा सामुद्रिक किनारका राजाहरूले  
उनलाई सलामी ल्याऊन्;  
शेबा र सेबाका राजाहरूले  
उनलाई भेटी चढाऊन्।   
11 सबै राजाहरू उनको अगाडि निहुरिऊन्;  
र सबै राष्ट्रहरूले उनको सेवा गरून्।   
   
 
12 किनकि उनले अभावमा हुनेहरूलाई उद्धार गर्छन्, जसले उहाँलाई पुकार गर्छन्;  
पीडितहरू जसको सहायता गर्ने कोही छैन।   
13 दुर्बल र अभावमा भएकाहरूलाई उनले दया देखाउनेछन्,  
र अभावमा हुनेहरूको प्राण मृत्युदेखि बचाउनेछन्।   
14 उनले तिनीहरूलाई हिंसा र अत्याचारबाट छुटाउनेछन्;  
किनकि उनको दृष्टिमा तिनीहरूको रगत बहुमूल्य छ।   
   
 
15 तिनी दीर्घायु होऊन्!  
तिनलाई शेबाको सुन भेटीस्वरूप दिइयोस्।  
तिनको निम्ति मानिसहरूले सधैँ प्रार्थना गरून्,  
र दिनभरि नै तिनलाई आशिष् देऊन्।   
16 देशभरि नै प्रशस्त अन्न होस्;  
पर्वतका टाकुराहरू समेतलाई प्रभावित पारून्।  
तिनको बाली लेबनानझैँ फस्टाओस्;  
र सहरका मानिसहरू जमिनको घाँसझैँ फस्टाऊन्।   
17 तिनको नाम सदासर्वदा रहिरहोस्;  
सूर्य रहुन्जेलसम्म तिनको नाम रहिरहोस्।  
   
 
तब तिनीद्वारा सबै राष्ट्रहरूले आशिष् पाउनेछन्;  
र तिनलाई धन्यका भन्नेछन्।   
   
 
   
 
18 इस्राएलका परमेश्वर, याहवेह परमेश्वरलाई प्रशंसा होस्!  
उहाँले मात्र अचम्मका काम गर्नुहुन्छ।   
19 उहाँको महिमायोग्य नामको सदासर्वदा प्रशंसा होस्;  
उहाँको महिमाले सारा पृथ्वी भरियोस्।   
आमेन! आमेन!  
   
 
   
 
20 यिशैका छोरा दावीदका प्रार्थनाहरू यहीँ समाप्त हुन्छ।