व्यवस्थाको पुस्तक
1
यर्दन नदीको बेँसीको मैदानमा सुपको सामुन्‍ने अराबामा पारान, तोफेल, लाबान, हसेरोत र दीसाहाबका बिचमा यर्दनपारिको उजाड-स्थानमा मोशाले सबै इस्राएलीलाई दिएका वचन यिनै हुन् । होरेबदेखि सेइर पर्वतको बाटो भएर कादेश-बर्नेसम्म पुग्‍न एघार दिन लाग्छ । चालिसौँ वर्षको एघारौँ महिनाको पहिलो दिनमा मोशाले इस्राएलका सबै मानिसलाई परमप्रभुले तिनीहरूको बारेमा मोशालाई आज्ञा गर्नुभएका सबै कुरा तिनले तिनीहरूलाई बताइदिए । हेश्बोनमा बस्‍ने एमोरीहरूका राजा सीहोन र एद्रईको अस्तारोतमा बस्‍ने बाशानका राजा ओगलाई परमप्रभुले आक्रमण गर्नुभएपछि यो भएको थियो । यर्दनपारि मोआब देशमा मोशाले यी निर्देशनहरू दिन थाले, “परमप्रभु हाम्रा परमेश्‍वर यसो भन्दै होरेबमा हामीसित बोल्नुभयो, 'तिमीहरू यस डाँडामा बसेको धेरै भइसकेको छ । आफ्नो यात्रा सुरु गरी एमोरीहरूको पहाडी देश र त्यसका छेउछाउका सबै ठाउँ अर्थात् यर्दन नदीको बेँसीको मैदान, पहाडी देश, तराई, नेगेव र समुद्रीतटमा कनानीहरूको देश र लेबनान र महानदी यूफ्रेटिससम्म जाओ । हेर, मैले यो देश तिमीहरूको सामु राखिदिएको छु । परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरू अर्थात् अब्राहाम, इसहाक र याकूबसित तिनीहरू र तिनीहरूका सन्तानहरूलाई दिने प्रतिज्ञा गर्नुभएको देशमा गएर यसलाई कब्जा गर ।' त्यस बेला मैले तिमीहरूलाई यसो भनेँ, 'म एक्लै तिमीहरूलाई अगुवाइ गर्न सक्दिनँ । 10 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको वृद्धि गराउनुभएको छ, अब हेर आज तिमीहरू आकाशका तारापुञ्‍जजस्तै धेरै भएका छौ । 11 परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्‍वरले आफूले प्रतिज्ञा गरेअनुसार तिमीहरूलाई हजारौँ गुणा वृद्धि गरी तिमीहरूलाई आशिष् दिनुभएको होस् । 12 तर म आफैले मात्र कसरी तिमीहरूका भार, तिमीहरूका बोझ र तिमीहरूका झगडाहरू बोक्‍न सक्छु ? 13 हरेक कुलबाट बुद्धिमान् मानिसहरू, समझशक्ति भएकाहरू र असल नाम चलेकाहरूलाई छान र म तिनीहरूलाई तिमीहरूका नायक नियुक्त गर्ने छु ।' 14 तिमीहरूले जवाफ दिई मलाई भन्यौ, 'तपाईंले भन्‍नुभएको कुरो हाम्रो निम्ति असल छ ।' 15 त्यसैले मैले तिमीहरूका कुलहरूबाट मुख्य मानिसहरू, बुद्धिमान् मानिसहरू, असल नाउँ चलेकाहरूलाई छानी तिनीहरूलाई तिमीहरूका नायक बनाएँ ताकि तिनीहरूले कुल-कुलअनुसार हजार, सय, पचास र दसको रेखदेख गरून् । 16 त्यस बेला मैले तिमीहरूका न्यायकर्ताहरूलाई यसो भनी आज्ञा दिएँ, 'तिमीहरूका दाजुभाइहरूका बिचमा भएको झगडालाई सुनी कुनै मानिस, भाइ र तिमीहरूका परदेशीको बिचमा धार्मिकतापूर्वक न्याय गर । 17 झगदा हुँदा कसैको पक्षपात नगर । साना-ठुला दुवैको कुरामा समान रूपमा ध्यान देओ । मानिसको अनुहारदेखि नडराओ किनकि न्याय परमेश्‍वरको हो । तिमीहरूले मिलाउन नसक्‍ने झगडा मकहाँ ल्याओ र म त्यो सुन्‍ने छु ।' 18 तिमीहरूले गर्नुपर्ने सबै कुरा मैले त्यस बेला नै तिमीहरूलाई आज्ञा गरेको थिएँ । 19 हामी होरेबबाट यात्रा गरी परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई आज्ञा गर्नुभएअनुसार तिमीहरूले देखेका विशाल र डरलाग्दो उजाड-स्थानबाट भएर एमोरीहरूको पहाडी देशतर्फ जाने बाटो लाग्यौँ अनि हामी कादेश-बर्ने आइपुग्यौँ । 20 मैले तिमीहरूलाई भनेँ, 'तिमीहरू एमोरीहरूको पहाडी देशमा आइपुगेका छौ जुन देश परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई दिँदै हुनुहुन्छ । 21 हेर, परमप्रभु तिमीहरूका परमेश्‍वरले यो देश तिमीहरूका सामु राखिदिनुभएको छ । तिमीहरूका पिता-पुर्खाका परमप्रभु परमेश्‍वरले तिमीहरूलाई आज्ञा गर्नुभएअनुसार माथि उक्लेर यसको अधिकार गर । नडराओ, न त निरुत्साहित होओ ।' 22 तिमीहरू हरेक मकहाँ आएर भन्यौ, 'हामीभन्दा अगिअगि मानिसहरू पठाऔँ ताकि तिनीहरूले हाम्रो निम्ति त्यस देशको भेद लिई हामीले त्यस देशलाई कसरी आक्रमण गर्नुपर्छ र हामी कुन-कुन सहरमा आइपुग्‍नुपर्ने हो भन्‍ने बारेमा तिनीहरूले बताऊन् ।' 23 त्यो सल्लाहले मलाई ज्यादै खुसी पार्‍यो । मैले तिमीहरूमध्ये हरेक कुलबाट एक-एक गरी बाह्र जना मानिस छानेँ । 24 तिनीहरू पहाडी देशमा गए । तिनीहरू एश्कोलको बेँसीमा पुगी यसको जासुसी गरे । 25 तिनीहरूले आ-आफ्ना हातमा त्यस देशका केही उत्पादनहरू हामीकहाँ ल्याए । तिनीहरूले हामीकहाँ यस्तो समाचार पनि ल्याए, 'परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई दिन लाग्‍नुभएको यो देश असल छ ।' 26 तर तिमीहरूले आक्रमण गर्न इन्कार गरी परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञाको विरुद्धमा गयौ । 27 तिमीहरूका पालहरूमा गनगन गर्दै तिमीहरूले भन्यौ, “परमप्रभुले हामीलाई घृणा गर्नुभएको छ । त्यसैले, एमोरीहरूको हातमा सुम्पी हामीलाई नष्‍ट गर्न उहाँले हामीलाई मिश्र देशबाट बाहिर ल्याउनुभएको छ । 28 अब हामी कहाँ जाने? हाम्रा दाजुभाइहरूले यसो भनी हामीलाई निराश बनाएका छन्, 'ती मानिसहरू हामीभन्दा ठुला र अग्ला छन् । तिनीहरूका सहरहरू विशाल छन् र आकाशसम्मै पर्खाल लगाइएका छन् । त्यस बाहेक, त्यहाँ हामीले अनाकीहरूका सन्तानहरूलाई पनि देखेका छौँ' ।” 29 तब मैले तिमीहरूलाई भनेँ, 'भयभीत नहोओ, न त तिनीहरूदेखि डराओ । 30 तिमीहरूका अगिअगि जानुहुने तिमीहरूका परमप्रभु परमेश्‍वर नै तिमीहरूका पक्षमा लड्नुहुने छ जस्तो तिमीहरूकै आँखाका सामुन्‍ने मिश्रमा तिमीहरूका निम्ति उहाँले गर्नुभएको थियो । 31 तिमीहरू यस ठाउँमा नआइपुगुञ्‍जेलसम्म बुबाले आफ्नो छोरोलाई बोकेजस्तै उजाड-स्थानसाथै हरेक ठाउँमा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई बोक्‍नुभएको तिमीहरूले देखेकै छौ ।' 32 यस वचनका बाबजुत पनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरमा विश्‍वास गरेनौ 33 जो रातमा आगो र दिनमा बादल बनेर तिमीहरूलाई छाउनी बनाउने ठाउँ पत्ता लगाउन तिमीहरूका अगिअगि जानुभयो । 34 परमप्रभुले तिमीहरूको आवाज सुन्‍नुभयो र उहाँ रिसाउनुभयो । उहाँले शपथ खाएर भन्‍नुभयो, 35 'निश्‍चय नै यो दुष्‍ट पुस्ताको एउटै मान्छेले पनि मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिन्छु भनेको असल देश देख्‍ने छैन । 36 तर यपुन्‍नेका छोरा कालेबले यो देश देख्‍नेछ । त्यसले पूर्ण रूपमा परमप्रभुलाई पछ्याएकोले म त्यसलाई र त्यसका सन्तानहरूलाई त्यसले पाइला टेकेको यो देश दिने छु ।' 37 तिमीहरूका कारणले परमप्रभु मसित पनि रिसाउनुभयो, 'तँ पनि त्यहाँ जाने छैनस् । 38 मेरो सामु खडा हुने नूनका छोरा यहोशू त्यहाँ जाने छ । त्यसलाई उत्साह दे किनकि त्यसले यस देशको कब्जा गर्न इस्राएललाई अगुवाइ गर्नेछ । 39 यस बाहेक, तेरा स-साना बालबालिकाहरू जसको विषयमा तैँले तिनीहरू सिकार हुने छन् भनी बताएको थिइस्, जससित आज असल र खराबको ज्ञान छैन, तिनीहरू नै त्यहाँ जाने छन् । तिनीहरूलाई म यो देश दिने छु र तिनीहरूले यसको अधिकार गर्ने छन् । 40 तर तिमीहरू भने फर्केर उजाड-स्थानको बाटो हुँदै नर्कटहरूको समुद्रको दिशातर्फ जाओ ।' 41 तब तिमीहरूले मलाई जवाफ दियौ, 'हामीले परमप्रभुको विरुद्धमा पाप गरेका छौँ । हामी माथि उक्लेर लडाइँ गर्ने छौँ, र परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई गर्नू भनी आज्ञा दिनुभएका सबै कुरा हामी गर्नेछौँ । तिमीहरूका बिचमा भएका हरेक पुरुषले आ-आफ्नो हतियार उठाएर त्यस पहाडी देशलाई आक्रमण गर्न तयार भयौ । 42 परमप्रभुले मलाई भन्‍नुभयो, 'तिनीहरूलाई भन्, “आक्रमण नगर्; लडाइँ नगर् किनकि म तिमीहरूसँग हुने छैनँ, र तिमीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुने छौ ।' 43 मैले तिमीहरूलाई यसरी नै भनेँ, तर तिमीहरूले मेरो कुरा सुनेनौ । तिमीहरू परमप्रभुको आज्ञाको विरुद्धमा गयौ । तिमीहरू हठी भयौ र त्यस पहाडी देशलाई आक्रमण गर्न गयौ । 44 तर त्यस पहाडी देशमा बस्‍ने एमोरीहरू तिमीहरूको विरुद्धमा आएर तिमीहरूलाई मौरीलाई झैँ लखेटे अनि सेइरदेखि होर्मासम्मै तिमीहरूलाई प्रहार गरे । 45 तिमीहरू फर्केर पमरप्रभुको सामु रोयौ । तर पमरप्रभुले तिमीहरूको रुवाइ सुन्‍नुभएन, न त उहाँले तिमीहरूलाई ध्यानै दिनुभयो । 46 त्यसैले तिमीहरू कादेशमा धेरै दिनसम्म बस्यौ । तिमीहरूले त्यहाँ पुरै दिनहरू बितायौ ।