23
लेवीहरू 
 
1 जब दावीद वृद्ध भए, र धेरै उमेरका भए, तब तिनले आफ्ना छोरा सोलोमनलाई इस्राएलमाथि राजा नियुक्त गरे।   
2 तिनले इस्राएलका सबै अगुवाहरू, पुजारीहरू र लेवीहरूलाई पनि एकसाथ भेला गराए।  
3 तीस वर्ष र त्यसभन्दा बढी उमेरका लेवी पुरुषहरूको गन्ती गरियो; अनि पुरुषहरूको कुल संख्या अठतीस हजार थियो।  
4 दावीदले भने, “यीमध्ये चौबीस हजारले याहवेहको मन्दिरको काममा रेखदेख गरून्; अनि छ हजारचाहिँ अगुवाहरू र न्यायकर्ताहरू होऊन्।  
5 चार हजारचाहिँ द्वारपालहरू होऊन्, र अरू चार हजारले चाहिँ मैले प्रशंसाको उद्देश्यले उपलब्ध गराएका वाद्य-वादनहरूद्वारा याहवेहको प्रशंसा गरून्।”   
   
 
6 दावीदले लेवीहरूलाई लेवीका छोराहरू: गेर्शोन, कहात र मरारीका समूहअनुसार विभाजन गरे।   
गेर्शोनीहरू 
 
7 गेर्शोनीहरूका छोराहरू:  
लादान र शिमी।   
8 लादानका छोराहरू:  
पहिलो यहीएल, दोस्रो जेताम र तेस्रो योएल—जम्मा तीन जना।   
9 शिमीका छोराहरू:  
शलोमोत, हाजीएल र हारान—जम्मा तीन जना।  
लादानका परिवारहरूका अगुवाहरू यिनीहरू नै थिए।   
10 शिमीका छोराहरू:  
यहत, जीजा, येऊश र बेरियाह।  
शिमीका छोराहरू—जम्मा चार जना।   
11 यहत पहिलो थिए, जीजा दोस्रो, तर येऊश र बेरियाहका छोराहरू धेरै थिएनन्; यसकारण तिनीहरूलाई एउटै परिवारझैँ गनियो र एउटै जिम्मेवारी दिइयो।   
कहातीहरू 
 
12 कहातका छोराहरू:  
अम्राम, यिसहार, हेब्रोन र उज्जीएल—जम्मा चार जना।   
13 अम्रामका छोराहरू:  
हारून र मोशा।  
हारूनचाहिँ अलग गरिएका थिए; हारून र तिनका सन्तानहरूलाई सधैँका निम्ति अति पवित्र चीजहरू अर्पण गर्न, याहवेहको सामु भेटीहरू चढाउन, उहाँको सामु सेवा गर्न र सधैँका निम्ति उहाँको नाममा आशिष् दिनलाई अलग गरिएका थिए।  
14 परमेश्वरका जन मोशाका छोराहरूलाई चाहिँ लेवी कुलको एउटा भागको रूपमा गनियो।   
15 मोशाका छोराहरू:  
गेर्शोम र एलीएजर।   
16 गेर्शोमका सन्तानहरू:  
पहिलो शूबाएल।   
17 एलीएजेरका सन्तानहरू:  
पहिलो छोरो रहब्याह।  
(एलीएजरका अरू छोराहरू थिएनन्, तर रहब्याहका छोराहरू अति धेरै थिए।)   
18 यिसहारका छोराहरू:  
पहिलो शलोमीत।   
19 हेब्रोनका छोराहरू:  
पहिलो यरियाह, दोस्रो  
अमर्याह, तेस्रो यहजीएल र चौथो यकमाम।   
20 उज्जीएलका छोराहरू:  
पहिलो मीका र दोस्रो यिशियाह।   
मरारीहरू 
 
21 मरारीका छोराहरू:  
महली र मूशी।  
महलीका छोराहरू:  
एलाजार र कीश।   
22 (एलाजारका छोराहरू नभई तिनको मृत्यु भयो: तिनका छोरीहरू मात्र थिए। तिनीहरूलाई तिनका आफन्तहरू, कीशका छोराहरूले विवाह गरे।)   
23 मूशीका छोराहरू:  
महली, एदेर र यरेमोत—जम्मा तीन जना।   
   
 
24 लेवीका परिवारअनुसार तिनीहरूका सन्तानहरू यिनै थिए—तिनीहरूका परिवारका अगुवाका नामअनुसार र हरेक व्यक्तिहरू, जो याहवेहको मन्दिरमा काम गर्ने बीस वर्ष र त्यसभन्दा बढी उमेरका कर्मचारीहरूको नाम दर्ता गरियो।  
25 किनकि दावीदले भनेका थिए, “याहवेह इस्राएलका परमेश्वरले आफ्ना मानिसहरूलाई विश्राम दिनुभएको छ, र उहाँ यरूशलेममा सदासर्वदाको लागि बास गर्न आउनुभएको छ।  
26 यसैकारण लेवीहरूले फेरि समागम पाल र त्यसको सेवामा प्रयोग गरिने कुनै पनि सामानहरू बोकिरहन आवश्यक छैन।”  
27 दावीदको अन्तिम निर्देशनअनुसार, बीस वर्ष र त्यसभन्दा बढी उमेरका लेवीहरू गनिए।   
   
 
28 लेवीहरूको जिम्मेवारीचाहिँ याहवेहको मन्दिरको सेवामा हारूनका सन्तानहरूलाई सहायता गर्नुपर्नेथियो: आँगन, छेउछाउका कोठाहरू, सबै पवित्र चीजहरू शुद्ध गर्ने र परमेश्वरको भवनमा अरू कामहरू पनि गर्नुपर्ने जिम्मेवारी थियो।  
29 तिनीहरू टेबुलमा सजाइएको रोटी, अन्नबलिको विशेष पिठो, खमिरविनाको पातलो रोटी, पकाउने र मिसाउने, र सबै प्रकारका नाप-तौल, र आकारका जिम्मेवारीमा थिए।  
30 तिनीहरू हरेक बिहान याहवेहलाई धन्यवाद र प्रशंसा चढाउनलाई पनि खडा हुनुपर्थ्यो। तिनीहरूले साँझमा पनि त्यसै गर्नुपर्थ्यो;  
31 अनि तिनीहरूले शब्बाथ विश्रामको दिनमा औँसीका चाडहरूमा र तोकिएका चाडहरूमा याहवेहकहाँ होमबलि चढाउनुपर्थ्यो। तिनीहरूले नियमित रूपले उचित संख्या र तिनीहरूलाई तोकिदिएको नियमअनुसार याहवेहको सामु सेवा गर्नुपर्थ्यो।   
32 यसरी लेवीहरूले भेट हुने पालको, पवित्रस्थान र हारूनका सन्तान आफ्ना दाजुभाइहरूका अधीनमा रहेर याहवेहको मन्दिरको सेवामा पुजारीहरूलाई सहायता गरे।