16
सन्दुकको सामु आराधना 
 
1 तिनीहरूले परमेश्वरको सन्दुक ल्याए र दावीदले सन्दुकको निम्ति तयार पारेको विशेष पालभित्र त्यसलाई राखे। तिनीहरूले याहवेहको सामु होमबलि र मेलबलि चढाए।  
2 दावीदले होमबलि र मेलबलि चढाइसकेपछि, तिनले याहवेहको नाममा मानिसहरूलाई आशिष् दिए।  
3 त्यसपछि तिनले हरेक इस्राएली पुरुष र स्त्रीलाई एउटा रोटी, खजूरको डल्ला र किसमिसको झुप्पा दिए।   
4 दावीदले केही लेवीहरूलाई याहवेहको सन्दुकको सामु सेवा गर्न, याहवेह इस्राएलका परमेश्वरलाई आह्वान गर्न, धन्यवाद दिन र प्रशंसा गर्न नियुक्त गरे।  
5 आसापचाहिँ अगुवा थिए; दोस्रो दर्जामा जकरिया, त्यसपछि यीएल, शमीरामोत, यहीएल, मत्तीत्याह, एलिआब, बनायाह, ओबेद-एदोम र यीएल थिए। तिनीहरूले सारङ्गी र वीणा बजाउँथे। आसापले चाहिँ झ्याली बजाउँथे।  
6 अनि बनायाह र यहजीएल पुजारीहरूले नियमित रूपले परमेश्वरको करारको सन्दुकको सामु तुरहीहरू बजाउँथे।   
   
 
7 त्यस दिन पहिलो पटक दावीदले याहवेहलाई धन्यवादको भजन चढाउन आसाप र तिनका सहयोगीहरूलाई नियुक्त गरे:   
8 याहवेहलाई प्रशंसा देओ, उहाँको नामको घोषणा गर;  
जाति-जातिहरूमा उहाँले गर्नुभएका कार्यहरूको बयान गर।   
9 उहाँको निम्ति गाओ; उहाँको प्रशंसाको गीत गाओ!  
उहाँका सबै अद्भुत कार्यहरूको वर्णन गर!   
10 उहाँको पवित्र नाममा गर्व गर;  
याहवेहलाई खोज्नेहरूका हृदय आनन्दित होऊन्।   
11 याहवेह र उहाँको शक्तिलाई हेर;  
उहाँको मुहारको निरन्तर खोजी गर।   
   
 
12 उहाँले गर्नुभएका अद्भुत कार्यहरू स्मरण गर,  
उहाँका अचम्मका कामहरू, र उहाँले गर्नुभएका फैसलाको सम्झना गर!   
13 हे याहवेहका सेवक इस्राएलका सन्तान हो!  
हे याकोबका छोराहरू, उहाँद्वारा चुनिएकाहरू हो!   
14 उहाँ नै याहवेह हाम्रा परमेश्वर हुनुहुन्छ;  
उहाँका न्यायका कामहरू सारा पृथ्वीमा छ।   
   
 
15 परमेश्वरले आफ्नो करार सदासर्वदा सम्झनुहुन्छ,  
त्यो प्रतिज्ञा, जो उहाँले हजार पुस्ताहरूलाई दिनुभएको थियो;   
16 त्यो करार, जो उहाँले अब्राहामसँग बाँध्नुभएको थियो;  
अनि त्यो शपथ, जो उहाँले इसहाकसँग गर्नुभएको थियो,   
17 त्यो उहाँले याकोबसँग उर्दीको रूपमा,  
र इस्राएलसँग अनन्त करारको रूपमा पक्का गर्नुभयो:   
18 “म तँलाई कनान देश दिनेछु,  
त्यो पैतृक सम्पत्तिको रूपमा तेरो भाग हुनेछ।”   
   
 
19 जब तिनीहरू संख्यामा थोरै थिए,  
अति थोरै र त्यसमाथि पनि परदेशीहरू थिए।   
20 तिनीहरू एउटा राष्ट्रबाट अर्को राष्ट्रमा,  
अनि एउटा राज्यबाट अर्को राज्यमा भौतारिँदै हिँड्थे।   
21 उहाँले कसैलाई तिनीहरूमाथि अत्याचार गर्न दिनुभएन;  
तिनीहरूको खातिर उहाँले राजाहरूलाई यसरी हप्काउनुभयो:   
22 “मेरा अभिषिक्त जनहरूलाई नछोओ;  
मेरा अगमवक्ताहरूलाई केही हानि नगर!”   
   
 
23 हे सारा पृथ्वीका मानिस हो, याहवेहको निम्ति गाओ;  
दिन प्रतिदिनै उहाँले गर्नुभएको उद्धारको घोषणा गर।   
24 जाति-जातिहरूका बीच उहाँका महिमाको घोषणा गर!  
सारा मानिसहरूका बीचमा उहाँका अचम्मका कामहरूको वर्णन गर!   
   
 
25 किनकि याहवेह महान् हुनुहुन्छ, र अति उच्च प्रशंसाको योग्य हुनुहुन्छ;  
सारा देवहरूभन्दा उहाँको भय मान्नुपर्छ।   
26 किनकि जाति-जातिहरूका सबै देवहरू केवल मूर्तिहरू मात्र हुन्;  
तर याहवेहले त स्वर्गहरू सृष्टि गर्नुभयो।   
27 उहाँको सामु गौरव र वैभव छन्;  
उहाँको वासस्थानमा शक्ति र आनन्द छन्।   
   
 
28 हे जाति-जातिहरूका परिवार हो, याहवेहलाई जान,  
याहवेहलाई महिमा र शक्तिको प्रशंसा चढाओ।   
29 याहवेहलाई उहाँको नाम सुहाउँदो महिमा देओ;  
भेटी लिएर उहाँको सामु आओ।  
याहवेहलाई उहाँको पवित्रताको वैभवमा आराधना गर!   
30 हे सारा पृथ्वी, उहाँको सामु थरथर काँप्!  
संसार दृढतासाथ स्थापित भएको छ; यसकारण यो हल्लिन सक्दैन।   
   
 
31 स्वर्गहरूले आनन्द मनाऊन्, पृथ्वी हर्षित होस्!  
तिनीहरूले राष्ट्रहरूको बीचमा भनून्, “याहवेहले शासन गर्नुहुन्छ!”   
32 समुद्र र त्यसमा भएका हरेक प्राणीले जयजयकार गरून्!  
खेतहरू र त्यसमा भएका हरेक थोक हर्षित होऊन्!   
33 तब वनका रूखहरूले गाऊन्,  
तिनीहरूले याहवेहको सामु आनन्दले गाऊन्;  
किनकि उहाँ संसारको न्याय गर्न आउनुहुन्छ।   
   
 
34 याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ;  
उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।   
35 यसो भनेर कराओ, “हे हाम्रा उद्धारकर्ता परमेश्वर, हामीलाई बचाउनुहोस्;  
हामीलाई एक ठाउँमा भेला गर्नुहोस्,  
र हामीलाई अन्य राष्ट्रहरूबाट छुटकारा दिनुहोस्;  
ताकि हामी तपाईंको पवित्र नामलाई धन्यवाद दिन सकौँ,  
र तपाईंको प्रशंसामा गर्व गर्न सकौँ!”   
36 याहवेह, इस्राएलका परमेश्वरलाई  
सदासर्वदा प्रशंसा होइरहोस्!  
तब सबै मानिसहरूले भने, “आमेन” र “याहवेहको प्रशंसा होस्।”   
   
 
37 त्यसपछि दावीदले आसाप र तिनका सहयोगीहरूलाई विधिअनुसार हरेक दिन याहवेहको करारको सन्दुकको सामु नियमित रूपले गर्नुपर्ने सेवा गर्नलाई खटाए।  
38 तिनले यदूतूनका छोरा ओबेद-एदोम र तिनका अठसट्ठी जना सहयोगीहरूलाई पनि तिनीहरूसँग सेवा गर्नलाई खटाए। ओबेद-एदोम र होसा द्वारपालहरू पनि थिए।   
39 दावीदले पुजारी सादोक र तिनका अरू सङ्गी पुजारीहरूलाई गिबोनको अग्लो ठाउँमा याहवेहको समागम पालमा  
40 याहवेहले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थामा लेखिएबमोजिम, बिहान र बेलुकी याहवेहका निम्ति होमबलिको वेदीमा निरन्तर होमबलि चढाउन खटाए।  
41 तिनीहरूसँग हेमान, यदूतून र याहवेहलाई धन्यवाद दिनलाई नामद्वारा चुनिएका र नियुक्त गरिएका अरू बाँकी जनहरू थिए, “किनभने उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।”  
42 हेमान र यदूतूनचाहिँ पवित्र भजनको निम्ति तुरही फुक्ने, झ्याली बजाउने र अरू बाजाहरू बजाउन जिम्मेवार थिए।   
43 त्यसपछि बाँकी सबै मानिसहरू आ-आफ्ना घरतिर लागे; अनि दावीदचाहिँ आफ्नो परिवारलाई आशिष् दिन घर फर्के।