10
शाऊलले आत्महत्या गरेको 
 
1 पलिश्तीहरूले इस्राएलीहरूको विरुद्धमा युद्ध गरे; इस्राएलीहरू पलिश्तीहरूको सामुबाट भागे र धेरै जना गिल्बो पर्वतमा मारिए।  
2 पलिश्तीहरूले शाऊल र तिनका छोराहरूलाई खेदेर पक्रे; अनि तिनीहरूले तिनका छोराहरू जोनाथन, अबीनादाब र मल्की-शूअलाई मारे।  
3 शाऊलको चारैतिर युद्धले भयङ्ककर रूप लियो। अनि जब धनुर्धारीहरू तिनीमाथि जाइलागे, तब उनीहरूले तिनलाई घाइते बनाए।   
4 शाऊलले आफ्ना हतियार बोक्नेलाई भने, “आफ्नो तरवार थुतेर मलाई रोप्, नत्रता यी खतना नभएकाहरू आएर मेरो खिल्ली उडाउनेछन् र मार्नेछन्।”  
तर तिनको हतियार बोक्ने डरायो र त्यसो गर्ने आँट गरेन। त्यसकारण शाऊलले आफ्नो तरवार थुते, र त्यसैमा उनिएर मरे।  
5 जब त्यस हतियार बोक्नेले शाऊललाई मरेको देख्यो, तब त्यसले पनि आफ्नो तरवारले आफैँलाई रोप्यो र मर्यो।  
6 यसरी शाऊल र तिनका तीन जना छोराहरू मरे। तिनको सम्पूर्ण घराना एकैसाथ मरे।   
7 जब बेँसीमा भएका सारा इस्राएलीहरूले सेनाहरू भागिरहेका, र शाऊल र तिनका छोराहरू मरेका देखे, तब तिनीहरू आफ्ना सहरहरू छोडेर भागे। अनि पलिश्तीहरू आएर तिनीहरूका सहरहरू कब्जा गरे।   
8 भोलिपल्ट जब पलिश्तीहरू मरेकाहरूका माल लुट्न आए, तब तिनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्बो पर्वतमा मारिएका भेट्टाए।  
9 तिनीहरूले तिनलाई नाङ्गो पारेर तिनको टाउको र हतियार लगे। यो खबर तिनीहरूका मूर्तिहरू र तिनीहरूका मानिसहरूका बीचमा घोषणा गर्नलाई पलिश्तीहरूको देशभरि दूतहरू पठाए।  
10 तिनीहरूले शाऊलका हतियार आफ्ना देवताहरूको मन्दिरमा राखे, र तिनको टाउकोलाई चाहिँ आफ्ना देवता दागोनको मन्दिरमा झुण्ड्याए।   
11 जब याबेश-गिलादका सबै बासिन्दाहरूले शाऊललाई पलिश्तीहरूले के गरेका थिए भन्ने सुने,  
12 तब तिनीहरूका सबै वीर मानिसहरू गएर शाऊल र तिनका छोराहरूका मृत शरीर याबेशमा ल्याए। त्यसपछि उनीहरूले तिनीहरूका हड्डीहरू याबेशको ठूलो रूखमुनि गाडे; र उनीहरू सात दिनसम्म उपवास बसे।   
13 शाऊलको मृत्यु भयो; किनकि तिनी याहवेहप्रति विश्वासयोग्य थिएनन्। त्यसकारण तिनले याहवेहको वचन पालन गरेनन्, तब तिनले अगुवाइको निम्ति तन्त्रमन्त्रको सल्लाह लिए;  
14 तर याहवेहसँग चाहिँ सल्लाह लिएनन्। यसकारण याहवेहको विरोध गरेको पापले गर्दा तिनी मर्नुपर्यो। अनि उहाँले तिनको राज्य यिशैका छोरा दावीदलाई दिनुभयो।