10
भाइहरू हो, तिमीहरूले यो जान भनी म चाहन्छु, कि हाम्रा पिता पुर्खाहरू सबै बादलमुनि थिए र सबै समुद्रको बिचबाट भएर गए । सबैले बादल र समुद्रमा मोशामा बप्‍तिस्मा पाएका थिए, र सबैले एउटै आत्मिक भोजन खाए । सबैले उस्तै आत्मिक पानी पिए । किनकि तिनीहरूले आत्मिक चट्टानबाट पिए, अनि त्यो चट्टान ख्रीष्‍ट हुनुहुन्थ्यो । तर तिनीहरूमध्ये धेरै जनासित परमेश्‍वर प्रसन्‍न हुनुभएन, र तिनीहरूका लासहरू उजाड-स्थानभरि छरिएका थिए । तिनीहरूले जस्तै हामीले दुष्‍ट कुराहरूको इच्छा नगरौँ भनेर यी कुराहरू हाम्रा लागि उदाहरणहरू थिए । तिनीहरूमध्ये धेरै झैँ तिमीहरू मूर्तिपूजक नहोओ । यस्तो लेखिएको छ, “मानिसहरू खान र पिउन बसे अनि खेल्नलाई उठे ।” तिनीहरू धेरैले गरेझैँ हामीले यौन अनैतिक कार्य नगरौँ, जुन कारणले गर्दा एकै दिनमा तिनीहरूमध्‍ये तेइस हजार मरे । हामीले ख्रीष्‍टको परीक्षा गर्नुहुँदैन जसरी तिनीहरूले गरे र सर्पहरूद्वारा नष्‍ट भए । 10 तिनीहरूमध्ये धेरै जसोले गनगन गरेझैँ हामीले नगरौँ, जसले गर्दा तिनीहरू मृत्युको दूतद्वारा नष्‍ट भएका थिए । 11 हाम्रो निम्ति उदाहरणको लागि तिनीहरूमाथि यी कुराहरू भए । यी हाम्रो शिक्षाको निम्ति लेखिएका हुन्– हाम्रो निम्ति जसमा युगको अन्त्य आएको छ । 12 यसैकारण, कसैले म खडा छु भनी सोच्छ भने होसियार रहोस् ताकि ऊ नलडोस् । 13 मानव-जातिमा आउने परीक्षाभन्दा तिमीहरू फरक परीक्षामा परेका छैनौँ । तर परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ । उहाँले तिमीहरूलाई तिमीहरूको शक्‍तिभन्दा बाहिरको परीक्षामा पर्न दिनुहुन्‍न । तिमीहरूले तिनलाई सहन सक भनेर उहाँले परीक्षाको साथमा त्यसबाट उम्किने उपाय पनि प्रदान गर्नुहुन्छ । 14 त्यसकारण, मेरा प्रियहरू हो, मूर्तिपूजाबाट अलग बस । 15 म समझदार मानिसहरूसित बोलेजस्तै तिमीहरूसित बोल्दछु, ताकि तिमीहरूले मैले भनेको कुरा जाँच गर्न सक । 16 हामीले आशिष् दिने आशिष्‌को कचौरा ख्रीष्‍टको रगतमा भएको सहभागिता होइन र ? हामीले भाँच्ने रोटी ख्रीष्‍टको शरीरमा भएको सहभागिता होइन र ? 17 रोटीको टुक्रा एउटै भएकोले हामी धेरै भए तापनि एउटै शरीर हौँ । हामी सबैले एकसाथ एउटै रोटीबाट खान्छौँ । 18 इस्राएलका मानिसहरूलाई हेरः के वेदीमा चढाइएको बलि खानेहरू वेदीका सहभागी होइनन् र ? 19 त्यसो भए, म के भन्दै छु ? के त्यो मूर्ति कुनै कुरा हो ? अथवा मूर्तिमा चढाइएको बलिदान केही कुरा हो ? 20 तर म अन्यजाति मूर्तिपूजकहरूको बलिदानको बारेमा भन्दछु, कि तिनीहरूले यी कुराहरू भूतहरूलाई चढाउँछन्, परमेश्‍वरलाई होइन ! तिमीहरू भूतहरूसँग सहभागी होओ भन्‍ने म चाहन्‍नँ । 21 तिमीहरूले प्रभुको कचौरा र भूतहरूको कचौरा दुवैबाट पिउन सक्दैनौ । तिमीहरूले प्रभुको टेबुलमा र भूतहरूको टेबुल दुवैमा सङ्गति गर्न सक्दैनौ । 22 अथवा के हामीले प्रभुलाई डाही बनाउने ? के हामी उहाँभन्दा बलिया छौँ ? 23 “हरेक कुरा न्यायसङ्गत छ”, तर सबै कुरा फाइदाजनक छैनन् । “सबै कुरा न्यायसङ्गत छन्”, तर सबै कुराले मानिसको निर्माण गर्दैनन् । 24 कसैले पनि आफ्नै भलाइ मात्र नखोजोस् । बरु, हरेकले आफ्नो छिमेकीको भलाइ खोजोस् । 25 तिमीहरूले बजारमा जे बेचिन्छ त्यसलाई विवेकका खातिर कुनै प्रश्‍न नगरी खान सक्छौ । 26 किनकि “पृथ्‍वी प्रभुको हो र त्यसमा भएका सबै कुरा उहाँकै हुन् ।” 27 तिमीहरूलाई विश्‍वास नगर्ने कुनै व्यक्‍तिले खानलाई निम्तो दिन्छ र तिमीहरू जान इच्छा गर्छौ भने तिमीहरूको अगाडि खानलाई राखिएको कुरा विवेकको खातिर पनि प्रश्‍न नसोधी खाओ । 28 तर कसैले तिमीहरूलाई “यो खाना मूर्तिपूजामा चढाइएको खाना हो” भन्यो भने त्यो नखाओ । योचाहिँ जसले तिमीहरूलाई जानकारी दियो उसको र तिमीहरूको विवेकको खातिर हो । 29 मैले तिमीहरूको आफ्नो विवेकको बारेमा भनेको होइनँ, तर अरू व्यक्‍तिको विवेकको बारेमा भनेको हुँ । किनकि अरूको विवेकलाई मेरो स्वतन्‍त्रताको न्याय हुन किन दिने र ? 30 म कृतज्ञतासाथ खानामा सहभागी हुन्छु भने मैले धन्यवाद दिएको कुरामा म किन निन्दित हुने ? 31 त्यसकारण, तिमीहरूले जे खान्छौ वा पिउँछौ, वा तिमीहरू जे गर्छौ, सबै परमेश्‍वरको महिमाको निम्ति गर । 32 तिमीहरूले यहूदीहरू वा ग्रिकहरूको अथवा परमेश्‍वरको मण्डलीको अपमान नगर । 33 म सबै मानिसहरूलाई सबै कुरामा खुसी पार्ने कोसिस गर्छु । म आफ्नो भलाइ खोज्दिनँ, तर धेरैको भलाइ खोज्छु । धेरैले उद्धार पाऊन् भनेर म यो गर्दछु ।