6
अब यर्दन पारि गई तिमीहरूले अधिकार गर्न लागेको देशमा तिमीहरूले पालन गरून् भनी परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सिकाउन भनी मलाई दिनुभएका आदेश र विधिविधानहरू यिनै हुन् । तिमीहरूको आयु लामो होस् भनेर तिमीहरू, तिमीहरूका छोराछोरीहरू, तिमीहरूका नातिनातिनाहरूले जीवनभरि परमप्रभु तिमीहरूका परमेश्‍वरको आदर गर्नू र उहाँका सबै विधान र आज्ञा मान्‍नू । त्यसकारण, हे इस्राएल हो, तिनलाई सुन र पालन गर ताकि परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएको दूध र मह बग्‍ने देशमा तिमीहरूको भलो होस् र तिमीहरू गुणात्मक रूपमा वृद्धि हुन सक । हे इस्राएल हो, सुनः पमरप्रभु हाम्रा परमेश्‍वर एउटै हुनुहुन्छ । तिमीहरूले पमरप्रभु तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा ह्रदय, सारा प्राण र सारा शक्तिले प्रेम गर्नू । आज मैले तिमीहरूलाई आज्ञा गरेका यी वचनहरू तिमीहरूका हृदयमा राख । अनि तिमीहरूले आफ्ना छोराछोरीहरूलाई ती मेहनतसाथ सिकाउनू । तिमीहरू आफ्ना घरमा बस्दा, बाटोमा हिँड्दा, सुत्दा र उठ्दा तिमीहरूले तिनकै चर्चा गर्नू । तिमीहरूले चिन्हको रूपमा तिनलाई हातमा बाँध्‍नू र तिमीहरूका आँखाका बिचमा तिनले पट्टको काम गरून् । तिमीहरूले तिमीहरूका घरका चौकोस र ढोकाहरूमा ती लेख्‍नू । 10 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका पिता-पुर्खाहरू अर्थात् अब्राहाम, इसहाक र याकूबसित तिमीहरूलाई दिन्छु भनी शपथ खानुभएको तिमीहरूले नबनाएका अनि ठुला 11 र ज्यादै राम्रा-राम्रा सहरहरू भएको देशमा ल्याउनुहुँदा जहाँ तिमीहरूले नबनाएका सबै किसिमका असल थोकहरूले घरहरू भरिपूर्ण हुने छन्, तिमीहरूले नखनेका इनारहरू हुने छन् र तिमीहरूले नरोपेका दाखबारी र जैतूनका रुखहरू हुने छन्, ती तिमीहरूले खाने छौ र तृप्‍त हुने छौ, 12 तब तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको देशबाट ल्याउनुहुने परमप्रभुलाई नबिर्सन होसियार होओ । 13 परमप्रभु तिमीहरूका परमेश्‍वरको आदर गर्नू; उहाँको मात्र आराधना गर्नू र उहाँको नाउँमा शपथ खानू । 14 तिमीहरूका वरिपरि भएका जाति-जातिहरूका देवी-देवताहरूको पछि नलाग्‍नू, 15 किनकि तिमीहरूका बिचमा रहनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वर डाही परमेश्‍वर हुनुहुन्छ । तिमीहरूले त्यसो गर्‍यौ भने परमप्रभु तिमीहरूका परमेश्‍वरको क्रोध तिमीहरूका विरुद्धमा दन्कने छ र उहाँले तिमीहरूलाई पृथ्वीको धूलोबाट नष्‍ट पार्नुहुने छ । 16 मस्साहमा परीक्षा गरेझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरको परीक्षा नगर्नू । 17 तिमीहरूलाई आज्ञा गर्नुभएका परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू, उहाँका गम्भीर आदेशहरू र उहाँका विधिहरू दत्तचित्तसाथ पालन गर्नू । 18 तिमीहरूले परमप्रभुको दृष्‍टिमा जे ठिक र असल छ, त्यही गर्नू ताकि तिमीहरूको भलो होस् र परमप्रभुले तिमीहरूका पुर्खाहरूसित शपथ खानुभएको देशमा गएर यसको अधिकार गर्न सक, 19 अनि परमप्रभुले भन्‍नुभएझैँ तिमीहरूले तिमीहरूका सबै शत्रुहरूलाई धपाउन सक । 20 भावी दिनमा तिम्रो छोराले, 'परमप्रभु हाम्रा परमेश्‍वरले तपाईंलाई दिनुभएका करारका आदेशहरू, विधिविधानहरू के-के हुन् ?' भनी सोध्दा 21 तिमीले आफ्नो छोरोलाई भन्‍नू, 'हामी मिश्रमा फारोका कमाराहरू थियौँ । परमप्रभुले हामीलाई शक्तिशाली हातद्वारा मिश्रबाट ल्याउनुभयो, 22 र उहाँले हाम्रा आँखाकै सामु मिश्रमा फारो र तिनका सबै घरानामाथि महान् र डरलाग्दा चिन्हसाथै आश्‍चर्यहरू देखाउनुभयो । 23 उहाँले हामीलाई त्यहाँबाट बाहिर ल्याउनुभयो ताकि हाम्रा पुर्खाहरूसित शपथ खानुभएको देशभित्र उहाँले हामीलाई ल्याउन सक्‍नुभएको होस् । 24 परमप्रभुले सधैँ यी सबै विधिविधान मान्‍न, हाम्रो भलाइको लागि परमप्रभु हाम्रा परमेश्‍वरको भय मान्‍न हामीलाई आज्ञा दिनुभएको छ ताकि आजजस्तै उहाँले हामीलाई जीवित राख्‍नुभएको होस् । 25 हामीले उहाँले हामीलाई आज्ञा गर्नुभएझैँ परमप्रभु हाम्रा परमेश्‍वरको सामु यी सबै आज्ञा मान्यौँ भने यो हाम्रो धार्मिकता हुने छ ।'