चौथो खण्ड  
 90
भजनसंग्रह 90–106  
परमेश्वरका जन मोशाको प्रार्थना। 
 
1 हे प्रभु, पुस्तौँ-पुस्तादेखि  
तपाईं हाम्रा वासस्थान हुनुभएको छ।   
2 पहाडहरू उत्पन्न हुनुभन्दा अगि,  
अथवा तपाईंले पृथ्वी र संसारलाई अस्तित्वमा ल्याउन अगि,  
अनादिदेखि अनन्तसम्म, तपाईं नै परमेश्वर हुनुहुन्छ।   
   
 
3 तपाईंले यसो भनेर मानिसलाई पुनः धुलोमा फर्काउनुहुन्छ,  
“ए मरणशील मानिस हो, धुलोमा फर्किजाओ!”   
4 तपाईंको दृष्टिमा एक हजार वर्ष  
अहिले बितिगएको एक दिनजस्तै,  
अथवा रातको एक पहरजस्तै छ।   
5 तापनि तपाईंले मानिसहरूलाई बाढीले लगेझैँ मृत्युको निद्रामा लैजानुहुन्छ—  
तिनीहरू बिहान पलाउने नयाँ घाँसजस्तै छन्:   
6 त्यो बिहान नयाँ भएर मौलाउँछ;  
तर बेलुकी त्यो सुक्छ र ओइलाउँछ।   
   
 
7 तपाईंको क्रोधले हामी नष्ट भएका छौँ,  
र तपाईंको क्रोधले हामी भयभीत हुन्छौँ।   
8 तपाईंले हाम्रा अधर्महरू तपाईंकै सामु राख्नुभएको छ,  
हाम्रा गुप्त पापहरू तपाईंका उपस्थितिको प्रकाशमा छन्।   
9 हाम्रा सारा दिनहरू तपाईंको क्रोधमुनि बित्दछन्;  
हामी आफ्ना वर्षहरू विलापमा बिताउँछौँ।   
10 हाम्रो आयु त सत्तरी वर्ष मात्र हो,  
अथवा बलले साथ दियो भने, असीसम्म;  
तापनि त्यसको उत्तम अवधि पनि कष्ट र शोकमा बित्छ;  
किनकि आयुचाहिँ चाँडै बितिजान्छ, र हामी उडिजान्छौँ।   
11 तपाईंको आक्रोशको शक्ति कसले बुझ्न सकेको छ र?  
किनकि तपाईंको क्रोध तपाईंलाई दिनुपर्ने भय जत्तिकै ठूलो छ।   
12 हामीलाई हाम्रा दिनहरू गन्न सिकाउनुहोस्,  
ताकि हामीले बुद्धिको हृदय प्राप्त गर्न सकौँ!   
   
 
13 हे याहवेह, दयालु बनिदिनुहोस्; कहिलेसम्म तपाईं ढिलो गर्नुहुन्छ?  
आफ्ना सेवकहरूमाथि दया गर्नुहोस्!   
14 हरेक बिहानले मेरो निम्ति तपाईंको अचुक प्रेमको वचन ल्याओस्,  
र हामी सारा जीवनभरि रमाएर गीत गाउन सकौँ र खुशी हुन सकौँ।   
15 जति दिन तपाईंले हामीलाई कष्ट दिनुभयो, र जति वर्ष दुःख भोग्यौँ,  
त्यहीअनुसार हामीलाई खुशी तुल्याउनुहोस्!   
16 तपाईंका कार्यहरू तपाईंका सेवकहरूलाई देखाइयोस्,  
तपाईंको वैभव तिनीहरूका छोराछोरीकहाँ प्रकट होस्!   
   
 
17 प्रभु हाम्रा परमेश्वरको निगाह हामीमाथि रहोस्;  
हाम्रा हातका काम हाम्रा निम्ति सुदृढ पारिऊन्—  
हो, हाम्रा हातका कामहरू सुदृढ पारिऊन्!