25
मानिसहरूका बिचमा झैझगडा भयो र तिनीहरू अदालतमा गए भने न्यायकर्ताहरूले तिनीहरूको न्याय गरून् अनि धर्मीलाई छाडिदिएर दुष्‍टलाई दोषी ठहराऊन् । दोषी मानिसले पिटाइ खानुपर्छ भने न्याकर्ताले त्यसलाई लम्पसार पर्न लगाएर न्यायकर्ताको उपस्थितिमा त्यसको अपराधअनुसार त्यसलाई कोर्रा हानोस् । न्यायकर्ताले त्यसलाई चालिस कोर्रा लगाउन सक्छ, तर त्यसभन्दा बढीचाहिँ होइन । किनकि त्यसभन्दा बढी कोर्रा लगाए तिमीहरूको इस्राएली भाइ तिमीहरूको दृष्‍टिमा अपमानित हुने छ । दाइँ गर्दा गोरुलाई महला नलागाओ । सँगसँगै बसेका दाजुभाइमध्ये कुनै छोरो नजन्माई एउटाको मृत्यु भयो भने मरेको मानिसकी पत्‍नीलाई परिवारभन्दा बाहिर विवाहको लागि नदिइयोस् । बरु, मर्नेको दाजु वा भाइले त्यसलाई आफ्नी पत्‍नी तुल्याओस्, र मृत लोग्‍नेको दाजु वा भाइले आफ्नो कर्तव्य पुरा गरोस् । स्‍त्रीले जन्माउने पहिलो छोरोलाई मरेको व्यक्तिको नाउँ दिइयोस् ताकि त्यसको नाउँ इस्राएलबाट नमेटियोस् । तर देवरले आफ्नी भाउजुलाई राख्‍ने इच्छा गरेन भने मुल ढोकामा गई भाउजुले धर्म-गुरुहरूलाई यसो भनोस्, 'मेरो देवरले इस्राएलमा त्यसको दाजुको नाउँ राख्‍न इन्कार गर्छ । त्यसले मसित देवरले गर्नुपर्ने कर्तव्य गर्दैन ।' तब त्यसको सहरका धर्म-गुरुहरूले त्यसलाई बोलाएर त्यससित कुराकानी गरून् । तर त्यसले 'म भाउजुलाई राख्‍न चाहन्‍नँ' भनी जिद्दी गर्‍यो भने भाउजु धर्म-गुरुहरूको उपस्थितिमा देवरकहाँ आई उसले त्यसको खुट्टाबाट जुत्ता फुकालेर त्यसको मुखमा थुकिदेओस् । भाउजुले यसो भनोस्, 'आफ्नो दाजुको घर निर्माण नगर्ने मानिसलाई यसै गरिन्छ ।' 10 इस्राएलमा त्यसको नाउँलाई 'जुत्ता फुकालिएको घर' भनिने छ । 11 मानिसहरू एक-अर्कासित झगदा गर्दा एक जनाकी पत्‍नी आएर आफ्नो पतिलाई बचाउन विरोधीको गुप्‍ताङ्ग अँठ्याई भने 12 त्यसको हात काटिदिनू । त्यसलाई नटिठ्याउनू । 13 तिमीहरूले आफ्नो झोलामा एउटै तौलको लागि कम र ज्यादा ओजन भएका ढकहरू नराख्‍नू । 14 तिमीहरूको घरमा पनि एउटै नापको लागि फरक किसिमका माना-पाथी नहोऊन् । 15 तिमीहरूसित सिद्ध र ठिक तौलका ढकसातै माना-पाथीहरू हुनुपर्छ ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरूका आयु लामो होस् । 16 किनकि यस्ता कुराहरू गर्ने अर्थात् बेइमानीपूर्वक काम गर्ने सबै परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि घृणित हुन् । 17 तिमीहरू मिश्रबाट आउँदा बाटोमा अमालेकीहरूले गरेको कुरो याद राख्‍नू । 18 तिनीहरूले तिमीहरूलाई बाटोमा भेटे र थाकेर हैरान भएकाहरू सबैलाई तिनीहरूले आक्रमण गरे । तिनीहरूले परमेश्‍वरको आदर गरेनन् । 19 त्यसकारण, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूले अधिकार गर्ने देशमा ल्याउनुहुँदा तिमीहरूका वरिपरि भएका तिमीहरूका सबै शत्रुबाट तिमीहरूलाई विश्राम दिनुभएपछि आकाशमुनि अमालेकीहरूको नाउँनिशानै मेटिदिन नभुल्नू ।