14
तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरका मानिसहरू हौ । मृतकहरूका लागि तिमीहरूले आफ्नो शरीरमा चोट नपुर्‍याउनु न त आफ्नो शिरको अगाडिको भाग खौरनू । किनकि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि अलग गरिएका जाति हौ, र परमप्रभुले पृथ्वीको सतहमा बसोबास गर्ने सबै जातिभन्दा उहाँको आफ्नै निज सम्पत्ति हुन तिमीहरूलाई छान्‍नुभएको छ । तिमीहरूले कुनै घृणित खानेकुरो नखाओ । तिमीहरूले खान हुने प्राणीहरू यिनै हुन्: गोरु, भेडा र बोका, मृग, हरिण, बराँठ, जङ्गली बोका, चित्तल र पहाडी भेडा । दुई भागमा खुर चिरिएका र उग्रने कुनै पनि पशु तिमीहरूले खान सक्छौ । तथापि, दुई भागमा खुर चिरिएका र उग्राने यी प्राणीहरूचाहिँ नखानूः ऊँट, खरायो, शापान, किनभने तिनीहरूले उग्रन्छन् तर तिनीहरूको खुर चिरिएको हुँदैन । त्यसैले ती तिमीहरूका निम्ति अशुद्ध हुन् । सुँगुर पनि तिमीहरूका लागि अशुद्ध हो किनकि त्यसको खुर चिरिएको हुन्छ तर त्यसले उग्रँदैन । त्यो तिमीहरूका निम्ति अशुद्ध हो । सुँगुरको मासु नखानू, र तिनीहरूका सिनु नछुनू । पानीमा बस्‍ने यी जलजन्तुहरूमध्ये पखेटा र कत्ला भएका तिमीहरूले खान सक्छौ । 10 तर पखेटा र कत्ला नभएकाहरूचाहिँ तिमीहरूले नखानू । ती तिमीहरूका लागि अशुद्ध हुन् । 11 तिमीहरूले सबै शुद्ध पक्षी खान सक्छौ । 12 तर तिमीहरूले यी पक्षीहरूचाहिँ नखानूः गरुड, गिद्ध, कालो गिद्ध, 13 सबै थरीका रातो चील, कालो चील । 14 तिमीहरूले कुनै पनि किसिमको काग, 15 र अस्ट्रिच, ठुलो लाटोकोसेरो, समुद्री चरो, सबै थरीका बाज, 16 सानो लाटोकोसेरो, ठुलो लाटोकोसेरो, सेतो लाटोकोसेरो, मरुभूमिको लाटोकोसेरो, 17 माछा मार्ने चील र जल कौवा खानुहुँदैन । 18 तिमीहरूले सारस, कुनै पनि किसिमको बकुल्ला, फाप्रे चरो र चमेरो खानुहुँदैन । 19 बथान-बथानमा उड्ने सबै किरा तिमीहरूका लागि अशुद्ध हुन् । तिमीहरूले ती खानुहुँदैन । 20 तर पखेटा भएका सबै शुद्ध प्राणी तिमीहरूले खान सक्छौ । 21 आफै मरेको कुनै पनि थोक नखानू । तिमीहरूका सहरहरूभित्र बस्‍ने परदेशीलाई त्यो दिन सक्छौ र त्यसले खान सक्छ वा यो परदेशीलाई बेच्न सक्छौ । किनकि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि अलग गरिएका जाति हौ । बाख्राको पाठो माउको दूधमा नपकाउनू । 22 वर्षैपिच्छे तिमीहरूको खेतबाट आउने सबै उब्जनीबाट निश्‍चय नै दशांश छुट्ट्याउनू । 23 परमप्रभु तिमीहरूका परमेश्‍वरले जुन ठाउँलाई आफ्नो पवित्र वासस्थानको रूपमा चुन्‍नुहुन्छ, त्यही ठाउँमा उहाँको सामु तिमीहरूको अन्‍न, नयाँ मद्य, तेल र तिमीहरूका गाईवस्तुसाथै भेडा-बाख्राको पहिले जन्मेकाहरूको दशांश खानू । परमप्रभु तिमीहरूका परमेश्‍वरलाई सधैँ आदर गर्न सिक्‍नू । 24 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुभएपछि उहाँको पवित्र स्थानको रूपमा छान्‍नुहुने ठाउँमा दशांश लिएर जान तिमीहरूलाई निकै टाढा भयो र तिमीहरूले त्यहाँसम्म दशांश लैजान सकेनौ भने, 25 तिमीहरूले त्यसलाई बेचेर पैसा आफ्नो हातमा लिन सक्छौ अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा जान सक्छौ । 26 त्यहाँ तिमीहरूले इच्छा लागेअनुसार खर्च गर्न सक्छौः गोरुको लागि वा भेडाको लागि वा दाखमद्यको लागि वा कडा दाखमद्यको लागि वा तिमीहरूको इच्छाअनुसार अन्य जुनसुकै थोकको लागि । त्यहाँ तिमीहरूले परमप्रभु तिमीहरूका सामु खाने छौ अनि तिमीहरू र तिमीहरूको घराना रमाउने छौ । 27 तिमीहरूका सहरहरूभित्र भएको लेवीलाई नत्याग किनकि त्योसित तिमीहरूसँग झैँ कुनै हिस्सा वा सम्पत्ति छैन । 28 तिमीहरूले हरेक तिन वर्षको अन्त्यमा वर्ष-वर्षको उब्जनीको सबै दशांश ल्याउनू, र त्यसलाई तिमीहरूका सहरभित्र भण्डारण गर्नू । 29 लेवीसित तिमीहरूसँगै कुनै हिस्सा वा सम्पत्ति नभएकोले लेवीसाथै तिमीहरूका सहरहरूभित्र भएका परदेशी, अनाथसाथै विधवा आएर ती खाऊन् अनि तृप्‍त होऊन् । यसो गर ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूले गर्ने सबै कुरामा तिमीहरूलाई आशिष् देऊन् ।