23
1 सातौँ वर्षमा पुजारी यहोयादाले आफ्नो सामर्थ्य देखाए। तिनले सय-सय दलका सेनापतिहरूसित करार बाँधे: यहोरामका छोरा अजर्याह, येहोहानानका छोरा इश्माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह र जिक्रीका छोरा एलीशापात थिए।
2 तिनीहरू यहूदाभरि गए; अनि लेवीहरूलाई र इस्राएली परिवारका अगुवाहरूलाई सबै सहरहरूबाट भेला गराए। तिनीहरू यरूशलेममा आए।
3 तब सारा समुदायले राजासित परमेश्वरको मन्दिरमा करार बाँधे।
यहोयादाले तिनीहरूलाई भने, “याहवेहले दावीदको सन्तानको सम्बन्धमा प्रतिज्ञा गर्नुभएझैँ राजाका छोराले शासन गर्नेछन्।
4 अब तपाईंहरूले गर्नुपर्ने यही हो: तपाईंहरू शब्बाथमा काममा खटिएका एक तिहाइ पुजारीहरू र लेवीहरू ढोकाको सुरक्षामा रहनुपर्छ।
5 एक तिहाइले राजमहलको सुरक्षामा र एक तिहाइले जगको मूलढोकाको सुरक्षामा रहनुपर्छ; अनि अरू सबै मानिसहरूचाहिँ याहवेहको मन्दिरका चोकहरूमा रहनुपर्छ।
6 याहवेहको मन्दिरमा सेवाको कामका निम्ति खटिएका पुजारीहरू र लेवीहरूबाहेक अरू कोही पस्न पाउनेछैनन्, तिनीहरू मात्र पस्न पाउनेछन्, जो पवित्र पारिएका छन्। तर अरू सबै मानिसहरूले चाहिँ याहवेहले तिनीहरूलाई सुम्पनुभएको काम गर्नुपर्छ।
7 लेवीहरू प्रत्येकले आ-आफ्ना हातमा हतियार लिएर राजाको छेउछाउमा पहरा दिएको हुनुपर्छ। मन्दिरमा पस्ने जोसुकै पनि मारिनुपर्छ। राजा जहीँ गए तापनि तिनका छेउमै रहनू।”
8 लेवीहरू र यहूदाका सारा मानिसहरूले पुजारी यहोयादाले आज्ञा दिएझैँ गरे। हरेकले उसको आफ्नै मानिसलाई लिए—शब्बाथमा काममा खटिएकाहरू र काम सकेर फुर्सद पाएकाहरूलाई लिए, किनकि पुजारी यहोयादाले कुनै दललाई पनि बिदा दिएका थिएनन्।
9 तब तिनले सय-सयको दलमाथिका सेनापतिहरूलाई परमेश्वरको भवनमा रहेका दावीदका भालाहरू, ठूला र साना ढालहरू दिए।
10 तिनले राजाका चारैतिर, वेदी र मन्दिरको छेउमा मन्दिरको दक्षिण भागदेखि उत्तर भागसम्म सबै मानिसहरूलाई हातमा हतियार लिएर राखिदिए।
11 यहोयादा र तिनका छोराहरूले राजाका छोरालाई ल्याएर तिनलाई मुकुट लगाइदिए। तिनीहरूले तिनलाई करारको एक प्रति दिए, र तिनलाई राजा भनी घोषित गरे। तिनीहरूले उनलाई अभिषेक गरे, र तिनीहरू यसो भन्दै कराए, “राजा अमर रहून्!”
12 जब अतल्याहले मानिसहरू भागदौड गरिरहेका र राजालाई जयजयकार गरिरहेको हल्ला सुनिन्, तब तिनी याहवेहको भवनमा तिनीहरूकहाँ गइन्।
13 तिनले हेरिन्, र राजालाई प्रवेशद्वारमा आफ्नो खम्बानिर उभिरहेका देखिन्। अधिकृतहरू र तुरही फुक्नेहरू राजाको छेउमा थिए। अनि सारा देशवासीहरू हर्ष मनाउँदै र तुरहीहरू फुकिरहेका थिए; यसकासाथै गायकहरूले बाजा-गाजासित प्रशंसाको अगुवाइ गरिरहेका थिए। तब अतल्याहले आफ्नो वस्त्रहरू च्यातेर “राजविद्रोह! राजविद्रोह!” भन्दै कराइन्।
14 पुजारी यहोयादाले दलहरूका जिम्मामा रहेका सय-सयका दलका सेनापतिहरूलाई यसो भनेर पठाए: “आतल्याहलाई दलहरूको बीचमा ल्याओ र तिनलाई पछ्याउने जतिलाई तरवारले मारिदेओ।” किनकि पुजारीले “तिनलाई याहवेहको मन्दिरमा नमार्नू” भनेका थिए।
15 यसकारण तिनी घोडा ढोकाको प्रवेशद्वारमा महलको मैदानमा पुग्दा तिनीहरूले तिनलाई पक्रे, र त्यहाँ तिनलाई मारे।
16 त्यसपछि यहोयादाले आफू, सबै मानिसहरू र राजा याहवेहका मानिसहरू हुनेछन् भनी करार बाँधे।
17 सबै मानिसहरू बालको मन्दिरमा गए, र तिनीहरूले त्यसलाई भत्काइदिए। तिनीहरूले वेदी र मूर्तिहरूलाई टुक्रा-टुक्रा पारिदिए; अनि बालको पुजारी मत्तानलाई वेदीहरूको सामु मारे।
18 त्यसपछि यहोयादाले याहवेहको भवनको हेरविचार गर्ने जिम्मा पुजारीहरूका हातमा दिए, जो लेवीहरू थिए। आफ्नो समयदेखि नै स्तुतिगान गर्दै र आनन्द मनाउँदै मोशाको व्यवस्थाअनुसार होमबलि चढाउन र याहवेहको भवनमा काम गर्न दावीदले तिनीहरूलाई खटाइदिएका थिए।
19 कुनै अशुद्ध व्यक्ति मन्दिरभित्र पस्न नपाओस् भनेर तिनले याहवेहको भवनको मूलढोकाहरूमा द्वारपालहरू पनि राखे।
20 तिनले आफूसित सय-सयमाथिका सेनापतिहरू, भारदारहरू, प्रजाहरूका प्रशासकहरू र सारा देशवासीहरूलाई लगे। राजालाई पनि याहवेहको भवनबाट पनि ल्याए। तिनीहरू माथिल्लो मूलढोकाहरूबाट महलमा पसे; अनि राजालाई राजकीय सिंहासनमाथि बसाए।
21 अनि देशका सबै मानिसहरूले हर्ष मनाए। सहरचाहिँ शान्त थियो; किनकि अतल्याह तरवारले मारिएकी थिइन्।