4
यतिबेला निर्वासनबाट फर्केका मानिसहरूले परमप्रभु इस्राएलका परमेश्‍वरको लागि मन्दिर बनाउँदै छन् भनी यहूदा र बेन्यामीनका केही शत्रुहरूले सुने । त्यसैले तिनीहरू यरुबाबेल र परिवारका मुख्य मानिसहरूकहाँ आए । तिनीहरूले उनीहरूलाई भने, “हामीलाई पनि तपाईंहरूसँगै निर्माण गर्न दिनुहोस्, किनकि अश्शूरका राजा एसरहदोनले हामीलाई यहाँ ल्याएदेखि नै तपाईंहरूजस्तै हामी तपाईंका परमेश्‍वरको खोजी गर्छौं, र हामीले उहाँलाई नै बलिदान चढाएका छौं ।” तर यरुबाबेल, येशूअ र परिवारका मुख्य मानिसहरूले भने, “तपाईंहरूले होइन, तर हामीले परमेश्‍वरको मन्दिर बनाउनुपर्छ, किनकि हामीले नै परमप्रभु इस्राएलका परमेश्‍वरको निम्ति मन्दिर बनाउनेछौं, जस्‍तो फारसका राजा कोरेसले आज्ञा गर्नुभएको छ ।” त्यसैले त्यस देशका मानिसहरूले यहूदीहरूका हात कमजोर तुल्याए । तिनीहरूले निर्माणमा यहूदीहरूलाई डर देखाए । यहूदीहरूका योजनालाई निराश तुल्याउन तिनीहरूले सल्लाहकारहरूलाई घुस पनि दिए । तिनीहरूले फारसका राजा कोरेसको शासनकाल र दाराको शासनकालभरि नै यसो गरे । तब अहासूरस (अर्तासास्त) को शासनकालको सुरुमा तिनीहरूले यहूदा र यरूशलेमका बासिन्दाहरूको विरुद्धमा एउटा अभियोग-पत्र लेखे । अर्तासास्तको शासनकालमा विश्‍लाम, मित्रेता, ताबेल र तिनका सहयोगीहरूले अर्तासास्तलाई लेखे ।उक्‍त चिट्ठी आरमेइक भाषामा लेखियो र अनुवाद गरियो । सेनापति रेहूम र सचिव शिम्शैले यरूशलेमको बारेमा अर्तासास्तलाई यसरी चिट्ठी लेखे । रेहूम, शिम्शै र तिनीहरूका सहयोगीहरू अर्थात् फारस, एरेक र बेबिलोनका मानिसहरूमाथि अधिकार गर्ने न्यायाधीशहरू र अधिकारीहरू अनि शूशनका मानिसहरू (अर्थात् एलामीहरू) ले एउटा चिट्ठी लेखे, 10 र महान् अनि प्रसिद्ध अशूरवनिपलले देश निकाला गरेर सामरिया र यूफ्रेटिस नदीपारिको प्रान्तमा बसालेका मानिसहरू पनि तिनीहरूसँगै मिले । 11 तिनीहरूले अर्तासास्तलाई पठाएका चिट्ठीको प्रतिलिपी यही हो, “हजुरका सेवकहरू, यूफ्रेटिस नदी पारिको प्रान्तका मानिसहरू यसो लेख्छन्: 12 हजुरकहाँबाट आएका यहूदीहरू यरूशलेममा एउटा विद्रोही सहर निर्माण गर्न हाम्रो विरुद्ध आएका छन् भन्‍ने कुरो राजालाई जाहेर होस् । तिनीहरूले पर्खालहरू बनाएर सिद्ध्याएका छन्, र जगहरू मर्मत गर्दैछन् । 13 यो सहर निर्मण भयो रउक्‍त पर्खाल सम्पन्‍न भयो भने, तिनीहरूले कुनै महसुल र कर तिर्नेछैनन्, तर तिनीहरूले राजाहरूलाई हानि पुर्‍याउनेछन् भन्‍ने कुरो राजाका हजुरीमा जाहेर होस् । 14 हामीले दरबारको नून खाएका हुनाले राजालाई कुनै अनादर भएको देख्‍नु हाम्रो लागि निश्‍चय नै उचित हुँदैन । यही कारणले गर्दा हामीले राजालाई जानकारी गराउँदैछौं, 15 जसले गर्दा हजुरले आफ्ना पिताको अभिलेख खोज्‍न र राजाहरूसाथै प्रान्तहरूलाई हानि गर्ने यो एउटा विद्रोही सहर रहेछ भनी पुष्‍टि गर्न सक्‍नुहुन्‍छ । यसले राजाहरू र प्रान्तहरूलाई धेरै समस्या दिएको छ । पहिले देखि नै यो विद्रोहको केन्द्र बनेको छ । यही कारणले गर्दा यो सहर नष्‍ट पारिएको थियो । 16 यो सहर र पर्खाल निर्माण गरियो भने हजुरको लागि यूफ्रेटिस नदीपारिको प्रान्तमा केही बाँकी रहने छैन भनी हामी राजालाई जानकारी गराउँदैछौं ।” 17 त्यसैले राजाले सामरियामा बस्‍ने रेहूम, शिम्शै र तिनीहरूका सहयोगीहरू अनि यूफ्रेटिस नदीपारिको प्रान्तमा बस्‍ने बाँकी सबैलाई एउटा जवाफ पठाए, “तिमीहरूलाई शान्ति होस् । 18 तिमीहरूले पठाएका चिट्ठी अनुवाद गरियो र मेरो सामु पढियो । 19 त्यसैले मैले छानविन गर्न आदेश दिएँ, रपहिलौक दिनहरूमा तिनीहरू राजाहरूका विरुद्धमा बागी भएका र विद्रोह गरेका रहेछन् भनी पत्ता लगाइयो । 20 शक्तिशाली राजाहरूले यरूशलेममा राज्‍य गरेका रहेछन्, र यूफ्रेटिस नदीपारिको प्रान्तका हरेक कुरामा अधिकार जमाएका रहेछन् । तिनीहरूलाई करहरू र महसुलहरू तिरिएका रहेछन् । 21 अब मैले आज्ञा नदिएसम्म यी मानिहरूले यो सहर निर्माण गर्न रोक्‍नुपर्छ भनी एउटा आज्ञा जारी गर्नू । 22 यसलाई बेवास्ता नगर्न होसियार हुनु । यस खतरालाई बढ्न दिने र राजकीय हितको बढी क्षति हुन किन दिने ? 23 जब राजा अर्तासास्तको आदेश रेहूम, शिम्शै र तिनीहरूका सहयोगीहरूका सामु पढियो, तिनीहरू तुरुन्‍तै यरूशलेममा गए, र यहूदीहरूलाई जबरदस्तसाथ निर्माण रोक्‍न लगाए । 24 यसरी फारसका राजा दाराको शासनकालको दोस्रो वर्षसम्म यरूशलेममा परमेश्‍वरको मन्दिरको काम रोकियो ।