भजन 87
एउटा गीत, कोरहका छोराहरूका भजन।
1 याहवेहले आफ्नो जग पवित्र पर्वतमा स्थापित गर्नुभएको छ।
2 याकोबका सबै वासस्थानहरूलाई भन्दा उहाँले
सियोनका ढोकाहरूलाई बढी प्रेम गर्नुहुन्छ।
 
3 हे परमेश्‍वरको सहर,
तेरो विषयमा प्रशंसामय कुराहरू भनिएका छन्:
सेला
4 “मलाई स्वीकार गर्नेहरूमध्ये
राहाब* र बेबिलोनलाई म सूचीमा राख्नेछु—
पलिश्ती, टायर र कूशलाई† समेत
भन्‍नेछु, ‘योचाहिँ सियोनमा जन्मेको थियो।’ ”
5 वास्तवमा सियोनको विषयमा चाहिँ यो भनिनेछ,
“यो र त्यो त्यहीँ जन्मेका थिए,
अनि सर्वोच्‍च परमेश्‍वरले नै त्यसलाई स्थापना गर्नुहुनेछ।”
6 याहवेहले जाति-जातिहरूका नाम दर्ता-पुस्तकमा लेख्नुहुनेछ:
“यसको जन्म सियोनमा भएको हो।”
सेला
 
7 सङ्गीत बजाउँदा तिनीहरूले गाउनेछन्:
“मेरा सबै आशिष्‌का मूलहरू तँमा नै छन्।”
* भजन 87:4 इजिप्टको कवितात्मक नाम हो † भजन 87:4 अर्थात्, नील नदीको माथिल्‍लो क्षेत्रको भू-भाग