18
दावीदका विजयहरू 
 
1 केही समयपछि, दावीदले पलिश्तीहरूलाई परास्त गरे, र तिनीहरूलाई आफ्नो अधीनमा पारे; अनि तिनले पलिश्तीहरूको अधीनमा रहेका गात र त्यसका चारैतिरका गाउँहरूलाई पनि लिए।   
2 दावीदले मोआबीहरूलाई पनि परास्त गरे; अनि तिनीहरू तिनको अधीनमा भएर तिनलाई राजकर तिरे।   
3 यसबाहेक दावीदले सोबाका राजा हददेजेर यूफ्रेटिस नदीको किनारमा आफ्नो विजयको स्मारक खडा गर्न जाँदा तिनलाई हमातसम्मै जिते।  
4 दावीदले तिनका एक हजार रथ, सात हजार घोडचढीहरू र बीस हजार पैदल सेनाहरूलाई कैद गरे। तिनले एक सय घोडाबाहेक अरू सबै रथका घोडाहरूका खुट्टाका मूलनसा काटिदिए।   
5 जब सोबाका राजा हददेजेरलाई सघाउन दमस्कसका अरामीहरू आए, तब दावीदले तिनीहरूका बाइस हजार मानिसहरूलाई मारे।  
6 तिनले दमस्कसका अरामी सैनिकका बीच मोर्चा बसाले; अनि अरामीहरू तिनका अधीनमा भएर तिनलाई सलामी ल्याए। दावीद जहाँ गए तापनि याहवेहले तिनलाई विजय दिनुभयो।   
7 दावीदले हददेजेरका अधिकारीहरूले बोकेका सुनका ढालहरू लिए, र ती यरूशलेममा ल्याए।  
8 दावीदले हददेजेरका सहरहरू तेबाह र कूनबाट धेरै मात्रामा काँसा ल्याए, जसलाई सोलोमनले काँसाका खड्कुँलो, खम्बाहरू र काँसाका विभिन्न चीजहरू बनाउनमा प्रयोग गरे।   
9 जब हमातका राजा तोऊले सोबाका राजा हददेजेरका सम्पूर्ण सेनालाई दावीदले परास्त गरेको कुरा सुने,  
10 तब तिनले आफ्नो छोरा हदोरामलाई दावीदले हददेजेरमाथि विजय पाएकोमा दावीदलाई बधाई दिन भनी पठाए; किनभने हददेजेर तोऊसँग युद्ध लडिरहेका थिए। हदोरामले सबै प्रकारका सुन, चाँदी र काँसाका चीजहरू दावीद राजाकहाँ ल्याए।   
11 दावीद राजाले ती चीजहरू याहवेहलाई समर्पण गरे। तिनले यी सबै जातिहरू: एदोमीहरू, मोआबीहरू, अम्मोनीहरू, पलिश्तीहरू र अमालेकीहरूबाट लिएका सुन र चाँदीलाई याहवेहकहाँ अर्पण गरे।   
12 सरूयाहका छोरा अबीशैले नुनको बेँसीमा अठार हजार एदोमीहरूलाई मारे।  
13 तिनले एदोममा सैन्य छाउनीहरू बनाए; र सारा एदोमीहरू दावीदको अधीनमा भए। दावीद जहाँ-जहाँ गए, याहवेहले तिनलाई विजय दिनुभयो।   
दावीदका अधिकृतहरू 
 
14 दावीदले आफ्ना सबै मानिसहरूका निम्ति जे न्यायसङ्गत र जे ठिक थियो, त्यही गर्दै सम्पूर्ण इस्राएलमाथि राज्य गरे।   
   
 
15 सरूयाहका छोरा योआब सेनाहरूका सेनापति थिए;  
अहीलूदका छोरा यहोशापात लेखापाल थिए;   
16 अहीतूबका छोरा सादोक र अबीयाथारका छोरा अहीमेलेक पुजारीहरू थिए;  
शब्शा सचिव थिए;   
17 बनायाह यहोयादाका छोराचाहिँ करेतीहरू र पेलेथीहरूका प्रमुख थिए;  
अनि दावीदका छोराहरूचाहिँ राजाका मुख्य अधिकृतहरू थिए।