2
प्रेमिका  
1 म त शारोनको गुलाफ,  
बेँसीहरूको लिली फूल हुँ।   
प्रेमी  
2 युवतीहरूका बीचमा  
मेरी प्रिय काँडाहरू बीचको लिली फूलझैँ छिन्।   
प्रेमिका  
3 युवकहरूका बीचमा मेरा प्रिय,  
जङ्गलका रूखहरूका बीचमा स्याउको बोटजस्तै हुनुहुन्छ।  
उहाँका छायामुनि बस्दा मलाई आनन्द लाग्दछ;  
अनि उहाँको फल मलाई साह्रै मिठो लाग्छ।   
4 उहाँले मलाई महाभोजको कोठामा लैजानुभयो;  
र ममाथि उहाँको झण्डाचाहिँ उहाँको प्रेम हो।   
5 प्रेम रोगले गर्दा म शिथिल भएकी छु,  
यसकारण मलाई किसमिस खुवाएर बलियो बनाउनुहोस्;  
स्याउ दिएर ताजा पार्नुहोस्!   
6 उहाँको देब्रे हात मेरो शिरमुनि छ,  
र दाहिने हातले मलाई अँगालो हाल्नुभएको छ।   
7 हे यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई  
मैदानका मुडुली मृगीहरू र हरिणीहरूको नाममा शपथ खुवाएर आज्ञा गर्छु;  
उचित समय नभएसम्म  
प्रेमलाई नजगाओ, अथवा नबिउँझाओ!   
   
 
8 सुन, मेरा प्रियतम!  
हेर, उहाँ आउँदैहुनुहुन्छ;  
पर्वतहरूलाई पार गर्दै, डाँडाहरूमाथि फड्को मार्दै,  
उहाँ आउँदैहुनुहुन्छ!   
9 मेरा प्रिय एक मृगझैँ, अथवा जवान जरायोझैँ हुनुहुन्छ।  
हेर, उहाँ हाम्रा पर्खालको पछिल्तिर उभिनुभएको छ;  
झ्यालहरूबाट हेर्दै हुनुहुन्छ;  
अनि आँखीझ्याल भित्रबाट चियाउँदै हुनुहुन्छ।   
10 मेरा प्रियले बोल्नुभयो र मलाई भन्नुभयो,  
“हे मेरी प्रियसी उठ,  
हे मेरी सुन्दरी, मसित आऊ!   
11 हेर, हिउँद बित्यो,  
वर्षा पनि सकियो।   
12 पृथ्वीमा फूलहरू देखा परेका छन्;  
गीत गाउने समय आएको छ।  
हाम्रो भूमिमा ढुकुरहरू  
कुर्लेको सोर सुनिन्छ।   
13 अञ्जीरको बोटमा फलहरू फल्न थाल्यो;  
दाखले त फुलेर बास्ना फैलाउन थाल्यो।  
उठ, आऊ, मेरी प्रिय,  
हे मेरी सुन्दरी, मसित आऊ!”   
प्रेमी  
14 चट्टानका चिराहरूमा,  
भिरपहराका गुप्त ठाउँहरूमा, लुकेर बसेकी मेरी ढुकुर;  
मलाई तिम्रो अनुहार देखाऊ!  
तिम्रो सोर सुन्न पाऊँ;  
किनकि तिम्रो सोर मिठो छ;  
र तिम्रो मुहार सुन्दर छ।   
15 हाम्रा निम्ति फ्याउराहरू समातिदेऊ;  
साना फ्याउराहरू,  
जसले दाखबारीमा फूलहरू फुलेका बेला  
हाम्रा दाखबारीहरू नाश पार्दछन्।   
प्रेमिका  
16 मेरा प्रिय मेरै हुनुहुन्छ, र म उहाँकी हुँ;  
उहाँ लिली फूलहरूका बीचमा टहल्नुहुन्छ।   
17 जबसम्म बिहान हुँदैन,  
र छायाहरू हराउँदैनन्,  
हे मेरा प्रियतम, फर्कनुहोस्;  
र मृगझैँ,  
अथवा भिरालो डाँडाहरूमाथि हुने  
घोर्ले जरायोझैँ हुनुहोस्!